भोजपुर जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 6 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । ‘स्थानीय श्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित सोमवार एक कार्यक्रमका विच भोजपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको हो ।

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणासभा भएको जिल्ला खोप समन्वय समिति सचिव तथा स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले बताउनुभयो । प्रदेशको ताप्लेजुङ, उदयपुर र खोटाङ पछि भोजपुर चौथो जिल्लाकारुपमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्लाका सवै स्थानीय तहहरुले पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिसकेकोले सोही प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको प्रमुख तिवारीको भनाई रहेको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा भएको थियो । घोषणासँगै कार्यक्रमका सहभागीहरुले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि सवै प्रतिवद्ध हुनु पर्ने धारणा राख्नु भएको थियो ।

खोप लगाउन पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार भएकाले खोप कार्यक्रममा निरन्तरता दिनु पर्ने जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईले बताउनुभयो । अन्धबिश्वासका कारण पनि कति पय बालबालिकाहरु खोप लगाउनबाट बञ्चित भएको बताउँदै राईले खोप कार्यक्रमको दिगोपनाका लागि सरोकारवाला सवै पक्ष एकजुट हुनु पर्ने बताउनुभयो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले राज्यले लगानी गरेको खोप कार्यक्रम राष्ट्रिय कार्यक्रम भएकाले यसलाई सहयोग गर्नु सवैको दायित्व भएको बताउनुभयो । घोषणाले मात्र कार्यक्रम सफल नहुने भएकाले यसको दिगोपनामा पनि सवैको ध्यान जानु पर्ने प्रजिअ घिमिरेको भनाई रहेको छ । घोषणा कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, नागरिक समाजका संयोजक पर्शुराम तिवारी लगायतले मन्तव्य राख्नु हुदै पूर्ण खोप सुनिश्चिततासँगै यसको दिगोपना प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

पूर्णखोप सुनिश्चितता र दिगोपनाको रणनीत अनुरुप खोज र खोप कार्यक्रम अन्तर्गत वर्षमा एक पटक घरधुरी सर्वेक्षण गर्ने प्रावधान अनुसार चालु आर्थिक वर्षको पूर्णखोप सुनिश्चितता प्रमाणिकरण गरिएको थियो । स्थानीय तह तथा वडाहरुमा पूर्णखोप सुनिश्चितता प्रमाणीकरण गर्न सर्वेक्षण गरी अद्यावधिक गरिएको थियो । अद्यावधिकको क्रममा छुटेका निश्चित उमेर समूहका बालबालिकाहरुलाई पनि खोप पुरा गराईने छ । खोप पाउने उमेर समुहका सम्पुर्ण बालबालीकाले नियमित खोप पाईरहेको सुनिश्चतता भएसँगै जिल्लालाई पुर्ण खोप युक्त जिल्ला घोषणा भएको थियो । पूर्ण खोप सुनिश्चिता र दिगोपनाका लागि प्रत्येक वर्ष सर्वेक्षण र घोषणा गर्ने प्रावधान छ ।

नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनि स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । यसैगरी नेपालको संविधान २०७२ अनुसार आधारभूत स्वास्थ्य सेवाहरुको संचालन तथा ब्यवस्थापन स्थानीय सरकारको अधिकारक्षेत्र भित्र ब्यवस्था भएको सो अनुसार स्थानीय सरकार संचालन ऐन,२०७४ को परिच्छेद ३ मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार र वडा समितिको काम कर्तव्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्तर्गतको खोप सेवा संचालनको ब्यवस्था गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?