पार्किङ सुविधाको माग गर्दै कानून व्यवसायीहरु आन्दोलित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं जिल्ला अदालत भित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका छन् ।

बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका हुन् । कानून व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापनपत्र समेत बुझाएको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परेका बताउनु भयो । उहाँले पार्किङस्थलमा क्यान्टिन सञ्चालन गरिएको भन्दै क्यान्टिन हटाएर पार्किङ गर्न दिइनुपर्ने बताउनु भयो । अदालतले नक्सा पास बिनाको भवन बनाएर गैर कानूनी काम गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

अर्का एक अधिवक्ताले अदालतभित्रको पार्किङ खुलाउनका लागि पटक पटक आग्रह गर्दा पनि अदालतले नसुनेको बताउनु भयो । उहाँले पार्किङस्थललाई क्यान्टीनका लागि भाडा लगाएर असुली गरिरहेको बताउनु भयो । अधिवक्ताहरुको समस्यालाई नेपाल बार एसोसिएसनले समेत चासो नदेखाएको भन्दै उहाँले बार र बेञ्चको सेटिङ भएको बताउनु भयो ।

काठमाडौं जिल्ला अदालत नेपाल बार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेलले सोमवारदेखि नै जिल्ला अदालतको गेट नम्बर ४ मा कानून व्यवसायीहरुका लागि पार्किङ सुविधा गरिएको बताउनु भयो । उहाँले अण्डरग्राउन्ड पार्किङ पनि छिट्टै खुल्ने बताउनु भयो । समस्या समाधानका लागि अदालत र बार एशोसिएशनबीच सम्वाद भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

आन्दोलित कानून व्यवसायीहरुले पार्किङ खुलाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?