दाङका आधा खेत बाँझै

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । दाङमा अझै सम्म पनि ५३ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । समयमा वर्षा नहुँदा खेती हुन नसकेको हो । ढिला गरी सुरु भएको वर्षाका कारणले खेतीमा समेत ढिलाइ भएको छ ।

ढिला वर्षा भएपछि कृषकले समेत ढिला गरेर धानको व्याड राखेका थिए । सिँचाइ सुविधा भएको क्षेत्रमा धान खेती भए पनि अन्य स्थानमा खेती भएको छैन । देउखुरी क्षेत्रमा धान रोपेर पनि गाँज हाल्न थालिसकेको छ । कृषि ज्ञान केन्द्र दाङका अुनसार जिल्लामा हालसम्म ४७ प्रतिशत धान रोपाइँ भएको छ । दाङमा ३९ हजार ४ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने १९ हजार हेक्टरमा सहज रूपमा सिँचाइको सुविधा छ । समयमा पानी नपर्दा जिल्लामा अधिकांश ठाउँमा किसानले धान रोप्न सकेका छैनन् ।

देउखुरी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका धान रोपाइँ करिब सकिएको छ । कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले अधिकांश कृषक धान रोपाइँका लागि खेतमा भएको जानकारी दिदै पछिल्लो वर्षाले कृषकलाई राहत दिएको वताउनुभयो । वर्षाले साथ दियो भने साउनको अन्तिम समम जिल्लामा धान रोपाइँ सकिने अनुमान छ । रोपाइँ गर्नका लागि धानको ब्याड तयार भइसकेको र अब रोपाइँ गर्न मात्र बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

समयमा पानी पर्दा जिल्लामा असारको महिनामै करिब रोपाइँ सकिने गरेको थियो । ढिला रोपाइँ भए पनि यसले उत्पादनमा धेरै असर नगर्ने सूचना अधिकारी तथा कृषि अर्थविज्ञ लामिछानेले वताउनुभयो । ‘अहिले धानको ब्याड छिप्पिएको छैन, यसैले खासै असर गर्दैन’, सूचना अधिकारी लामिछानेले भन्नुभयो, ‘भदौमा राम्रोसँग पानी प¥यो उत्पादनमा असर पर्दैन ।’ तर भदौमा पानी नपरेमा उत्पादन घटने उहाँ बताउनुहुन्छ ।

कृषकहरू भने समयमा धान रोपाइँ गर्न नपाउँदा उत्पादन घट्ने चिन्तामा छन् । समयमा मल नपाउँदा उत्पादन घट्ने हो कि भन्ने चिन्ता पनि उनीहरूमा थपिएको छ । हरेक वर्ष कृषकले मलको लागि समस्या भोग्दै आएका छन् तर समस्याको समाधान भने हुन सकेको छैन । जिल्लामा पछिल्लो समयमा धान खेती हुने खेत समेत प्लटिङ भएर घट्दै गएका छन् । जसले गर्दा उत्पादनमा समेत असर पुग्ने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?