योग प्रशिक्षक सुरेशचन्द्र भुसाल सम्मानित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी  । पतञ्जली योग समिति गुल्मीका संस्थापक अध्यक्ष सुरेशचन्द्र भुसाल सम्मानित हुनुभएको छ ।

गुल्मी जिल्लामा योगलाई भित्र्याउन सफल भएको भन्दै योगका साधकहरुले उहाँलाई सम्मान गरेका हुन् । जिल्लाको सदरमुकाम तम्घासमा अवस्थित भगवती मन्दिरमा भएको कार्यक्रममा योग साधकहरुले गुल्मी जिल्लामा योगलाई जोड्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भुसाललाई सम्मान गरिएको योग प्रशिक्षक कृष्णप्रसाद पाण्डेले बताउनु भयाे ।

भुसाल २०६० सालमा भारतको नयाँ दिल्लीस्थित क्षेत्रसाल स्टेडियममा योगी रामदेव र आयुर्वेदका शिरोमणि आचार्य बालकृष्णको सानिध्यमा ४० हजार मानिसहरुको बीचमा ४२ घण्टे प्रशिक्षण लिएर योगमा प्रवेश गर्नुभएको थियो । तत्कालिन समयमा जिल्लाको उपल्लो तम्घास, धागीथुम, नयाँगाउँ, पिपलधारा, पूर्कोटदह, घमिर, सिमलटारी, रुपाकोट, जुहाङ्ग खैरेनी, इन्द्रेगौडा, पौदीमराई, लगायतका स्थानहरुको कुना -कुनामा पुगेर योगलाई जनजनमा पुर्‍याउने उद्देश्यले विभिन्न कक्षाहरु सञ्चालन गरेको जानकारी दिनुभयो । लगत्तै जिल्लाको महेन्द्र माध्यमिक विद्यालय तम्घासमा योगका विषयमा ठुलो प्रशिक्षण तथा शिविर सञ्चालन गरेको भुसालले बताउनुभयो ।

साथै गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा बाहिरबाट योगका प्रशिक्षकहरु झिकाएर जिल्लामा प्रशिक्षक तयार गर्ने कार्य गरिएको थियो । रेसुंगा नगरपालिका र मुसिकोट नगरपालिका भित्रका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुलाई योगमा समावेश गर्ने उद्देश्यका साथ अनलाइन तालिम सञ्चालन गरिएको थियो ।

अहिले जिल्लाको सदरमुकाम तम्घासस्थित बालमन्दिरमा बिहान साढे ४ देखि ६ बजेसम्म प्रशिक्षक कृष्णप्रसाद पाण्डे, अच्युत अर्यालबाट योग प्रशिक्षण हुँदै आएको छ । उता मुसिकोट नगरपालिकाको पौदीअमराईको ग्वालीचौरमा नियमित रुपमा योग सञ्चालन हुँदै आएको छ । जिल्लामा नियमित रुपमा योगमा क्रियाशिल हुँदै योग प्रशिक्षकका रुपमा भूमिका खेलेको भन्दै पतञ्जली योग समितिका संगठन सचिव कृष्णप्रसाद पाण्डे, महासचिव अच्युत अर्याललाई समेत साधकहरुले सम्मान गर्नुभएको थियो ।

प्रत्येक गाउँपालिका र नगरपालिकाहरुलाई विद्यालयका शिक्षकहरुलाई समावेश गरी भौतिक कक्षा सञ्चालन गर्नका लागि समेत अध्यक्ष भुसालले आग्रह गर्नुभएको छ । योगका माध्यमबाट आहार-विहार, घरेलु औषधीको प्रयोगको विधि समेत घरघरमा पुर्‍याउने लक्ष्य रहेको भन्दै स्थानीयतहहरुले यसमा सहयोग पुर्‍याउन आग्रह समेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?