मलेसियाले खोलेन विदेशी श्रमिकको ‘एप्रुभल’

मारमा नेपाली कामदार, म्यानपावरले ल्याएको दुई लाख डिमाण्ड गुम्दै

हिमालय टाइम्स
Read Time = 13 mins

रमेश भारती/हिटा
काठमाडौं । मलेसिया सरकारले सात महिनायता विदेशी कामदार भिœयाउन रोक लगाएको छ । मलेसियाको कानुनअनुसार विदेशी श्रमिक भित्र्याउँदै प्रक्रिया पूरा नभएको भन्दै रोक लगाइएको छ । मलेसियाले नेपालसँगै बंगलादेशका कामदारलाई समेत रोजगारीमा लिन रोक लगाएको थियो । तर, गत महिनादेखि बंगाली कामदारका हकमा भने खुलाएको छ । मलेसियाले नौ लाख ९५ हजार ३९६ विदेशी कामदारको एप्रुभल दिएपछि गत मार्च १८ बाट नयाँ विदेशी कामदारको प्रमाणीकरण रोकेको छ । जसमा दुई लाखभन्दा धेरै नेपालका म्यानपावर कम्पनीहरूको डिमाण्ड रोकिएको रोजगार व्यवसायीहरूले बताइरहेका छन् ।

मलेसियामा विदेशी कामदारको विषयलाई गृह मन्त्रालयले निर्णय गर्ने गरेको र गृह मन्त्रालयले हालसम्म रिक्यालिब्रेसन कार्यक्रममार्फत ६ लाख ८० हजार विदेशी कामदार दर्ता गरेको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले १० वर्षका लागि एक करोड ३० लाख कामदारका लागि कोटा स्वीकृत गरेको बताउँदै आए पनि त्यसको ठिकविपरीत विदेशी कामदारको एप्रुभल रोकेको आरोप मलेसियाका रोजगारदाता कम्पनीहरूले लगाउँदै आएका छन् । गत बिहीबार गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले करिब १८ लाख अनुमतिपत्र स्वीकृत भइसकेकाले तत्कालै नयाँ विदेशी कामदारलाई प्रवेश दिने सरकारको कुनै योजना नभएको मलेसियन अनलाइन दी स्टारसँग बताउनुभएको थियो । तर, उहाँले विदेशी कामदारका विषयमा प्रष्ट बोल्नुभएको छैन । मलेसियन उत्पादक महासंघ (एफएमएम)ले सबै नयाँ विदेशी कामदारको स्वीकृतिमा लगाएको प्रतिबन्ध तत्कालै फुकुवा गर्न सरकारसँग माग गरेको छ ।

महासंघले विदेशी कामदारको एप्रुभल रोक्ने सरकारी निर्णयले मलेसियाको उत्पादकता र कुल गार्हस्थ्य उत्पादन (जिडिपी)लाई असर गर्ने बताउँदै निर्णय तत्कालै परिवर्तन गर्न माग गरेका छन् । महासंघ अध्यक्ष सो थियान लाइले आमरूपमा विदेशी कामदारको एप्रुभल रोक्ने निर्णयले विदेशी कामदारहरूको पेण्डिङ कोटा स्वीकृतिमा कामदार आउन बाँकी नभएका कम्पनीहरू र नयाँ स्थापना भएका कम्पनीलाई प्रतिकूल असर परेको बताउनुभएको थियो ।

अध्यक्ष सोह थियानले मूल्यको चाप र कडा वित्तीय अवस्था जस्ता विभिन्न कारणले गर्दा विश्वव्यापी व्यापारसँग प्रतिस्पर्धा झेल्नुपरेको र परिणामस्वरूप स्वीकृत विदेशी कामदार कोटा भएका केही उद्योगहरूले यस वर्षका लागि आफ्नो रणनीति परिमार्जन गर्नुपरेको माग गर्नुभएको छ । रोजगारदातालाई मात्रै विदेशी कामदार ल्याउने अनुमति दिनुपर्ने माग मलेसियामा उठेको छ । कुनै व्यक्तिलाई विदेशी कामदार ल्याउने अधिकार दियो भन्ने त्यसको असर रोजगारी क्षेत्रमा पर्ने उद्योगको बुझाइ छ ।

५५ प्रतिशत घटे
गत कात्तिकमा २५ हजार ३४० नेपाली कामदार गएको मलेसियामा वैशाख महिनामा ११ हजार ३१० जना मात्र संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत गएका छन् । कात्तिकको तुलनामा वैशाख महिनामा रोजगारीका लागि मलेसिया जानेक्रम ५५ प्रतिशतभन्दा बढीले घटेको छ । वैदेशिक रोजगार विभागले जेठ महिनामा मलेसिया गएका कामदारको विवरण सार्वजनिक गरिसकेको छैन । मलेसियामा मासिक ३० हजारभन्दा कामदार जाने गरेका छन् ।

गत वैशाख महिनायता मासिक पाँच हजार कामदार पठाउन समस्या भइरहेको म्यानपावर व्यवसायी लक्ष्मण पौडेलले जानकारी दिनुभयो । मलेसियाले विदेशी कामदार लिन रोक्दा नेपालका म्यानपावरको ठूलो संख्यामा रोजगारी गुम्ने उहाँले बताउनुभयो । ‘मलेसियाले सन् २०२३ बाट नेपालबाट लिने श्रमिकका लागि त्यहाँका रोजगारदातालाई दिँदै आएको कोटा बन्द गरेको छ । मलेसियाले एप्रुभल रोकिराखे केही महिनापछि त्यहाँ जाने नेपालीको संख्या शून्य हुनेछ ।’ उहाँले भन्नुभयो, ‘मलेसिया सरकारले त्यहाँका रोजगारदातालाई विदेशी श्रमिक माग गर्न दिएको कोटा रोकेका कारण विगत ६ महिनादेखि त्यहाँ जाने विदेशी श्रमिकको संख्यामा कमी आएको छ । सरकारले पहल नगरे अझै घटेर जाने देखिन्छ ।’ मलेसियाले सेवा, वृक्षरोपण, सुरक्षा गार्ड लगायतका क्षेत्रमा आवश्यक पर्ने कोटाको प्रमाणीकरण खुला नगरेका कारण नेपालबाट त्यहाँ जान श्रमस्वीकृति लिने युवाको संख्या घटेको उहाँको भनाइ छ ।

नेपालबाट आर्थिक वर्ष २०७५/०७६ मा ४२ हजार १४६, २०७६/०७७ मा ५९ हजार ७१४, २०७७/०७९ मा एक हजार ३५ र गत वर्ष ३६ हजार ६४४ युवा मलेसिया गएका छन् । नेपाल र मलेसिया सरकारबीच चार वर्षअघि श्रमसम्झौता भए पनि दुई वर्षसम्म नेपाली कामदार मलेसिया जाने प्रक्रिया सुरु भएको थिएन । चालु आवको वैशाखसम्म मलेसिया जाने नेपालीको संख्या एक लाख ९८ हजार रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । मलेसियाको मानव संशाधन मन्त्रालयले स्वदेशी तथा विदेशी श्रमिकको तलब सन् २०२१ बाट एक हजार एक सय रिंगेटबाट बढाएर एक हजार दुई सय रिंगेट बनाएको थियो । हाल मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक एक हजार पाँच सय रिंगेट अर्थात् लगभग ४२ हजार रुपैयाँ रहेका कारण पछिल्लो समय नेपाली युवाको आकर्षण मलेसियामा बढ्दै गएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया जानेक्रम गत कात्तिकदेखि घट्न थालेको छ । मलेसियामा विदेशी कामदार भर्ना प्रकरणको अलमलको असर उक्त मुलुक जाने नेपाली कामदार र रेमिट्यान्समा आधारित नेपाली अर्थतन्त्रमा समेत परेको म्यानपावर कम्पनीहरूको दाबी छ ।

सय बढी कामदार पठाउने म्यानपावरको सूची सार्वजनिक, धेरै पठाउनेमा ‘द रिभर’
वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म रोजगारीका लागि विदेश कामदार पठाउने म्यानपावर कम्पनीको विवरण सार्वजनिक गरेकोे हो । वैदेशिक रोजगार विभागले हालसम्म सय जनाभन्दा बढी कामदार पठाएका म्यानपावर कम्पनीको नाम सार्वजनिक गरेकोे हो । चालु आर्थिक वर्षमा करिब सात लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको विभागका अनुमान छ ।
पाँच हजार १२ जना कामदार पठाएको द रिभर ओभरसिज प्रालि सूचीको पहिलो नम्बरमा रहेको विभागले जनाएको छ । द रिभरले खाडी देशमा फ्री भिसा र फ्री टिकटमै कामदार वैदेशिक रोजगारीमा पठाउँदै आएको छ । रिभरले गत आर्थिक वर्षमा पनि सोही हाराहारीमा कामदार रोजगारीका लागि विभिन्न देश पठाएको विभागको तथ्यांकमा छ ।
दोस्रोमा रहेकोे इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले पाँच हजार दुईजना, तेस्रो स्थानमा रहेकोे वाइडस्पेश इन्टरनेसनल प्रालिले तीन हजार ९२० जना पठाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार सूचीको चौथोमा रहेकोे निलकमल ह्युमन रिसोर्सेज प्रालिले तीन हजार ६४१ जना, पाँचौँमा रहेकोे एक्सेस पार्टनर्स प्रालिले तीन हजार ४२८ जना, छैटौँमा रहेको मोन्टेज ओभरसिज प्रालिले तीन हजार ३९८ जना पठाएको छ । सूचीको सातौँ नम्बरमा रहेकोे मेरिडियन ओभरसिज प्रालिले तीन हजार ३३९ जना, आठौँ नम्बरको एसओएस ओभरसिज प्रालिले तीन हजार २९६ जना, नवौँ नम्बरको मास ह्युमन रिसोर्स प्रालिले तीन हजार ११५ जना, दशौँ स्थानमा रहेकोे फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालिले दुई हजार ८८६ जना पठाएको छ ।

यस्तै, एघारौँ स्थानमा रहेको ओमेगा इन्टरनेसनल प्रालिले दुई हजार ६५४ जना, बाह्रौँ नम्बरको साउण्ड लाइन्स रिक्रुटमेन्ट प्रालिले दुई हजार ५९७, तेह्रौँ नम्बरको लक्की एचआर सोलुसन प्रालिले दुई हजार ५१७ जना, चौधौँ नम्बरको बिएस ओभरसिज प्रालिले दुई हजार ३७६ जना, पन्ध्रौँ नम्बरमा रहेको मुस्कान ओभरसिज प्रालिले दुई हजार ३३२ जना पठाएको छ । सूचीको सोह्रौँ नम्बरमा रहेको पाल्ही ओभरसिज प्रालिले दुई हजार २५६ जना, सत्रौँ नम्बरको दित्या इन्टरनेसनल प्रालिले दुई हजार २२३ जना, अठारौँ नम्बरको ट्रष्ट नेपाल ओभरसिज प्रालिले दुई हजार २०८ जना, उन्नाइसौँ नम्बरको एयर किंग्स प्लेसमेन्ट प्रालिले दुई हजार २०३ र बिसौँ नम्बरमा रहेका काबेली ह्युमन रिसोर्स प्रालि र मिनवा रिक्रुटमेन्ट एचआर प्रालिले समान दुई हजार १२३ जना पठाएका छन् । एक्काइसौँ नम्बरको लिंक इन्टरनेसनल प्लेसमेन्ट प्रालिले दुई हजार ८० जना, बाइसौँ नम्बरमा रहेकोे लाइफ इन्टरनेसनल ओभरसिज प्रालिले दुई हजार ५३ जना, तेइसौँ नम्बरको प्याराडाइज इन्टरनेसनल प्रालिले एक हजार ९८२ जना, चौबिसौँ नम्बरको देवान कन्सल्ट्यान्स प्रालिले एक हजार ९७० जना र पच्चीसौँ नम्बरमा रहेको स्विफ्ट एचआर सोलुसन प्रालिले एक हजार ९३६ जना पठाएका छन् ।

विभागले यसअघि असार मसान्तसम्मको विवरण साउनको पहिलो हप्ता सार्वजनिक गर्ने गरेकोेमा यसपटक आर्थिक वर्ष समाप्त हुन करिब दुई हप्ताको समय बाँकी रहँदै हालसम्मको विवरण सार्वजनिक गरेकोे हो । म्यानपावर कम्पनी नवीकरण प्रयोजनका लागि उक्त सूची सार्वजनिक गरिएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?