विकासले फेरियो कुस्मिसेराको मुहार

रासस
Read Time = 5 mins

गलकोट । तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो ।

यस क्षेत्रमा उर्भर खेतीयोग्य जमिन भए पनि सङ्घीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ तीव्र सहरीकरण भइरहेको छ । ‘अन्नको भण्डार’का रुपमा रहेको उक्त खेतको फाँटमा पक्की भवन धमाधम निर्माण भए पनि बजारको सडक भने सुधार हुन सकेको थिएन ।

बर्खामा बजारभित्रकै सडक हिलाम्मे र हिउँदामा धुलाम्मे हुने अवस्थाको यही वर्षदेखि अन्त्य भएको छ । यही वर्ष बजार क्षेत्रको सबै सडक कालोपत्र र ढलान सम्पन्न भइसकेको जैमिनी नगरपालिकाले जानकारी दिएको छ ।

कुश्मिसेरा बजारमा तीन वर्षदेखि थालिएको सडक ढलान र कालोपत्र सकिएपछि बजारको मुहार फेरिएको स्थानीय पुनेन्द्र सापकोटाले बताउनुभयो । “चार वर्षअघिसम्म सडकमा नालीसमेत थिएन, बजार मात्रै भएर के गर्ने ? बर्खामा सडकबाटै सिँचाइका लागि कुलो लैजानु पर्दथ्यो”, उहाँले भन्नुभयो, “पछिल्लो तीन वर्षयता कुस्मिसेरा बजार परिवर्तन भएको छ, अहिले एकातर्फ सडकको नाली र अर्कोतर्फ सिँचाइको लागि प्रयोग गर्ने नाली बनाइएको छ । कालोपत्र र ढलानले सडकका खल्डाखुल्डी सबै पुरिएका छन् ।”

बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण व्यवसायी तथा यात्रुलाई सास्ती भएकामा अब भने सहज हुने सापकोटाको भनाइ थियो । अहिले कुस्मिसेराका भिरालो स्थानमा ढलान र समथर सडकमा कालोपत्र गर्दा यात्रुलाई सहज हुनुका साथै शौन्दर्यकरण थप भएको उहाँले बताउनुभयो ।

कुस्मिसेरा बजारमा छ सय ६० मिटर सडक कालोपत्र गरिएको र एक किमी सडक ढलान गरिएको नगरपालिकाका इञ्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो । “पालिकाको केन्द्र सुधार हुन आवश्यक थियो । अहिले मुख्य सडकमा कालोपत्र र ढलान भएको छ, केही शाखा सडक बाँकी छन्”, उहाँले भन्नुभयो, “कालोपत्रभन्दा ढलान सडक धेरै खर्चिलो र पक्का हुने भएकाले ढलान सडक लामो समयसम्म टिक्ने अपेक्षा छ ।”

इञ्जिनियर सापकोटाका अनुसार रू एक करोड ९७ लाखमा कुस्मिसेरा बजारको सडक पक्की बनाइएको हो । जसमध्ये चालु आर्थिक वर्षमा पाँच सय मिटर सडक ढलान र एक सय ३० मिटर सडक कालोपत्र गरिएको छ ।

कुस्मिसेरा बजारको सबै सडक कालोपत्र र ढलान गरिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । “कुस्मिसेरा बजारको मुख्य क्षेत्रमा कालोपत्र तथा ढलान  सम्पन्न भएको छ । यसले बजार क्षेत्रको शौन्दर्यकरण गरेको छ”, उहाँले भन्नुभयो ।

सहरी विकास मन्त्रालयबाट गत वर्ष रू ४५ लाख र चालु आर्थिक वर्षमा रू ९७ लाख बजेट विनियोजना भएको जनाउँदै उहाँले नगरपालिकाको तिरन्तर पहलकदमीबाट पक्की सडक निर्माण सम्पन्न भएको उपप्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार बाँकी रकम नगरपालिकाले छुट्याएको थियो । “अब नगरपालिकाको ध्यान वडास्तरीय सडक सुधारमा हुनेछ”, उहाँले भन्नुभयो ।

उपप्रमुख शर्माका अनुसार बागलुङ बजार बाट कुस्मिसेरा पुग्न दुई किलोमिटर सडक मात्रै कच्ची रहेको छ । सडक कालोपत्र भएपछि एक घण्टामै बागलुङ बजारबाट कुस्मिसेरा पुग्न सकिने भएपछि स्थानीय खुसी भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?