बुटवल । विकासका दृष्टिले बुटवल प्रमुख शहरमध्येको एक हो । हरेक क्षेत्रको नेतृत्व गर्ने बुटवल सबै क्षेत्रमा अब्बल छ । स्थानीय तह निर्वाचन भएपछि दोस्रो कार्यकालको नेतृत्व अहिले बुटवलमा खेलराज पाण्डेयले गरिरहनुभएको छ । नगरप्रमुख पाण्डेय नेतृत्वमा पुगेको पनि २० महिना पुगिसकेको छ । प्रस्तुत छ, नगरप्रमुख खेलराज पाण्डेयसँग बुटवल हिटा सहकर्मी चन्द्रकान्त खनालले गरेको कुराकानीको सारसंक्षेप ।
निर्वाचित भएको २० महिना पुग्यो, यसबीचमा के–कस्ता काम गर्नुभयो ?
हो, बुटवलवासीले माया गरेर नेतृत्वमा आएको झण्डै दुई वर्ष पुग्न लागेको छ । यो अवधिमा केही सकारात्मक काम त छन् तर आर्थिक पक्षसँग जोडिएका धेरै विकास निर्माणका कामहरू हुने रहेछन् । अहिलेसम्म भएका कामबाट म आफैं पूर्ण सन्तुष्ट छैन । तर, मेरो प्रयत्न जारी छ । मलाई विश्वास छ जुन उद्देश्यका लागि जुन घोषणापत्रका साथ आएका हौँ । घोषणापत्रमा छुटेका महŒवपूर्ण विषयहरू पनि केही देखिएका छन् । यी कुरा सबैलाई समेटेर सुन्दर बुटवल, सफा बुटवल, उज्यालो बुटवल र हरियाली बुटवल बनाउनेछौँ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, औद्योगिक व्यवसाय र व्यापारको क्षेत्रमा उत्कृष्ट शहर बनाउनेछौँ । यसमा हामी सबै पक्षसँग समन्वय गरी काम गर्नेछौँ । सहकार्य हाम्रो मूल मुद्दा हो । सहमति, सहकार्य र एकताबाट नै यो लक्ष्य प्राप्त हुन सक्छ । त्यसकारणले सबै राजनीतिक दलहरू, यहाँका सबै जनप्रतिनिधि, संघीय सांसद, प्रदेश सांसद, बुटवलका सबै जनप्रतिनिधि, संघसंस्था क्लबहरू, विभिन्न क्षेत्र सामुदायिक वन, विद्यालय परिवार, टोल समिति सबैसँग लक्ष्यअनुसार सहमतिका आधारमा पिपिई मोडलमा गर्न सकिने कामहरू हामी गर्नेछौँ । हाम्रो प्रमुख प्राथमिकता भने सरकारी विद्यालयको स्तरोन्नति गर्नेछ । यस्तै, अस्पताल व्यवस्थापन, खानेपानी वितरण र मर्मत, सडक स्तरोन्नति, बसपार्क निर्माण, औद्योगिक क्षेत्र, शवदाह गृह निर्माण, सुकुम्बासी व्यवस्थापनमा हामीले काम गरिरहेका छौँ ।
हालै विद्यालयस्तरीय फुटबल, लोकनृत्य प्रतियोगिता सम्पन्न गर्नुभयो, स्थापना दिवस पनि मनाइसक्नुभयो, यसले के सन्देश दिन खोज्नुभएको छ ?
हामी बुटवललाई हरेक क्षेत्रमा अब्बल बनाउन चाहन्छौँ । चाहे त्यो विद्यालय तवरमा होस् वा अन्य क्षेत्रमा । विद्यालयस्तरबाटै खेलाडीहरूको उत्पादन गर्न बुटवलले पहिलोपटक विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न ग¥यो । जातीय र भौगोलिक पहिचानसहितको नेपाली सांस्कृतिक मापदण्डमा रहेर विद्यालयस्तरकै लोकनृत्य प्रतियोगिता सम्पन्न भइसकेको छ । यस्तै, स्थापना दिवसका अवसरमा हामीले विभिन्न क्षेत्रमा अगुवाहरूलाई सम्मान गरेर उहाँहरूलाई पनि नगरको अभिभावकका रूपमा महसुस गराउने प्रयास गरेका छौँ । यसले एकदमै राम्रो सन्देश दिएको छ । देशभर देखिने र बुझिने गरी राष्ट्रपति कप हामीले सम्पन्न गरिसकेका छौँ र हामीले आगामी दिनमा क्रिकेट र बास्केटबलका लागि बजेट छुट्याउनेछौँ । भलिबल, चेस, लनटेनिस, ब्याडमिन्टनलगायत विभिन्न खेलका लागि प्रशस्त बजेट छुट्याइएको छ ।
सडक सौन्दर्यीकरणमा धेरै मिहिनेत भएको देखिन्छ, प्रतिफल कस्तो छ ?
मूलतः योगीकुटीदेखि चिडियाखोलासम्म सडक सौन्दर्यीकरणका लागि यो पटक सबै जाली निर्माण गर्ने, त्यसपछि लाइटिङको व्यवस्थापन गर्ने, सडक रेखांकन गर्नुपर्ने ठाउँहरूमा मार्किङ गर्ने र सडक सौन्दर्यीकरणको कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । अब त्यो कामले फागुनदेखि गति लिएर अगाडि बढेको छ । टेण्डर प्रक्रिया टुंगिएका छन् । सडक सौन्दर्यीकरणका लागि कुन बिरुवाहरू रोप्ने भन्नेबारे अहिले छलफलमा छौँ । नभए त्यसको आकारप्रकार तयार गरी त्यसको व्यवस्थापन गर्नेछौँ ।
तपाईं देखिने गरी काम भइरहेको छ भन्नुहुन्छ अनि मानव संशाधनको विकास पनि गर्ने भन्नुभएको छ, यो के–कस्तो काम हो ?
बुटवललाई सबै क्षेत्रमा अगाडि बढाउने योजनाअनुसार निर्माणमा मात्रै होइन, मानव संशाधनको विकासमा पनि काम गर्ने भनेका छौँ । त्यसअनुसार काम अगाडि बढिरहेका छन् । हामीले सीप सिकाउने, क्षमता विकास गर्ने र उद्यमसँग जोड्ने काम अगाडि बढाएका छौँ । गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत घरमै बस्ने महिलालाई सीपसँग जोड्नेछौँ । पहिलोपटक आठ सय महिलालाई तालिम दिँदैछौँ । तालिम दिएपछि थप तालिम चाहिए पनि तालिम दिनेछौँ । मेयर युवा इलम कार्यक्रम अगाडि बढाएका छौँ । महिला उद्यमशील कार्यक्रम अघि बढाएका छौँ र विशेषगरी ग्रामीण क्षेत्रलाई ध्यानमा राखी भैँसीका पाडी वितरण कार्यक्रम पनि पचास प्रतिशत अनुदानअन्तर्गत यसपटक राखेका छौँ । त्यसकारण बुटवल गाउँका एउटा किसानको घरमा जाँदा उपमहानगरपालिका देखिने, उद्योगी व्यवसायीको घरमा जाँदा उपमहानगरपालिका देखिने, एउटा गिट्टी कुट्दै गरेकी आमाले, एउटा सालको पात बेच्दै गरेकी आमाले, एउटा मकै पोल्दै गरेकी आमाले पनि हाम्रो उपमहानगरपालिका छ भन्ने फिलिङ गरून् भन्ने खोलको बजेटको व्यवस्थापन पनि गरेका छौँ । त्यसकारण सबै वर्ग, सबै जातिका लागि बजेट छुट्याएका छौँ । धेरै मठ, मन्दिर गुम्बा, चर्चमा विभिन्न आवश्यकताअनुसार बजेट विनियोजन गरेका छौँ । त्यसकारण बुटवल उपमहानगरपालिका सबै जाति, धर्म, भाषा, भूगोल, वर्गको प्रतिनिधित्व गर्ने, संरक्षक हुने निकाय हो । अहिले भर्खरै हामीले शिक्षा समिति विस्तार गरेका छौँ । स्थानीय पाठ्यक्रम हाम्रो बुटवलको विषयलाई समिति गठन गरेर कस्ता विषय पठनपाठन, कुन विषय आवश्यक÷अनावश्यक छुट्याएर अगाडि जानेछौँ । गौरवका साथ भन्न चाहन्छौँ, हामीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आम्दा अस्पताललाई थप दुई सय बेडको शिलान्यासका क्रममा ल्यायौँ । यस्तैगरी सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालकै गौरव र बुटवलकै गौरव जितगढी किल्ला नेपाली सेनाबाट हस्तान्तरणको कार्यक्रम हामीले सक्यौँ । राष्ट्रका प्रमुखहरूलाई कार्यक्रमको व्यवस्थापन हुनु बुटवलवासीका लागि गौरवको कुरा हो । जितगढी किल्लालाई थप व्यवस्थापन, जितगढी तिनाउ आरती केन्द्र निर्माणको प्रक्रियामा पहल गरिराखेका छौँ । बुटवल माविदेखि नुवाकोटसम्म पैदलमार्ग निर्माणको पहल गरेका छौँ । सबै क्षेत्र, वर्ग र सबै बुटवलवासीले उपमहानगरपालिका सबैको साझा र अभिभावक हो भन्ने बनाउन प्रयत्नशील छौँ ।
बुटवलमा काम गर्न के–कस्ता अप्ठ्यारा रहेछन् ?
बुटवलको माग ठूलो छ । आर्थिक कुरा सानो छ । यसमा प्रदेश सरकार र संघीय सरकारले प्रत्यक्ष हात नहाल्दासम्म स्थानीय बजेटबाट मात्रै बुटवलको माग सम्बोधन गर्न सक्ने अवस्था छैन । ज्योतिनगर पहिरो, तिनाउ दानव करिडोरबाट विस्थापितहरूको व्यवस्थापनको कुरा उठाएका छौँ । मोतीपुर औद्योगिक क्षेत्रको कुरा उठाएको छु । कृषि व्यावसायिक केन्द्रको कुरा उठाएको छु । बसपार्कको विषय उठाएको छु । यहाँको सौन्दर्यीकरण र व्यवस्थापनको विषय उठाएको छु । हामीले बुटवल चौराहादेखि चिडियाखोलासम्मको सडकको मोडल चेन्ज गर्न खोजेका छौँ । अहिले यो सडक पाइपलाइन मार्ग जस्तो भएको छ । हामी व्यावसायिक मार्ग बनाउन चाहन्छौँ । हाइवेभित्र बाटोमा गाडी रोक्न पाइयोस् । साना व्यवसाय गर्न बाटोमै रमाउने गरी गर्न सक्ने स्थिति होस् । बाटोमा गाडी पार्किङ गर्न नपाएर नेपाल व्यवसायी विस्थापित हुने, विदेशी व्यवसायी मोटाउने नहोस् । यसका लागि हामी चिन्तित छौँ ।
योबाहेक बुटवलले नेतृत्व गर्न खोजेको छ । बुटवलबाट मुक्तिनाथसम्म सडक पूर्णरूपमा निर्माण भइसक्न लागेको छ । यो सडकलाई प्रयोग गर्न सकियो भने बुटवलबाट नाइट बस चढेर दिनभर मुक्तिनाथ घुमेर साँझ फेरि नाइट बस चढेर बुटवल आउने स्थिति निर्माण गरियो भने पक्कै पनि धेरै भारतीय पर्यटक यो बाटोबाट मुक्तिनाथ जाने र फर्किने गर्न सक्नेछन् । उताबाट धेरै मात्रामा बुद्धिष्ट लुम्बिनी आउन सक्नुहुन्छ । एउटै सडकले दुईवटा पर्यटकीय गन्तव्य नेतृत्व गर्न सक्नेछ । दुई देशको सिमानाको व्यापारको नेतृत्व गर्न सक्ने, कालीगण्डकी किनारामा रहेका पुराना धार्मिक र पर्यटकीयस्थल र शालिग्राम दर्शन गर्न पाइने एउटै सडकले पाँचवटा कुराको नेतृत्व गर्न सक्ने सडक सायदै कमै होला यस्तो । बहुउद्देश्यीय सडकलाई तीर्थाटन र आर्थिक क्षेत्रका लागि, नेपालका लागि नयाँ आधार स्तम्भ हुनेछ । त्यसको मूल जरो बुटवल हुन सक्छ र त्यसको नेतृत्व गर्न सक्छ । बुटवलदेखि कोरोला नाकासम्मका जनप्रतिनिधिहरूलाई बुटवलमा जम्मा गरेर हाम्रो सम्भावना र भोलिको भविष्यका बारेमा छलफल गर्ने सोच बनाएका छौँ । त्यसका लागि बजेट पनि छ र बुटवल–नारायणगढ सडक निर्माणको काम ढिलो भएको छ । बुटवल–नारायणगढ सडक खण्डभरिका जनप्रतिनिधि नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलाई राखेर कसरी छिटो गर्न सकिन्छ त्यसका बारेमा छलफल गर्ने प्रयासमा छौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच