घोराही सिमेन्ट आइपिओ विवाद : बदमासीबारे धितोपत्र बोर्ड मौन, रद्द गर्नुपर्ने आइपिओलाई निरन्तरता

ठूलो आर्थिक चलखेलको आशंका, लगानीकर्ताको अर्बौं रुपैयाँ फेरि जोखिममा

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । घोराही सिमेन्टको आइपियो विवाद थप चुलिएको छ । धितोपत्र बोर्डले आइपियो आवेदन परिमार्जन गर्न समय दिएसँगै विवाद थप बढेको हो । फर्जी आवेदनदेखि स्वार्थ बाझिने गरी भएको क्रेडिट रेटिङका आधारमा प्रिमियम निर्धारण भएको घोराही सिमेन्टको आइपिओ आवेदनमा बोर्डले पुर्नविचार गर्ने समय दिएपछि थप आशंका उत्पन्न भएको हो । बोर्डले बुधबार पुरानो आवेदन परिमार्जन गर्न तीन दिनको समय दिएको थियो । बोर्डका अनुसार सेयरमा आवदेन दिएका लगानीकर्ताहरूले सेयर थपघट गर्नेदेखि आवेदन फिर्ता वा खारेज गर्न मिल्ने निर्णय गरेको छ । तीन दिनमा पर्याप्त आवेदन नआए बोर्डले आइपिओ आवेदनको म्याद थप सात दिनसम्म लम्ब्याउने अनुमति दिएको छ । यस अवस्थामा यसअघि आवेदन नदिएकाहरूले समेत आवेदन दिन पाउनेछन् ।

फर्जी आवेदनका विषयमा अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको बोर्डले पुनः आवेदन दिन पाउने गरी निर्णय गरेको छ । प्रहरी अनुसन्धान नसकिँदै घोराहीको आइपिओ पुनः भर्न र फिर्ता लिन दिने बोर्डको निर्णयमै प्रश्न उठेको हो । फर्जी आवेदन दिएको पुष्टि भएपछि यसअघि बोर्डले आइपिओे रोक्का गरेको थियो । अहिले फेरि अनुसन्धान नसकिँदै बोर्डले पुनः अनुमति दिएपछि लगानीकर्ताको पैसा फेरि डुब्ने जोखिम बढेको हो । फर्जी बदमासीबारे प्रहरी अनुसन्धान गर्न भनेको बोर्ड क्रेडिट रेटिङ र सिडिएसबारे मौन देखिएको छ । यी विषय टुंगो नै नलागी कसरी आइपिओ निरन्तरता दिइयो भन्ने गम्भीर प्रश्न उठेको छ । भोलि अनुसन्धानका क्रममा कुनै त्रुटि भेटिएर फेरि आइपिओ रोक्का भए लगानीकर्ताको अर्बौ रुपैयाँ फेरि होल्ड हुने जोखिम बढेको छ । यसअघि पनि आइपिओ रोक्का हुँदा लगानीकर्ताको अर्बौ रुपैयाँ होल्ड भएको छ । आइपिओमा सर्वसाधारणको तीन अर्ब ६१ करोड रुपैयाँ रकम होल्ड भइरहेको छ । अनुसन्धान जारी रहेको अवस्थामा आइपिओ रद्द नगरेर पुनः निरन्तरता दिने बोर्डको निर्णयमा प्रश्न उठेको छ, कसको कुन स्वार्थले निरन्तरता दिइयो ? यसमा ठूलै आर्थिक चलखेलसमेत भएको स्रोत बताउँछ । स्रोतका अनुसार आइपिओलाई पुनः निरन्तरता दिन घोराही सिमेन्टले पुनः ठूलो रकम खर्च गरेको छ ।
यसअघि कम्पनीको आइपिओमा फर्जी आवेदन परेको पुष्टि भएसँगै बोर्डले आइपिओ निष्कासनलाई बीचमै रोक लगाएको थियो । कुल १२ जनाले खातामा पैसा नहुँदा नहुँदैसमेत १०/१० लाख कित्ताका लागि आवेदन दिएका थिए । स्वार्थ बाझिने गरी भएको क्रेडिट रेटिङका आधारमा प्रिमियम निर्धारण भएको समेत आरोप लागेको थियो ।

घोराही सिमेन्ट इण्डष्ट्रीले यही जेठ ३२ गते सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको थियो । कम्पनीले हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमार्फत ६९ लाख ११ हजार ६७० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा प्रिमियमबापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँ अन्तिम मूल्यमा उक्त परिमाणमा साधारण सेयरको बिक्री खुला गरेको थियो । कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही असार ४ गते र ढिलोमा असार १४ गते बन्द हुने पूर्वनिर्धारित कार्यतालिका थियो । घोराही सिमेन्टको विवाद उद्योग स्थापनादेखि नै हुँदै आएको छ ।

रेटिङसम्बन्धी अनुसन्धान प्रतिवेदन गोप्य
नेपाल धितोपत्र बोर्डले विवादास्पद घोराही सिमेन्टको रेटिङसम्बन्धी अनुसन्धान प्रतिवेदन गोप्य राखेको छ । केयर रेटिङ नेपालले गैरकानुनी रूपमा गरेको घोराही सिमेन्टको रेटिङसम्बन्धी अनुसन्धानको प्रतिवेदन सार्वजनिक नगरी बोर्डले आइपिओ प्रक्रिया पुनः खुला गरेको हो । समितिले आइपिओ निष्कासनको ढोका खुल्ला गरे पनि रेटिङको विषयमा गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक नगरी आइपिओ निष्कासन खुला गर्दा झन् आशंका बढेको छ । घोराही सिमेन्टको रेटिङ गैरकानुनी भएको भन्दै आवाज उठेपछि नै छानविन समिति बनेको थियो । विशाल ग्रुपको स्वामित्व रहेको केयर रेटिङ नेपालले गैरकानुनी रूपमा घोराही सिमेन्टको रेटिङ गरेको भन्दै चौतर्फी विरोधपछि बोर्डले अध्ययन समिति बनाएको थियो । घोराही सिमेन्टमा मुख्य लगानीकर्ता त्रिवेणी ग्रुपसँगै विशाल ग्रुपको पनि लगानी छ ।
बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले कम्पनीको रेटिङमा उठेको विषयमा अनुसन्धान सम्पन्न भएको र प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताउनुभएको छ । कम्पनीको रेटिङ गैरकानुनी रूपमा गरेको प्रमाणित भएमा केयर रेटिङ नेपाललाई कारबाही गरिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यदि रेटिङ गर्न नमिल्ने गरी भएको छ भने रेटिङ कम्पनीलाई कारबाही हुन्छ, त्योभन्दा अरू हामीले केही पनि गर्न सक्दैनौँ ।’ कम्पनीको रेटिङका विषयमा बोर्डमा उजुरी परेपछि क्रेडिट रेटिङबारेमा गत जेठ ३० गते केयर रेटिङ नेपाललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको थियो । तर, केयर रेटिङ नेपालले स्पष्टीकरण नपठाई बिनाआधार समय थप माग गरेपछि आइपिओ निष्कासन प्रक्रिया रोकिएको थियो ।

‘बोर्डसहितको मिलेमतोमा बदमासी, ठूलो चलखेलको आशंका’
सेयर लगानीकर्ताहरूले भने सबैको मिलेमतोमा बदमासी भएको आरोप लगाएका छन् । घोराही सिमेन्टका सञ्चालक, नेपाल धितोपत्र बोर्ड, क्रेडिट रेटिङ कम्पनी र निष्कासनकर्ता कम्पनी सबैको मिलेमतोमा बदमासी भएको उनीहरूको आरोप छ । यसमा ठूलो चलखेल भएको शेयर लगानीकर्ता डमरुवल्लभ घिमिरेले आशंका गरे । ‘घोराही सिमेन्टको आइपिओमा बदमासी भएको हो । यसमा घोराही सिमेन्टका सञ्चालक, नेपाल धितोपत्र बोर्ड, क्रेडिट रेटिङ कम्पनी, निष्कासनकर्ता कम्पनी सबैको मिलिभगत छ । बोेर्डदेखि मन्त्रीसम्म च्यानल मिलाएर काम भएको छ,’ उहाँले भन्नुभयो, ‘नत्र खातामा पैसा नै नभएको व्यक्तिको सेयर आवदेन कसरी पास हुन्छ ? हामीले खातामा पैसा नभएको बेला आवेदन गर्दा पास नहुने, उनीहरूको चाहिँ कसरी भयो त ? यसमा ठूलो चलखेल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?