हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गर्ने लगायत यस्ता छन् मन्त्रिपरिषदका निर्णय

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो ।

बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनु भयो ।

त्यसैगरी बैठकले मिटरब्याज सम्बन्धि जाचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको छ । सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा समेत गरेको छ । बरियताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको पनि मन्त्री शर्माले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आज कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने काम भएको छ । अहिले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३ ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ । यो पहिला भन्दा साँढे २ सय रुपैयाँले बढि हो । त्यसै गरेर गृह मन्त्रालयको प्रस्तावमा यो अनुचित लेनदेन, यो मिटरब्याज सम्बन्धि जाँचबुझ आयोग बनेको थियो हाम्रो । त्यो आयोगको म्याद ३ महिना थप गर्ने भन्ने निर्णय गरिएको छ । संघीय निजामती सेवा ऐन अनुसार वरियताको आधारमा लक्ष्मीकुमारी बस्नेत सचिव पदमा बढुवा हुनु भएको छ । त्यसै गरेर आज असाध्य दुखद घटना तपाईहामी सबैलाई थाहा छ–क्याक्सिकोका नागरिकहरु बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । यसप्रति मन्त्रीपरिषद बैठकले सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानविन समिति गठन गरिएको छ ।’

मन्त्रीपरिषद बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य पनि तोकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?