घरघरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । केही दिन अघि म्याग्दीको बेनी नगरपालिका–८जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरे । करिब २ सयको संख्यामा रहेका बाँदरले छानामा राखेको फर्सी समेत छोडेनन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोट र वडा नं २ रुममा बँदेलले खेतबारीमा रजाइँ गर्न थालेको धेरै भयो । गत साता घर भित्र नै बँदेल छिरेर टेकबहादुर विक र मंगल सुनारको परिवारलाई आतंकित बनायो । बेनी–बागलुङ सडकमा चितुवा लगायतका जंगली जनावरहरु गुडिरहेका सवारी साधनमा ठोक्किएर दुईओटा दुर्घटना भए ।

यी म्याग्दीमा जंगली जनावरहरुले दुःख दिएका केही प्रतिनिधिमूलक घटनाहरु मात्र हुन् । म्याग्दीमा विगत दुई वर्ष यता जंगली जनावरको आतंक बढ्दै गएपछि पशुचौपायाँलाई मात्रै होइन मानिसलाई समेत खतरा उत्पन्न भएको छ ।

वन्यजन्तुले खेतीबाली र बाख्रा खान थाले पछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । सडक छेउछाउमा समेत चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । जंगल नजिकका गाउँमा चितुवा, बँदेल, बाघ, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको हो । पछिल्लो सयम चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषकले मार खेप्नुपरेको छ । बाँदर र बँदेलले खेतीबाली त नष्ट गरेको छ नै घरभित्र नै पसेर थन्काएको अन्नसमेत खाइदिएर स्थानीयलाई आतंकित बनाएको मालिका गाउँपालिका १ का तिलमाया पुनले बताउनुभयो ।

“मान्छेलाई नै आक्रमण गर्न खोज्छन्, हाम्रो क्षेत्रमा देखिने बाँदर होइनन्, गाडीमा ल्याएर छोडेजस्तै देखिन्छ’जलेश्वरका इन्द्र बरुवालले भन्नुभयो । उहाँले दैनिकजसो बाँदरको उपद्रो नियन्त्रणका लागि सरोकारवाला निकायलाई समेत सहयोगको अनुरोध गर्नुभएको छ । विगतमा देखिने बाँदर नभई कुनै सहरी क्षेत्रमा र धेरै मान्छेको हुलमुलबाट ल्याएको जस्तै देखिने बरुवालले बताउनुभयो । लखेटेका बाँदर फेरी बस्ती आसपासमा आउने गरेको छ । समूहमा हिँड्ने र बालीनालीलाई सेकेन्डमै सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका छन् ।

जलेश्वर र गलेश्वर क्षेत्रमा देखिएका बाँदरको चरित्र र आनीबानीबारे अनुसन्धान गर्न स्थानीयबासीले जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन् । पहिले जङ्गलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि सर्तकता अपनाउनुपर्ने डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ । फलफुलको सिजनका बाँदर बस्तीतर्फ आउने र आंतक मच्चाउने गरेपनि बाँदर व्यवस्थापनका लागि ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक रहेको छ । धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो । उहाँले बाँदरबाट प्रभावित किसानलाई बाँदरले प्रयोग नगर्ने पेशाहरुलाई समेत रोज्नुपर्ने बताउनुभयो । म्याग्दीका बस्तीमा बाँदरको आंतकले खेतीपाती र फलफुलको सिजनमा किसान चिन्तित हुने गरेका उहाँको भनाइरहेको छ ।

त्यस्तै बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको छ । हुलका हुल आउने बँदेलले एक रातमा नै ठूलो क्षेत्रको आलु खेती बर्बाद गरेको मालिका गाउँपालिका १ का किसान टेकबहादुर पुनले बताउनुभयो । “बाँदर र बँदेलले खेती वाली नष्ट गर्ने क्रम पुरानै भए पनि यो पटक धेरै क्षति पुर्याइरहेको छ ”उहाँले भन्नुभयो “अझ चितुवाले बाख्रासमेत मार्ने क्रम बढ्दा धेरै कृषकले नोक्सानी व्यहोर्नुपरेको छ।"

बाँदर थपाउन खोज्दा उल्टै आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित छन् । बालबालिकालाई समेत आक्रमण गर्ने चिन्ताले स्थानीयलाई सताइरहेको छ । पछिल्लो एकसाता यता बेनी–गलेश्वर सडकखण्ड आसपासका क्षेत्रमा ठूलो संख्यामा भेटिने बाँदर कतैबाट ल्याएर छोडेजस्तै देखिने स्थानीयले बताएका छन् ।
बेनी नगरपालिका ३ लहरेनीका तिला चर्मकारले गाउँमा खेतीबाली र पशुचौपायाँ जंगली जनावरले नष्ट गरिदिन थालेपछि आफूहरु हैरान परेको बताउनुभयो । “दिनमा बाँदरले सताउँछ । राति चितुवा कति बेला खोरमै आएर बाख्रा,कुखुरा लैजान्छ पत्तो नै हुँदैन” उहाँले भन्नुभयो “यो गाउँका हरेकजसो घरका बाख्रा चितुवाले मारेको छ ।"

“जंगल क्षेत्रमा आहारा कम पाएकोले पनि हुन सक्छ जंगली जनावरको बिगबिगी बढेको छ”, डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत सापकोटाले भन्नुभयो । म्याग्दीमा जंगल आसपासका क्षेत्रमा वस्ती विस्तार हुँदा चितुवाको वासस्थान सुरक्षित नहुनु, चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु, चितुवाको प्राकृतिक आनिवानीमा परिवर्तन जस्ता कारणहरुले चितुवा लगाएत जंगली जनावरहरु आक्रामक बन्दै गएका उहाँले बताउनुभयो ।

बनजंगलमा लागेको डढेलोका कारण समेत अहिले वासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुनसक्ने उहाँले बताउनुभयो । म्याग्दीमा चितुवाको संख्या बढेकाले आहाराको खोजीमा चितुवा मानव वस्ती र सडक छेउछाउमा देखिन थालेको पाइएको स्थानीयले बताएका छन्। ग्रामीण क्षेत्रमा लगाइएको हिउँदे र बर्खे बाली जंगली जनावरहरुबाट जोगाउन स्थानीय रातभर जाग्राम बस्न थालेका छन्। जंगली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भए पछि कृषकलाई सास्ती भएको कृषकहरु बताउँछन्।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?