हाम्रो देशमा पछिल्लो समयमा कृषि र पशुपालन संकटमा पर्दै गइरहेका छन् । कृषि खाद्यान्नको आधार हो तर हालका दिनहरूमा नेपालका अधिकांश जग्गाजमिन बाँझै छन् । परम्परागत कृषिप्रणालीमा हामीले आधुनिकीकरण गर्न नसक्नु सरकारले किसानहरूका लागि समयमै मल, बिउ, कीटनासक विषादी र कृषिऔजार उपलब्ध गराउन नसक्नुलगायतले कृषि प्रणालीप्रति मानिसको आकर्षण घट्दै गएको हो ।
अर्कातिर आधुनिक खेती प्रणाली र उत्पादित सामग्रीले बजार नपाउनाले नयाँ जातका फलफूलतिर आकर्षित भएका केही थोरै किसान पनि यस क्षेत्रबाट विस्थापित बन्न जान थालेका छन् । उदाहरणका लागि ड्रागन फ्रुट, एभोकाडो, किबीजस्ता फलफूलहरूतर्फ केहीको चासो रहने गरेको छ तर ती फलफूलहरूको मूल्य सामान्य नेपालीहरूको क्रयशक्तिभन्दा माथि हुने गरेकाले ती उत्पादनहरूले ग्राहक पाउन सक्दैनन् ।
त्यस कारण जे-जस्तो खेती हुँदै आएको छ कृषि पेशामा संलग्न हुन्छु भनेर यसतर्फ लागेकाले पनि त्यही खालको परम्परागत अन्न, दलहन, तेलहन, केही नगदे बाली र परम्परागत तरकारी खेतीमै संलग्न हुनुपर्ने बाध्यता छ । प्रमुख बालीका रूपमा मकै, धान, गहुँ, कोदोमै आश्रित हुनुपरेको छ । फापर, जौ, उवा, करु, कागुनो, जुनेलोलगायत कृषिकर्म मात्र हुनेगर्छ । नगदे बालीमा उखु सुर्ती जुट आदिको खेती गरिन्छ । हालका दिनमा त तेलहन र दलहनमा आयातमै भर पर्नुपरेको छ । हाल कृषिमा जस्तै पशुपालन पनि संकटमा पर्दै गएको छ । पशुपालनलाई कृषिअन्तर्गत राख्ने गरिएको छ । स्थान, सहजता र तिनका लागि आहाराको उपलब्धताका आधारमा ठाउँ विशेषमा फरक–फरक जातका पशुपालन गर्ने गरिन्छ ।
हिमाली क्षेत्रमा भेडा र च्यांग्रा पालन पनि गरिन्छ तर भेडा नेपालको सबै ठाउँमा पाल्न सकिए जसरी च्यांग्रा र चौंरीको पालन सबै ठाउँमा गर्न सकिँदैन । चौंरी हिमाली क्षेत्रमा बाँच्न सक्ने प्राणी हो । उच्चपहाडी क्षेत्रसम्म चौंरी पालन हुनसक्छ तर मध्यपहाडी र निम्मपहाडी क्षेत्र र त्यसभन्दा दक्षिणमा चौंरी पालन हुँदैन । सोलुखुम्बुको सगरमाथाा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिले जंगली अवस्थामा समेत चौंरी थियो भन्ने गरिएको भए पनि हाल यसरी जंगली अवस्थामा चौंरी भेटिन छोडेको छ । घरपालुवा बनाएर पाल्ने र यसबाट विभिन्न लाभ लिने गरिएको चौरी हालका दिनमा संख्या घटेर कम भइसकेको छ । व्यावसायिक रूपमा पालन गरेर त्यस क्षेत्रका मानिसहरू लाभान्ति हुँदै आएका थिए तर विभिन्न कारणले गर्दा हाल चौरीपालकको संख्या घटिरहेको छ ।
भेडा गर्मीमा हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा पुर्याएर पालन गर्ने गरिए जसरी चौंरीलाई उधौली-उभौली गरी पाल्न मिल्दैन । एक त ठूलो प्राणी भएका कारण जहाँतहीँ लान मिल्दैन । बाँध्न, फुकाउन र दुहुनसमेत सजिलो हुँदैन । गोठ बनाउने, गोठ सार्ने गर्नुपर्छ । ठूलो प्राणी भएको हुनाले खुराख धेरै लाग्छ भने यसबाट प्राप्त हुने सामग्रीसमेत ठूलो परिमाणमा प्राप्त हुने हुँदा व्यवस्थित गर्नसमेत सक्नुपर्छ । चौंरीबाट मूल रूपमा दुग्धजन्य पदार्थ प्राप्त हुन्छ । व्यावसायिक उपयोग गर्ने हो भने चिज उद्योगहरूलाई उत्पादिन दूध दिन सकिन्छ । त्यस प्रकारको सुविधा नभएका ठाउँमा घरायसी प्रयोजनमा दूध, दही, मोही, घ्यू, छुर्पी, सेरगेम बनाएर प्रयोग गर्ने र मरेपछि छाला, चमर प्रयोग गर्ने र बेच्ने गर्न सकिन्छ ।
नेपालमा गौहत्या वर्जित भएका कारण मासुका लागि भने यसलाई प्रयोग गरिँदैन, कुनै दुर्घटना (लडेर मरेको अवस्थामा) भने यसको मासुको पनि प्रयोग स्थानीयहरूले गर्ने गरेका छन् । अंग्रेजीमा चौरीलाई याक भन्ने गरिएको भए पनि नेपालीमा भाले चौंरीलाई मात्र याक भन्ने गरिन्छ भने पोथीलाई नाक भनिन्छ । दक्षिणी क्षेत्रबाट लगिएका स्थानीय जातका गाई र चौंरीको सम्सर्गबाट जन्मिएका चौंरीहरू अझै बढी दूधालु र भारी बोक्नसक्ने हुन्छन् । यिनलाई स्थानीयहरूले जोक्पे भन्ने गरेका छन् । हाल नेपालीहरू नेपालमै बसेर आफ्ना परम्परागत काम गर्ने व्यवहारमा परिवर्तन आइरहेको छ । दिनप्रतिदिन नेपालीहरू विदेशतिर गइरहेका छन् । अरू क्षेत्रमै जसरी चौंरीपालनमा पनि नकारात्मक प्रभाव परिरहेको छ । चौंरीपालकको संख्या घटिरहेको छ ।
चौंरीको संख्या घटे सँगसँगै यसबाट उत्पादन हुने चिज वस्तुहरूको संख्या र मात्रामा समेत कमी आइरहेको छ । एउटै चमरको छ सात हजार पर्छ, धार्मिक अनुष्ठान र घर घरमा गरिने नित्यपूजामा यसको प्रयोग गरिन्छ तर एउटा चौरीबाट एकमात्र चमर प्राप्त हुने भएकाले जति धेरै संख्यामा चौरीहरू रहन्छन् यसको प्राप्ति पनि त्यही अनुपातमा हुने गर्दछ । चौंरीको संख्या पहिलेको भन्दा दुईतिहाइले घटिसकेको छ । यो दुःख लाग्दो सन्दर्भ हो । यही अनुपातमा चौंरीहरू घट्दै जाने हो भने भोलिका दिनमा लोपै पो हुने हो कि भन्ने चिन्ता बढ्दै गएको छ । चौंरीपालकहरू राष्ट्रबाट समेत प्रोत्साहित हुन सक्नुपर्छ । सहुलियत ऋण र अनुदानको व्यवस्था हुनसक्ने हो भने यस क्षेत्रले प्रोत्साहन पाउन सक्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच