एउटा इञ्जिनियरको नेतृत्वमा बदलिएको काजिमान हरिटीका माध्यमिक विद्यालय

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 13 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको सदरमुकामबाट नजिकै पर्ने सुन्दर प्राकृतिक स्थलमा रहेको काजिमान हरिटीका माध्यमिक विद्यालय लामो समयदेखि एउटा सङ्कटको अवस्थाबाट गुज्रिरहेको थियो । विद्यालयमा विद्यार्थी सङ्ख्या घटेर दुई डिजिटमा पुगेको थियो । यो अवस्थाबाट विद्यालयले मुक्ति खोजिरहेको थियो । समुदायले पनि नयाँपन चाहिरहेको थियो ।

यसै सन्दर्भमा समय र परिवेश तथा संयोगका कारण विद्यालयको नेतृत्व परिवर्तन भयो । नयाँ व्यवस्थापन समिति गठन भयो । व्यवस्थापन समितिको नेतृत्व अभिभावक तथा समुदायको चाहना अनुरुप युवा इन्जिनियर अनुप श्रेष्ठले प्राप्त गर्नुभयो । कोभिडको बेलामा जिल्लाभर निशुल्क एम्बुलेन्स सञ्चालन गरेर थुप्रै बिरामीको उद्दार गरेको तथा थुप्रै बिरामीको जीवन रक्षा गरेका कारण इन्जिनियर श्रेष्ठ सामाजिक अभियन्ताका रुपमा चर्चामा हुनुहुन्थ्यो ।

आज श्रेष्ठ नेतृत्वको समितिले ६ महिनाको अवधि पुरा गरेको छ । यस अवधिमा भएका उल्लेखनीय कामहरुले अन्य सामुदायिक विद्यालयलाई पनि उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ यो आलेख तयार पारिएको छ ।

शिक्षक कक्षाकोठा (टिचर्स रुम) पद्धति

यतिबेला यस विद्यालयको शैक्षिक पद्धति र परम्परामा कायापलट भएको छ । विद्यालयमा शिक्षक कक्षाकोठा (टिचर्स रुम) पद्धतिबाट पढाउने अभ्यास भइरहेको छ । यसलाई विश्वभरि नै वैज्ञानिक पद्धति मानिँदो रहेछ । यसलाई खासगरी युरोपेली मुलुकमा तथा अमेरिकी मोडेलमा आधारित विधिका रुपमा प्रयोग गरिँदो रहेछ ।
अहिले यही शिक्षक कक्षाकोठा विधिका आधारमा पढाइ भइरहँदा हरेक शिक्षकका विषयगत हिसाबले आआफ्ना कक्षाकोठा छन् । ती कक्षाकोठा बाहिर सम्बन्धित शिक्षकको नाम प्लेट राखेर व्यवस्थित बनाइएको छ । अहिले शिक्षक विद्यार्थीका कक्षाकोठामा जानुहुन्न तर विद्यार्थी शिक्षकको कक्षाकोठामा आउँछन् । प्रत्येक शिक्षकको विषयगत लाइब्रेरी छ, बुक कर्नर छ, टेबुल छ दराज छ, बाहिर नै किताबहरु व्यवस्थित बनाएर पनि राखिएको छ ।

शिक्षकको कक्षा खालि हुँदा पनि उहाँहरु बाहिर जानुहुन्न, बरु कक्षामै पढ्ने सामग्री राखिएको हुनाले पढेर बस्नुहुन्छ वा कक्षाको तयारी गर्नुहुन्छ वा होमर्वक चेक गरेर बस्नुहुन्छ । कक्षा ८ कि विद्यार्थी खुसी पौडेल भन्छिन्– ‘अहिले हामी खुसी छौ । हामी एउटा पिरियडपछि एउटै कक्षामा बस्दैनौं, सरहरुको कक्षामा पिरियड अनुसार जान्छौं । यसबाट हामी पहिलेभन्दा रिफ्रेस भएका छौं ।’

कक्षाकोठाहरुमा पहिले त्यस्तो खास केही थिएन । तर अहिले पुरै कक्षाकोठा सजाइएको छ । विद्यार्थीको सिकाइसँग जोडिएका सामग्रीहरुले कक्षा रङ्गीचङ्गी बनाइएको छ । वास्तवमा यस पद्धतिका थुप्रै सकारात्मक ‘इन्डिकेटर्सहरु’ देखिएका छन् । अहिले विद्यार्थी खुसी छन् ।

शुक्रबारे क्रियाकलाप र अतिथि संस्कारको अभ्यास

यस विद्यालयमा प्रत्येक शुक्रबार आयोजना गरिने विभिन्न अतिरिक्त क्रियाकलापहरु हुन्छन् । तर ती अतिरिक्त क्रियाकलाप अन्य विद्यालयका भन्दा फरक छन् । यस विद्यालयमा अतिरिक्त क्रियाकलापको परम्परावादी मोडेललाई परिवर्तन गरी सिर्जनात्मक ढङ्गले अभ्यास गरिएको छ । परीक्षा र सार्वजनिक विदाबाहेक प्रत्येक शुक्रबार शैक्षिक क्यालेन्डर अनुसार शुक्रबार कार्यक्रम आयोजना गरिन्छ ।
शुक्रबार आयोजना गरिने यस्ता अन्तर सदनात्मक कार्यक्रमको नतिजा तत्कालै निकाल्ने व्यवस्था मिलाइएको छ र नतिजापछि तत्काल पुरस्कार दिइन्छ । पुरस्कार दिनका लागि समाजका शैक्षिक तथा विभिन्न स्तरमा भूमिका खेलेका महत्वपूर्ण व्यक्तिहरुलाई अतिथिका रुपमा बोलाइन्छ । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अतिथिको हातबाट तत्काल पुरस्कार दिइन्छ । विद्यार्थीले तत्काल ‘फिडब्याक’ पाउने हुनाले विद्यार्थी उत्साहित भएर प्रतियोगितामा भाग लिन थालेका छन् । कार्यक्रम चलाउन थालेपछि नेतृत्वमा विद्यार्थी प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।
अहिले यहाँ कुनै पनि कार्यक्रम ठुलादेखि सानासम्म विद्यार्थी आफैले चलाउँछन् । यस क्रममा विद्यालयमा ६ महिनाको अवधिमा पूर्व उपप्रधानमन्त्री, सङ्घीय सांसद, प्रदेश सांसद, मेयर, निवर्तमान मेयर, शिक्षाका विज्ञ, विभिन्न सामाजिक व्यक्तित्व तथा शैक्षिक व्यक्तित्वहरु प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभयो । ती कार्यक्रमहरु विद्यार्थीहरुले नै सञ्चालन गरे ।
कार्यक्रमको सभापति विद्यार्थी, सञ्चालक विद्यार्थी, स्वागत मन्तव्य विद्यार्थी, धन्यवाद मन्तव्य पनि विद्यार्थीले नै गरेको देखेपछि प्रमुख अतिथि हुन कार्यक्रममा उपस्थित हुनुभएका अतिथिहरुले विद्यार्थीहरुको क्षमताको प्रशंसा गरिरहनुभएको छ । विद्यार्थीहरुले आवश्यकता अनुसार अतिथि र अभिवावकको प्रकृति हेरेर अङ्ग्रेजी वा नेपाली दुवै भाषामा कार्यक्रम चलाउँदै आएका छन् ।

प्रतिभा प्रस्फुटन : दैनिक एक पिरियड

विद्यालयले प्रत्येक दिन एउटा अतिरिक्त कक्षा प्रतिभा प्रस्फुटनका लागि राखेको छ । विद्यार्थीको रुचि अनुसारका विभिन्न समूहहरु बनाइएको छ । रुचि, कक्षा र उमेर अनुसारका समूहलाई पढाउने सङ्गीत शिक्षक, खेल शिक्षक, मोटिभेसनल शिक्षक, योगा शिक्षक लगायतका शिक्षकको व्यवस्था गरिएको छ । दैनिक एकपटक यी विभिन्न विधाहरुमध्ये एउटा विधामा विद्यार्थीले पूर्व निश्चित तालिका अनुसार प्रतिभा प्रस्फुटन गर्न पाउँछ । सङ्गीत कक्षामा अहिले विद्यार्थी रमाएका छन् । सङ्गीतमा उनीहरुको रुचि अनुसार गाउने र नाच्न पाएका छन् । नाच्न डराउने विद्यार्थीहरु पनि अहिले लाजधक नमानी नाच्न गाउन थालेका छन् । परम्परागत लोकभाकाहरुमा तथा सालैज्यू र झ्याउरे भाकामा विद्यार्थीहरु रमाउन थालेका छन् ।

अङ्ग्रेजी बोलचाल : हो, भाषा ठूलो कुरा होइन, यो केवल माध्यम मात्र हो । भाषा सञ्चारको माध्यम भएकाले प्रत्येक मान्छेले आफ्नो भाषामा कुरा बुझ्न र कुरा बुझाउन सक्छ । तर यति भन्दाभन्दै पनि नेपालमा पछिल्लो समय निजीकरणको अभ्यास बढ्दै जाँदा संस्थागत तथा निजी विद्यालयहरुले अङ्ग्रेजी भाषालाई जोड दिन थालेको पाइन्छ । सामुदायिक विद्यालय पनि यसको चापबाट अङ्ग्रेजी माध्यमलाई जोड दिन बाध्य भएको यथार्थलाई नकार्न सकिँदैन ।
वास्तवमा यस विद्यालयमा अङ्ग्रेजी बोलचालको अभ्यास सकारात्मक तरिकाले अगाडि बढेको छ । यसका लागि विद्यालयले शिक्षकहरुलाई भाषाविज्ञहरु बोलाएर तालिम दियो । यसपछि शिक्षकहरुको प्रयत्नका कारण अहिले सबै कक्षामा सम्भव भएसम्मको अङ्ग्रेजी बोलचालको अभ्यास सुरु गरिएको छ । अहिले विद्यार्थीले कक्षामा अङ्ग्रेजीमा बोल्न थालेका छन् ।

सिकाइमा मन्टेस्वरीदेखि सुधार

विद्यालयले सबैभन्दा प्राथमिकता नर्सरी कक्षादेखि ३ सम्मलाई दिएको छ । तल्ला कक्षाहरुलाई अझ व्यवस्थित बनाउने प्रयास जारी छ । मन्टेस्वरी तथा इसिडी शिक्षकहरुलाई आधुनिक तालिम दिइएपछि कक्षा सिकाइमा ठुलो परिवर्तन आएको छ । अहिले ३ जना शिक्षक बाहिरबाट यिनै कक्षाहरुको सिकाइ राम्रो बनाउन ल्याइएको छ । मन्टेस्वरी तथा केजी कक्षामा विद्यार्थी पोहोर सालभन्दा थपिएका छन् ।

विद्यालयले प्रदेशको बजेट तथा पुतलीबजार नगरपालिकाको सहयोग र आफ्नै श्रोतबाट यतिबेला बसको व्यवस्था गरेको छ । बस जाने आउने बाटोको समस्या समाधान गर्न बजेटको व्यवस्था भइसकेको छ । टाढा गाउँबाट विद्यार्थीहरु बसमा आउने जाने समस्या समाधान भएको छ ।

विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्माको मिहिनेत, शिक्षकको टिमवर्क तथा अभिभावक सङ्घ र समुदायको खबरदारीले विद्यालयमा छोटो समयमा नै थुप्रै परिवर्तन भएका छन् । विद्यालयमा छोटो समयमा यति उपलब्धि हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ । तर विद्यालय अझै पनि चुनौतीको मझधारमा नै छ । विद्यालयको आर्थिक अवस्था अझै राम्रो बनाउने चुनौती मुख्य छ । यहाँका अपूरा भौतिक निर्माणका कार्यहरुलाई पूरा गर्दै गुणस्तरीय शिक्षा दिने काममा विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक, समुदाय, नगरपालिका, अभिभावक, राजनैतिक दल सबैको दृढ प्रतिज्ञा व्यावहारिक रुपमै देखिनु जरुरी छ । सामुदायिक विद्यालय पनि बदल्न सकिन्छ भन्ने राम्रो उदाहरण प्रस्तुत गर्ने बाटोमा विद्यालय अगाडि बढेको छ । यो बाटोमा अगाडि आउने काँडेघारी फाँड्दै उद्देश्यमा पुग्ने विश्वास बलियो बन्दै गएको छ ।
(उहाँ यस काजिमान हरिटीका माध्यमिक विद्यालय स्याङजाका सूचना अधिकारी हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?