युयुत्सु बन्ने कि विकर्ण ?

Read Time = 15 mins

✍️ मणि शर्मा

हालसालै एउटा तमिल फिल्म हेरेँ ‘वीरता पर्वम’, एउटी केटीको असफल प्रेमकथा । फिल्मको सुरुवात नक्सलाइट लडाकु र प्रहरीबीचको दोहोरो भिडन्तबाट सुरु हुन्छ । त्यहीँ सुत्केरीले छट्पटाइरहेकी एउटी महिला र उनको परिवार हुन्छन् । नक्सलाइट योद्धामध्ये एकजना लेडी डक्टर पनि हुन्छिन् । उनले त्यहाँ गएर सुत्केरी गराउँछिन् र छोरी जन्मिन्छे । नानीको बाले छोरीको नाम राखिदिन अनुरोध गरेपछि उनले आकाशमा उदाएको पूर्णचन्द्रलाई हेर्दै उनको नाम राख्छिन् बेनेला । नाम राखेपछि प्रहरीको गोली लागेर उनको मृत्यु हुन्छ ।

राज्य र गाउँका जिमिन्दारहरूको दमन र शोषणले आजित भएका जनताले माओवादीहरूलाई साथ दिन्छन् । बेनेला ठूली भएपछि माओवादी कमाण्डर ‘रावण’ राणा दुगलपटिले लेखेका क्रान्तिकारी कविताहरूको पुस्तक पढेर उनको प्रेममा पर्छिन् । जबकि उनले रावणलाई देखेकी हुन्नन् । उनको अन्तै विवाहको कुरा छिन्न लाग्दा उनले त्यसलाई अस्वीकार गर्दै रावणको खोजीमा हिँड्छिन् ।

यो फिल्म हेर्दा हिजोको दश वर्षे सशस्त्र युद्धकालको सम्झना हुन्छ । सुरक्षाकर्मीहरूको बर्बर दमन, विशेषगरी गरिब, आदिवासी, जनजाति, दलित र पिछडा वर्गमाथि । यी गरिब तप्काका मानिसहरूलाई नक्सलाइट सम्झिँदै प्रहरीले हत्या, हिंसा र दमन गर्छ । अर्कोतिर नक्सलाइटहरू यिनीहरूको रक्षक तथा जीवनदाता बन्छन् । नक्सलाइट पनि बेला बेलामा निर्दोष जनताको हत्या गर्छन्, ठ्याक्कै नेपालको दश वर्षे सशस्त्र विद्रोहको बेला जस्तै । यस फिल्ममा पुलिस कमिसनरको एउटा संवाद घतलाग्दो छ, यी नक्सलाइटहरूले सुरक्षाकर्मी र जनतालाई किन मार्छन् ?

किन ठूलाबडा नेताहरूलाई मार्दैनन् ? यो व्यवस्थामा देखिएको खराबीका लागि हामी होइन ती नेताहरू नै दोषी छन्, तर तिनीहरूलाई केही गर्दैनन् । ठ्याक्कै नेपालकै जस्तै । दश वर्षेकालमा कुनै ठूला नेता जो भ्रष्ट तथा देशद्रोही थिए कसैको हत्या गरेनन् माओवादीले ब तिनीहरूलाई भेट्दै वार्ता गरी रहे । फिल्ममा माओवादीहरू परिवारवादका विरोधी हुन्छन्, वर्गशत्रु र सुराकी आफ्नै भए पनि त्यसलाई सफाया गर्नुपर्छ भन्छन् । फिल्म हेर्दा मैले हाम्रा माओवादीहरूलाई सम्झेँ । फिल्मका रावण परिवारवादका विरोधी थिए, हाम्रा रावण परिवारवादमा धृतराष्ट्र बनेका छन् । फिल्म एउटा क्रान्तिकारी प्रेममा आधारित भए तापनि कतै अश्लीलता छैन ।

अन्ततः बेनेलाले रावणलाई उनकी आमाको माध्यमबाट भेट्छिन् । उनी पनि नक्सलाइटहरूलाई विश्वास दिलाएर आफू पनि नक्सलाइट बन्दै विभिन्न अपरेसनमा सामेल हुन्छिन् । यसबीच एघार जना माओवादीहरूको प्रहरीबाट हत्या हुनु, विभिन्न शंकास्पद घटनाका कारण बेनेलामाथि पार्टीको शंका हुन्छ । उनलाई जंगलमा शारीरिक यातना दिएर सत्य भन्न भन्छन् । तर, बेनेला एउटी सच्चा क्रान्तिकारी भएकीले उनी आरोप स्वीकार गर्दिनन् । यसअघि, आमाले बेनेलाको हात रावणको हातमा राखिदिएर विवाह गर्न भने तापनि प्रहरीको सुराकीको आरोपमा रावणले बेनेलाको हत्या गर्छ ।

हत्या गरिसकेपछि पार्टी हाई कमाण्डबाट बेनेलाको बारेमा गठित छानविन समितिले बेनेला पूर्णतः निर्दोष भएकी र उनी एउटा सच्चा क्रान्तिकारी कमरेड भएको पत्र आउँछ । फिल्मले माओवादी परिवारवाद मान्दैनन् र अपराधी वा अपराधको शंका लागेको व्यक्ति आफ्नो निकटम मान्छे भए पनि उसलाई बाँकी राख्दैनन् भन्ने सन्देश दिन्छ तर हाम्रा माओवादी ?

दश वर्षे कालमा जब माओवादीले जिमिन्दारहरूका घर लुट्न थाले र जब बैंक डकैती गर्न थाले तबदेखि आर्थिक रूपमा उनीहरूको पतन सुरु भयो, इमानदारीता तथा देशभक्तिको उनीहरूको नारा जनता झुक्याउने नारामा परिणत भयो । यहाँ कैयौं माओवादी लुटेका धनले खाकपतिबाट करोडपति भएका छन् । बैंकबाट लुटेका बोराका बोरा पैसा पार्टीलाई पूरै नबुझाएर आफ्ना विश्वासिला मान्छेलाई नासोको रूपमा राख्न दिएर युद्धमा गएका कैयौं माओवादीहरू उतै मरेपछि ती पैसा राख्नेहरू आज करोडौंका मालिक भएका छन् । माओवादी जुन दिनदेखि सिंहदरबार पस्यो त्यस दिनदेखि लुटको उनीहरूको संस्कार पनि सिंहदरबारमा प्रवेश गर्‍यो ।

हिजो बैंक र जिमिन्दारलाई लुट्दथे अहिले राज्यलाई नै लुट्न उनीहरूलाई सहज भयो । माओवादीले पहिलो पटक आफ्नो एकल सरकार बनाउँदा म तत्कालीन सञ्चारमन्त्रीका प्रमुख सल्लाहकार जो मेरो मित्र पनि हुन् उनलाई भेट्न सिहदरबार पसेँ । मैले साथीलाई सोधेँ, ‘साथी तपाईं सिंहदरबारको घुम्ने मेचमा बस्दा कस्तो अनुभव गरिरहनु भएको छ ?’ उनले जवाफ दिए, ‘यो सिंहदरबारलाई राणाको भूत, पञ्चेहरूको भूत र हिजोका बहुदलेहरूको भूतले घेरेको छ र हामी पनि तिनै भूतले घेरिइसकेका छौं, यहाँबाट अब उम्कन गाह्रो छ ।’ सोझो मानिसलाई कसरी भ्रष्ट बनाइन्छ एउटा उदाहरण हो यो ।

हुन त इमानदार मान्छेले कसैको गलत कुरा मान्नुपर्छ भन्ने छैन तर यहाँ नेताहरूलाई आफ्नो भविष्यको भूतले सताइरहेको हुन्छ र आफ्ना सुप्रिमोको कुरालाई नमानी धरै हुँदैन । कृष्णबहादुर महराका एकजना निकटतम मित्रले मलाई भन्नुभएको कुराले यो पुष्टि गर्छ । पुष्पकमल दाहालले उनी सञ्चारमन्त्री हुँदा पार्टीका लागि भनेर सात करोड रुपैयाँ मागेछन् । महराले आफूले कहाँबाट यति ठूलो रकम ल्याएर दिने भनेछन् । दाहालले जसरी हुन्छ मिलाएर दिनुस् भनेपछि उनले कसैको काम मिलाइदिएवापत चौध करोड लिए र सात करोड दाहाललाई दिएछन् ।

अहिले बजेटमा छेड्छाड् गरेको आरोपमा अर्थसचिव मधु मरासिनी अनिश्चित कालका लागि विदामा बसेपछि र आमविरोधका कारण जनार्दनले राजीनामा दिएका छन् । उनीमाथि छानविन गर्न आयोग पनि बनेको छ तर थाहा छ सबैले यी आयोग भन्ने कुरा तत्कालको समस्यालाई टार्न जनताको आँखामा छारो हाल्न बनाइएका हुन् । यसको रिपोर्ट पनि हात्ती आयो हात्ती आयो फुस्सा हुनेछ । मधु मरासिनी के स्वच्छ छन् ? उनले जब एउटा पूर्वसुब्बा र भारतीय नागरिक राति मन्त्रालयमा पसेर करको दरमा हेरफेर गर्दा किन सार्वजनिक रूपमा विरोध गर्न सकेनन् ? उनी इमानदार तथा देशभक्त भएको भए तत्काल पत्रकार सम्मेलन गरी सही कुराको जानकारी दिने थिए ।

अर्को कुरा के नेपालमा पहिलो पटक बजेटमा हस्तक्षेप भएर बिचौलियको स्वार्थमा बजेट संशोधन भएको हो ? एमालेको पालामा भएको थिएन ? भरतमोहन अर्थमन्त्री हुँदा उनी चौधरी ग्रुपका आर्थिक सल्लाहकार थिए । अहिलेको बजेट काण्डमा जनार्दनमात्र दोषी हुन ? देउवा र पुष्पकमल दाहालको आदेशविना उनले एक्लै के बाहिरी मान्छेलाई बजेटलाई यस्तो गर्न दिन सक्थे ? मलाई सम्झना छ, २०४८ र २०४९ तिरको कुरा हो । मेरो जागिर बैंकमा थियो । एकदिन एउटा मारबाडी जो ट्याक्टरको डिलर थियो, आएर मलाई भेटेर भन्यो, सर, हाम्रो ट्याक्टर किन बिक्री भइरहेको छैन, तपाईंहरूले केही प्रयास गर्नुस् न ।

मैले भनेको थिएँ, ट्याक्टर बेच्ने काम तपाईंहरूको हो बैंकको होइन, बैंकमा प्रक्रिया पु¥याएर किसान आए हामीले लगानी गर्ने हो । त्यसपछि उनले भने, ‘अहिले ट्याक्टरमा ब्याजदर बढी भएकाले किसानहरू ट्याक्टर लिन मान्दैनन् (त्यस बेला ट्य्राक्टरमा ब्याजदर १६ कि १७ प्रतिशत थियो), एक महिनापछि बजेट आउँदैछ, हामीले प्रधानमन्त्री गिरिजाबाबुसँग कुरा गरिसकेका छौं, उहाँले ११ प्रतिशतमा झारिदिन्छु भन्नुभएको छ, साउनदेखि ११ प्रतिशत व्याज हुनेछ । बजेट आयो, कृषि यान्त्रिकीकरणमा व्याजदर ११ प्रतिशत भयो । बजेट आउने एक महिनाअगाडि ती मारबाडीलाई कसरी थाहा भयो कि ट्याक्टरको व्याज ११ प्रतिशत हुँदैछ भनेर ? बजेट त गोप्य हुनुपर्ने होइन र ? हुन त किसानलाई यसले फाइदा भयो ।

हुन त यो दोष कुनै एकजना मन्त्री वा प्रधानमन्त्रीको होइन यो देश र समग्र व्यवस्थाको हो । त्यो सिंहासनमा जो बसे पनि गर्ने भ्रष्टाचार तथा राष्ट्रद्रोह नै हो । मैले केही सांसद र विभिन्न दलका केन्द्रीय सदस्यहरूसँग राज्यको बेथितिका बारेमा कुरा गरेँ विशेषगरी कांग्रेस र एमालेका मित्रहरूसँग, सबैको एउटै किसिमको भनाइ थियो, यो व्यवस्था नै खराब छ, यो देशलाई जोगाउन राजा नै चाहिन्छ । यी तिनै सांसदहरू हुन् जसले हिजो एमसिसी पारित गर्दा अमेरिकालाई साथ दिएका थिए । मैले भने तपाईंहरू यो कुरा किन आफ्नो पार्टीमा उठाउनु हुँदैन ?

उनीहरूको भनाइ गोलमटोल थियो । के गर्ने हामीले भनेर ठूला नेता सुन्दैनन्, भोलि हामीलाई नै पाखा लगाउने छन् । दलका दलपतिहरूको डर हो वा आफ्नो स्वार्थका डर ? महाभारतमा एउटा पात्र छन् युयुत्सु जसको अर्थ हुन्छ युद्धको इच्छा । गान्धारी गर्भवती भएपछि धृतराष्ट्रको सेवामा एकजना वैश्य दासीलाई खटाइयो । धृतराष्ट्रले ती दासीसँग सहवास गरे र उनीबाट एउटा पुत्र जन्मियो युयुत्सु । गान्धारीबाट सय पुत्र र एउटी छोरी दुशाला । युयुत्सु धर्मपरायण थिए र अन्यायको विरोधी ।

त्यसैले कौरवहरू उनको खिल्ली उडाउँथे । कुरुक्षेत्रको युद्धमा उनी धर्मको रक्षाका लागि पाण्डवतिर लागे र उनलाई आयुधहरूको बन्दोबस्तको जिम्मा दिइएको थियो । युद्ध समाप्तिपछि धृतराष्ट्रका छोराहरूमा बाँचेका अठार जनामध्ये उनी एक थिए । धृतराष्ट्रले अरू सय भाइ छोरासरह उनलाई राजकुमारकै हैसियत दिएका थिए । उनलाई सुखसुविधामा कुनै कमी थिएन । तैपनि उनले सत्य तथा धर्मको पक्षमा साथ दिए । जित सत्य तथा धर्मको भयो ।

कृष्णको मृत्यु तथा कलियुगको सुरुवात हुन लागेपछि पाण्डवहरू स्वर्ग जान लाग्दा नाति परीक्षितलाई राजा बनाई उनको अभिभावक युयुत्सुलाई बनाएका थिए । धृतराष्ट्रको मृत्यु हुँदा युयुत्सुले नै पुत्र भएको नाताले उनको सद्गति गरेका थिए । महाभारतमा अर्को एकजना पात्र छन् विकर्ण । धृतराष्ट्रको गान्धारीबाट एउटा पुत्र थिए विकर्ण । जसलाई कुरुक्षेत्रमा भीमले बध गरेका थिए, उनलाई मारेपछि भीमले पछुतो गर्दै विलाप गरेका थिए ।

यिनले द्रौपदीको चीरहरण हुँदा यसप्रति घृणा प्रकट गरेका थिए । यिनी धार्मिक स्वभावका, न्यायपरायण तथा विवेकपूर्ण थिए तर अधर्मी तथा अन्यायी आफ्ना सहोदर भ्राताहरू हुन् भनेर जान्दाजान्दै उनीहरूको साथ दिँदा यिनको बध भयो । त्यसैले अधर्म तथा अन्यायको विरोधमा चाहे मनैभित्र किन नहोस् कुनै सांसद वा मन्त्री वा नेता हुनुहुन्छ भने एकचोटि सोच्नुस् तपाईंहरू युयुत्सु बन्ने कि विकर्ण ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?