भूटानी शरणार्थी प्रकरणमा मलाई रकम दिएको भन्ने अडियो योजनावद्ध हो : आरजु राणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनावद्ध रुपमा रेकर्ड गरिएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनावद्ध रुपमा रेकर्ड गरिएको बताउनुभएको हो । आरोपितहरुले अदालतमा दिएको बयानमा समेत योजनावद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उहाँले आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको बताउनु भयो ।

उहाँले नेपाल प्रहरीले तथ्यहिन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘त्यो मान्छे केशमा मुछिएकै मान्छे हो । तर उसले जे भनेको छ, त्यो चाहीँ गलत भनेको र उसले आफैपनि स्वीकार गरेको छ कि दुईवटा मान्छेको नाम लिएको छ, एकजना बुढाथोकी र एकजना रेग्मी भन्नेले यो योजनामा मलाई यसो यसो भन भनेर मैले भनेको हो । म उहाँलाई चिन्दिनँ भन्ने उहाँले प्रहरीमा पनि त्यही बयान दिनुभएको छ । र अदालतमा पनि त्यही बयान दिनुभएको छ । अर्कोकुरा मेरो प्रश्नचिन्ह, प्रहरीकोमा भएको टेप जुन ४ गते नै त्यो मान्छेले म उहाँलाई चिन्दिनँ भनेर वैशाख ४ गते उसको बयान रेकर्ड भएको रहेछ । त्यो पनि अदालतमा दिएको डकुमेन्टमा साबित छ । ४ गते उसले म चिन्दिनँ भनेको टेप १६ गते कसरी प्रहरीबाट बाहिर आयो ? यो मेरो लागि पनि ठूलो प्रश्न हो । भोली कसैलाई साजिसमा फसाउने हो भने यो गलत हो भन्ने थाहा पाउँदा पाउँदै किन बाहिर प्रेसमा लिक भयो भन्ने कुरा प्रश्न चिन्ह मेरो मनमा छ । मैले बाहिर आउनुपर्छ भनेको कुरा त कसले बोलेको पो बाहिर आउनुपर्छ भनेको हो । जब उनीहरुलाई थाहा थियो कि यसमा तथ्य छैन भनेर । त्यो किन बाहिर आयो ? तथ्य होइन भनेको कुरालाई किन बाहिर ल्याइयो ?’

उहाँले अमरेशकुमार सिंह बिरुद्ध आफूले मानहानीको मुद्दा दर्ता गराएको प्रसंग निकाल्दै आफूमाथि लगाइएको आरोपहरु पुष्टि गर्न चुनौति समेत दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?