राजनीति फाँटमा ढलेको टौवा हो ?

Read Time = 17 mins

आजको फरक प्रसंगको विषयवस्तुको छनौट कसैलाई होच्याउने वा कसैको घाउमा नुनचुक छर्ने दृष्टिकोणले किमार्थ होइन । नितान्त आफूले नजानेका विषयलाई जान्न र सिक्नका लागि छलफलको वातावरण बनोस् भन्ने अभिप्राय हो । यो छलफल र विचारको विनिमयको अभ्यास हो । प्रस्तुत जिज्ञासाको उत्तर अनुमानमा भन्दा उदाहरणका साथ तथ्यमा प्राप्त हुन्छ भन्ने मेरो अपेक्षालाई विज्ञ, विशेषज्ञ र जानिफकारबाट पक्कै आत्मसात हुनेछ ।

पूर्वपत्रकार तथा वर्तमानमा भरखरै अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन-२ मा २०८० वैशाखको उपनिर्वाचनबाट निर्वाचित संघीय संसद्मा प्रतिनिधित्व गर्ने माननीय हुन् । यसअघि-२०७९ मंसिरमा भएको निर्वाचनमा उनै निर्वाचित भएका थिए तर उनी नागरिकता विवादमा मुछिएका रहेछन् । नागरिकता काण्डकै कारण सर्वोच्च अदालतको फैसलाले माननीयको पदबाट मुक्त गरिए । नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनलाई माननीय हुन अयोग्य ठहराएकाले माननीयको पद सँगसँगै उपप्रधान र गृहमन्त्रीको पदमात्रै गएन उनले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको पद पनि गयो ।

उनी त्यस बखत देशको कानुन अनुसार नेपाली नागरिक नै ठहरिएनन् । ठहरिएका भए उनको माननीय पद जादैनथ्यो । उम्मेदवारी दर्ता गर्ने व्यक्तिको नागरकिताको विषयमा सोधखोज छानविन आदिको तहकिकात गर्ने निकाय भनेको निर्वाचन आयोग हो । आयोगमा प्रमुख आयुक्तसमेत अन्य आयुक्तका अतिरिक्त कर्मचारीको तर्फबाट आयोगको काम सम्पन्न हुन्छ । तर, निर्वाचन आयोगद्वारा सम्पन्न कामको नैतिक जिम्मेवारी भने प्रमुख निर्वाचन आयुक्तले लिनुपर्छ । म यो निर्वाचन क्षेत्रको मतदाता भएकाले यस विषय मेरो प्राथमिकतामा पर्‍यो । रवि त्यही क्षेत्रबाट अत्याधिक मत ल्याएर निर्वाचन जित्ने चर्चित माननीय बने ।

उनी चितवन-२ नम्बर क्षेत्रका स्थायी बासिन्दा पनि होइनन् । न उनको पार्टीको संगठन थियो न राजनीतिको अनुभव । कांग्रेस, एमालेका उम्मेदवारलाई यसरी लतारे कि उनको विरुद्धमा अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा गर्ने कांग्रेस र एमालेका उम्मेदवारहरूले उपनिर्वाचनमा दोहोरिनसम्म हिम्मत गरेनन् ।

पहिलोपटक माननीयको निर्वाचन जितेर रवि लामिछाने एक्कासि उपप्रधानमन्त्री हुँदै गृहमन्त्रालयको जिम्मेवारी पाए । बहुदलीय शासनमा कुनै एक दलले बहुमत नपाउँदा साना पार्टीका नेताले पनि ठूलो पद पाउँछन् भन्ने उदाहरणीय हुन् रवि । मलाई लाग्छ राजनीतिमा नितान्त नयाँ र अनुभवशून्य मानिसलाई यस्तो उच्च पद बिरलैलाई प्राप्त भएको होला । उनी चितवन-२ नम्बर क्षेत्रका स्थायी बासिन्दा पनि होइनन् । न उनको पार्टीको संगठन थियो न राजनीतिको अनुभव । कांग्रेस, एमालेका उम्मेदवारलाई यसरी लतारे कि उनको विरुद्धमा अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा गर्ने कांग्रेस र एमालेका उम्मेदवारहरूले उपनिर्वाचनमा दोहोरिनसम्म हिम्मत गरेनन् । उम्मेदवार हुने कांग्रेस र एमालेलेका उम्मेदवारमा आफूले जित्ने आशासमेत नभएको स्थितिमा उम्मेदवार बने ।

उनीहरूको हार भयो भने रविको ऐतिहासिक जित । यही विषयमा सानु आलेखमा सम्भव नभए पनि मोटामोटी कारण, परिणामलाई भने समीक्षा गर्नै पर्छ । विगत लामो अवधि शासनमा रहेका कांग्रेस, एमाले र माओवादी पार्टीका नेताहरूको भ्रष्ट प्रवृत्ति, नातावाद, कृपावादको नीतिले आजित मतदाताहरूको चरम असन्तुष्टिलाई लामिछानेले एउटै वाक्यमा सम्बोधन गरे । त्यो हो यसअघि भ्रष्टाचारमा मुछिएका ठूला पार्टीका ठूला नेताहरूलाई जेल कोच्ने उनको प्रतिबद्धताले नै चितवन-२ का जनताले दुई-दुई पटक विजयको ताज पहिर्‍याए भने ठूला भनिने दललाई झापड हाने ।

रवि लोकप्रिय भएर जनताले उनलाई मतदान गरेका होइनन् । ठूला पार्टीका नेताहरूको भ्रष्ट र नीच कार्यशैली र व्यवहारप्रतिको चरम असन्तुष्टिको प्रकटीकरण हो । पुष्पकमल दाहालजस्तो राजनीतिमा स्वघोषित सिंहलाई रविको उम्मेदवारीले गोरखा धपायो । त्यसले ठूला दलका नेताहरूको राजनीतिक धरातल कति कमजोर छ भन्ने प्रमाणित गर्छ । रविले पाएको मत ठूला पार्टीहरूप्रति जनताको असन्तुष्टिको संकेत हो । तर, रविको पार्टीले भ्रष्टाचार र कुशासनका विरुद्धमा जबर्जस्त आवाज उठायो, जनतालाई विश्वास दिलाउन सक्यो भने र पार्टीमा अन्य पार्टीहरूमा गनाएका मानिसलाई प्रवेश नदिइकन देशका युवाहरूलाई जोड्न सकेमा आगामी-२०८४ को निर्वाचनमा नेपालको राजनीतिको जोडघटाउको वर्तमान समीकरण नितान्त भिन्न हुन्छ । ठूला पार्टीहरू सुध्रनुभन्दा दिनदिनै अलोकप्रिय हुने काम गर्छन् । तसर्थ नयाँ पार्टीलाई २०८४ मा चिठ्ठा पर्ने विषय किमार्थ काल्पनिक नहोला ।

एउटा अनौठो विषय २०७९ को निर्वाचनमा उदाहरणीय मत ल्याएर विजयी व्यक्ति माननीय बन्न नै अयोग्य भएको फैसला अदालतले दियो । परिणामस्वरूप उनी उपप्रधानमन्त्री, माननीय र पार्टी सभापतिबाट समेत अपदस्थ भए । अदालतले गरेको निर्णयमा प्रश्नचिहृन नलाग्ने भएकाले उनी स्वयंले अनागरिक भएँ भन्ने अभिव्यक्ति दिए । सबै पदहरूबाट हात धुन बाध्य भए, उनको माननीयको सिटमा पुनः उपनिर्वाचनको घोषणापूर्व नै कानुनतः नागरिकता अद्यावधिक गरेर फेरि उम्मेदवार हुन उनी योग्य भए ।

उनी पहिलोपटक माननीय हुँदा झुक्किएर भएका हुन् भन्ने कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताको भनाइ हावादारी प्रमाणित भयो । किनकि दोस्रो पटक नचिताएको मत पाए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र चितवन-२ को माननीय छन् । तर, उनलाई अहिले पूर्वउपप्रधानमन्त्री भन्न मिल्ने कि नमिल्ने ? उनी माननीयका लागि मात्रै अयोग्य भएनन् । उनी उपप्रधानमन्त्री, गृहमन्त्रीका रूपमा पनि अयोग्य भए । उनी जरोविनाका फूल र फल भए ।

परिणामस्वरूप फूल फल सबै ओइलाए, गले, झेरका मात्रै होइन उपलब्धिको पूर्वसमेत लगाएर उच्चारण गर्न अदालतले प्रतिबन्ध लगाएको हो भन्ने बुझाइ ठीक वा बेठीक हो ? तार्किक र कानुनी उत्तर अपेक्षित छ । नेपालमा यस्ता घटनामा विगतका नजिर र प्राक्टिस दुवै नहुँदा यो आलेखवाला नै अन्योलमा छु । हुन त २००७ सालमा राणा सरकारले राजा बनाएका ज्ञानेन्द्रलाई वीरेन्द्रको वंशनास हुनुपूर्व कतै पूर्वराजा लेखिएन र भनिएन । अहिले रविलाई पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्री भन्न मिल्ने कि नमिल्ने ? के भन्छ नियम र कानुनले ?

उनी बोनाफाइड नागरिक नै नभएको समयमा पाएको पदलाई अदालतले ढिसमिस गरेकाले जिज्ञासु बनायो । यसलाई उठाउनु कौतुहलतालाई मेट्नु हो । विज्ञ, विशेषज्ञ जननिफकारबाट यसको चित्तबुझ्दो जवाफ पाउने आशासका साथ प्रश्न सार्वजनिक गरेको हुँ । वास्तविक र मर्मलाई आत्मसात गर्दै तथ्यपूर्ण, विश्वमा यस्तो विषयमा के प्राक्टिस छ सो जानिफकारबाट अपेक्षा गरेको छु । रवि लामिछानेलाई अदालतले माननीयका लागि किन अयोग्य भन्यो ? त्यसको मुख्य कारण उनले अमेरिकी नागरिकता परित्याग गरेको जानकारी नेपालको सम्बन्धित निकायलाई नगर्नु हो । यो उनको लापरबाही र गैरजिम्मेवारी हो । उनीप्रतिको जनताको विश्वसनीयता सधैं शंकाको घेरामा प¥यो । यो राजनेताका लागि दुर्भाग्यपूर्ण घटना भन्नुपर्छ । नेपाली राजनीतिमा जति जोगी आए पनि कान चिरेका भन्ने उखान चरितार्थ भयो । नागरिकताको विषयले रवि विवादित थिए ।

त्यसैबेला नागरिकताको विषयमा निर्वाचन आयोगमा उजुरीसमेत परेको थियो । आयोगले विज्ञ, विशेषज्ञलगायत सम्बन्धित निकायसँग समन्वय गरेर छानविन तहकिकात नगरीकन उम्मेदवार किन बनायो ? अदालतले रविको माननीयलाई रद्द गर्ने आधार नागरिकता भएकाले निर्वाचन आयोगले जटिल कानुनी प्रश्नलाई किन बेवास्ता गर्‍यो ? निर्वाचन आयोगको गम्भीर लापरबाहीले त्यस क्षेत्रका मतदाताले आधिकारिक नेपाली नागरिकता नभएको व्यक्तिलाई मतदान गर्न बाध्य पार्ने निर्वाचन आयोगको काम कसरी क्षम्य हुन्छ ? निर्वाचन आयोगले चितवन-२ का जनतासँग किन माफी नमाग्ने ? निर्वाचनमा भएको खर्च निर्वाचन आयोगका अध्यक्षलगायत अन्य पदाधिकारीबाट सरकारी बाँकीसरह किन असुल नगर्ने ? जसले गल्ती गर्‍यो ऊ कसरी दोषमुक्त भयो ? यो उपनिर्वाचनको कारण निर्वाचन आयोगको लापरबाही हो । लापरबाही गर्नेहरू किन दण्डित नहुने ? निर्वाचन आयोगको अपराधजन्य कूकृत्यप्रति सर्वोच्च अदालत किन बोलेन ? अर्को रहस्यको विषय बन्यो । यसमा रविभन्दा उम्मेदवारको योग्यताको परीक्षण नगर्ने निर्वाचन आयोग विशेष दोषी छ । निर्वाचन आयोग कसरी दोषमुक्त भयो ? आयोगको त्रुटि र लापरबाहीप्रति कानुन आकर्षित गर्ने काम किन अदालतले गरेन ?

शक्तिमा हुनेहरूको इच्छानुसारका निर्णय के राजनीतिक र न्यायिक निर्णय हुन्छन् ? ती निर्णयमा कानुन आकर्षित नहुने पनि कानुनी राज्य हुन्छ ? फाँटमा ढलेको टौवाको पराल छाडा पशुहरूले मनमोजी खाए जस्तै जिम्मेवारीमा रहनेले राज्यका साधनस्रोत लुट्ने कार्य पनि राजनीति हुन्छ ?

किन निर्वाचन आयोग यो प्रकरणमा दण्डित भएन ? नेपालमा नियुक्तिहरू सेटिङमा भएको सत्यलाई अदालतले निर्वाचन आयोगबारे मौन रहँदा कतै पुष्टि गरेको त होइन ? अदालतमा न्यायाधीशहरू पार्टीका कार्यकर्ता नियुक्त हुने व्यवस्थाले अदालतको निष्पक्षतालाई अपहरण गरेको छ । जहिलेदेखि अदालतमा निष्पक्षताको अपहरणको सुरुवात भयो यसले भ्रष्टाचार, कुशासन, विधिविहीनता, नातावाद र कृपावादलाई संस्थागत गर्‍यो । विधिको शासनप्रति जनतामा अविश्वासको जग बसाल्यो ।

रवि लामिछाने निर्वाचित हुनमा मुख्य दोषी निर्वाचन आयोग हो । अदालत मुख्यदोषी निर्वाचन आयोग बारे किन चुइक्क बोलेन ? खासगरी समानुपातिक पद्धतिका कारण निर्वाचमा कुनै दलको बहुमत नपुग्ने संवैधानिक अवस्था निर्माण गरेर दलका नेताहरूको मिलोमतोमा पालैपालो सरकारमा जाने र देश लुट्ने सहमतिले अहिले न्यायालय, प्रशासनलगायत जताततै भ्रष्टाचार, अनियमितता, पक्षपात फैलिएको मात्रै छैन मौलाएको छ ।

रवि लामिछानेको उम्मेदवारी नै गैरकानुनी भएपछि सो निर्वाचनमा रवि लामिछाने पछि धेरै मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा यदि अदालतले गरेको भए पनि उपनिर्वाचनको खर्चको भार राज्यलाई पर्ने थिएन । अझ रविको ठाउँमा ठूला पार्टीको उम्मेदवार भएको भए सेटिङका न्यायाधीशहरूले नागरिकताको प्रक्रिया पुर्‍याएर तोकिएको म्यादसम्म नागरिकतालाई अद्यावधिक बनाउन आदेश दिन्थे होलान् । रविलाई नै नागरिकता अद्यावधिक गर्ने आदेश दिएको भए उपनिर्वाचनका कारण राज्यकोषको दुरुपयोग हुँदैनथ्यो ।

शक्तिमा हुनेहरूको इच्छानुसारका निर्णय के राजनीतिक र न्यायिक निर्णय हुन्छन् ? ती निर्णयमा कानुन आकर्षित नहुने पनि कानुनी राज्य हुन्छ ? राज्यकोषको लखनउ लुट गर्नेहरू कसरी राजनीतिज्ञ हुन्छन् ? फाँटमा ढलेको टौवाको पराल छाडा पशुहरूले मनमोजी खाएजस्तै जिम्मेवारीमा रहनेहरूले राज्यका साधनस्रोत लुट्ने कार्य पनि राजनीति हुन्छ ?

संवैधानिक आयोगमा पार्टीका र आफ्ना मानिस भर्ना गर्ने र जताततै नियम र कानुनलाई बेवास्ता गर्ने, लापरबाही गर्ने र सरकारका साधनस्रोतलाई फाँटमा ढलेको टौवाजस्तै आफू र आफ्नालाई पोस्ने छाडावाद र अराजकता हो प्रजातन्त्र ? यस्तै छाडातन्त्रमा विकास, समृद्धिका चर्को कुरा गर्ने जोकोही किन नहोस् जनता ठग्ने भाषा हो । त्यसैले छाडापनको खबरदारी गर्ने र होसियारी हुन सचेतनाको विकास नै समस्याको समाधान र समयको आवश्यकता होइन र ?

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काेइराला
कुलप्रसाद काेइराला
2023-07-04 11:56 am

धन्वाद देवीजी,चितवन निर्वाचन क्षेत्र नं 2 काे निर्वाचन खर्च निरवाचन अायाेगबाट भराउने तर्क 16 मा 16 रै सही ।प्रजातन्त्रकाे माखाेल उडाएकाे राम्राे नमुना हाे चहुरमा ढलेकाे टाैवा( माच) काे पराल,राज्यकाेष ।र पशुसरहका दलनायक ।बधाइ दनक राम्राे लागाे ।याे व्यङ्ग्यलाई नेपालीमा लाैह र अङ्रेजीमा अाइराेनि भनिन्छ ।संस्कृतमा प्रतीयमान अर्थकाे व्यङ्ग्य हाे याे ।छाेरी हुर्की,कतै राम्राे घरघरानकाे कुटुम्ब पाए … भन्नाकाे मत्लव त अश्लील पनि हाे निहनेईन र ? तर त्यस्ता कुरा हरेक सभ्य नेपाली घरमा चल्छन् ।त्यसरी तपाईंले रावनीति कर्मीलाई डामेर छाडेका अनेरा पशु,राष्ट्रिय ढिकुटीलाई लडेकाे टाैवा बनाएर सबैका अाँखा खाेल्ने चेष्टा पनि देखाउनु भएकाले फ्रि पनि धन्यवाद ।एघारैकाे काट्टाे र काट्टे नेता भन्ने शीर्षक अति नै सुहाउने रहेछ ।मधेसतिर यसरी काट्टाे खानेलाई कन्टाहा बाभन भन्छन् ।कनटाहाकाे कामै काट्टाेखाने मात्रै हाे अरु कार्यमा त्याे चल्दैन ।हाे ,निर्पाचन अायाेग,राजनीतिक दल सबै कन्टाहा नै हुन् ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?