प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात गर्नुभएको छैनः सांसद दाहाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्नेगरी कुनै राष्ट्रघाती काम नगरेको बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद अवरोध गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले एमालेले सरकार बाहिर बसेको पीडा अभिव्यक्त गरेको बताउनुभएको हो ।

उहाँले सरकार अंक गणितले बन्ने र बहुमत गुमाएको दिन स्वतः राजीनामा हुने भन्दै अहिले नै राजीनामा दिनलाई कुनै राष्ट्रघाती सन्धि नगरिएको बताउनु भयो । उहाँले प्रतिपक्ष दलले जस्तो देश नबेचेको पनि बताउनु भयो । सांसद दाहालले सरदार प्रितम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदिक्षा राखेको कुरा अभिव्यक्त गरेका र सोही कुरा प्रधानन्त्री प्रचण्डले एक कार्यक्रमका बीचमा राखेको भन्दै सो विषय राजनीतिक विषय नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एमाले सरकार बाहिर बसेको कारणले उहाँहरुलाई ठूलो पीडा छ । आवेग छ । त्यो आवेग अभिव्यक्त हुन्छ । उहाँहरु यो सरकार बसेपनि किन बस्यो भन्छुहुन्छ, उठे पनि किन उठ्यो भन्नुहुन्छ ? दिनलाई किन दिन ? रातलाई नि किन रात ? प्रधानमन्त्रीको जवाफ माग गरेको भए हुन्थ्यो । राजीनामा जो माग गर्नुभयो, उहाँहरुलाई थाहा रहेनछ, सरकार कसरी बन्छ । सरकार अंकगणित हिसावले बन्छ । जुनदिन यो सरकारले बहुमत गुमाउँछ, त्यो दिन स्वतः राजीनामा हुन्छ । के को राजीनामा ? उहाँहरुले जस्तो देश बेचेको छ ? राष्ट्रघाती सन्धि गरेको छ ? कुनै अपमानित काम गरेको छ नीतिगत हिसावले ? राजनीतिक हिसाबले ? कुनै एउटा पात्रले आफूमाथि राखेको सदिक्षा सम्झिएको हो । सरदार प्रितम सिंहले कमसेकम प्रचण्ड प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने जो सदिक्षा राख्नुभयो । न उहाँको राजनीतिक भुमिका छ, न घरानीय व्यवसायी हो । सामान्य श्रमिक, मजदुरको सदिक्षा राजनीतिक विषय बनाउन मिल्छ र ?’

सांसद दाहालले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री बनाउने सदिक्षासहित सरदार सिंहले नेपाल र भारतका व्यक्तिहरुलाई भेटेको बताएपनि प्रधानमन्त्री दाहालले नअह्राएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँले प्रचण्डलाई भेट्दाखेरी म तपाईको फ्यान हुँ । तपाई यो देशको प्रधानमन्त्री भए व्यवसायिक क्षेत्रमा देखिएका समस्याहरु, नेपालका समस्या हल गर्न सक्नुहुन्छ भन्ने विश्वासले म काठमाडौंमा भेटेका मान्छेहरुलाई पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर हिँडे । दिल्ली पुग्दापनि मेरो आफन्तहरुलाई प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ भनेर पुँगे भन्ने सन्दर्भमा ०६४÷६५ को आसपासमा भेट हुँदा उनले जो बोल्नुभएको थियो त्यही भनिएको हो । उहाँको सदिक्षा बोलेको हो । प्रचण्ड बोलेको पनि होइन । प्रचण्डले अह्राएको पनि होइन । उहाँ सामान्य नागरिक हो । राजनीतिक कुनै पात्र पनि होइन । त्यो प्रचण्ड बोलेको होइन । उहाँको सदिक्षा प्रचण्ड प्रधानमन्त्री भइदेओस् भन्ने विषयलाई लिएर संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन ।’

उहाँले कुनै व्यक्तिले कसैप्रति राखेको सदिक्षालाई लिएर संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण नभएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?