बदलिँदो सोच र वर्तमान शिक्षा

हिमालय टाइम्स
Read Time = 9 mins

इतिहासको प्राचीनकालखण्डदेखि नेपाली भाषा र शिक्षा प्रणाली संस्कृत भाषा अनि परम्परागत अध्ययनप्रणालीबाट प्रभावित रहँदै आएको छ । संस्कृताध्ययन गुरुकुल प्रणालीबाट विकसित बन्दै आएको शिक्षा प्रणाली हो । यसको शैली प्राचीन गुरुकुलबाट अगाडि बढेको हो । अनौपचारिक शैलीमा अगाडि बढ्दै जाँदा बीचबीचमा केही परिवर्तन हुँदै, समयसन्दर्भ र आवश्यकताको सिद्धान्तअनुसार फेरबदल भएर आजको मोडसम्म आइपुगेको छ । अहिलेको विद्यालय शिक्षा र यसका तहहरू पहिलेको भन्दा फरक छन् । कहिले बेलायती शिक्षा प्रणाली त कहिले अमेरिकी प्रणाली ग्रहण गर्दै आउने क्रममा हाल कक्षा एकदेखि कक्षा १२ सम्मको शिक्षा विद्यालय शिक्षाका रूपमा परिभाषित भएको छ । विद्यालय शिक्षाको कक्षा आठसम्म आधारभूत तह र त्यसमाथि माध्यमिक तह मानिएको छ ।

माध्यमिक तहको कक्षा दशको अन्त्यमा एसइई परीक्षा प्रणाली लागू भएको केही वर्ष भयो । राष्ट्रिय परीक्षा बोर्डले लिने यस परीक्षालाई बढी विश्वसनीय मानिन्छ । केही वर्ष पहिलेदेखि यस परीक्षालाई अंक प्रतिशतबाट गरिने मूल्यांकनको सट्टा लेटर ग्रेडिङ गर्ने गरिएको छ । यसो गर्न थालेको छ÷सात वर्ष भइसकेको छ तर नेपालीहरूमा यस बारेको अन्यौल अझै कायमै छ । लेटर ग्रेडिङबाट विद्यार्थीहरूको सफलता प्रतिशत बढी देखाउने प्रयास गरिएको छ तर यसले गर्दा यस तहको परीक्षाको मर्यादा र स्तर चाहिँ खस्किएको जस्तो देखिएको छ । झन् दुई–तीन वर्ष पहिले संसारव्यापी बनेर फैलिएको कोरानाको महामारीका कारण केही प्रक्रिया पु¥याएर सबैलाई उत्तीर्ण गराइयो । यसले गर्दा परीक्षा, परिणाम, प्रमाणपत्रको महत्व र मर्यादा अझै खस्किन पुगेको अनुभव धेरैले गरेको अवस्था छ ।

कोरोनाको महामारी कम भएका कारण गत वर्ष विद्यार्थीहरूलाई भौतिक रूपमा उपस्थित गराएरै एसइई परीक्षा लिइयो । हालै यसको परिणाम आइसकेको छ । वर्षमा सरदर पाँच लाखको संख्यामा एसइई परीक्षामा विद्यार्थीको संलग्नता हुने र प्रायः सबैजसोलाई उत्तीर्ण भएको घोषणा गरिनाले त्यसले निश्चय केही प्रश्नहरू उठ्ने गरेका छन् । हाम्रो शिक्षा प्रणालीमा देखिएको समस्या के हो भने आर्थिक र भौगोलिक जटिलताको विभेद वर्तमान शिक्षा प्रणालीमा स्पष्ट देखा पर्दै आएको छ । शिक्षामा व्यवसायीकरण स्वाभाविक मानिए पनि सरकारी नीतिले समस्या गहिरो बनेको देखिन्छ । सरकारले उचित रूपमा शिक्षा नीति बनाउन नसकेको हुनाले प्रणाली स्थापित हुनसकेको छैन । अनिवार्य रूपमा सरकारले गर्नुपर्ने शैक्षिक आर्थिक व्ययभार लिने सामथ्र्य पनि देखाएको छैन ।

घोषित रूपमा निजी क्षेत्रलाई पूर्णरूपमै बुझाएको नभए पनि सरकारले सञ्चालन गर्दै आएको विद्यालयहरूको अवस्था राम्रो नभएका कारण निजी क्षेत्रका शिक्षण संस्था सशक्त हुँदै आएका छन् । राम्रो, गुणस्तरीय शिक्षा आमनागरिकका सन्ततिको माग हुने गर्छ । सरकारी क्षेत्रले गुणस्तरीय शिक्षा दिन नसक्दा निश्चय पनि निजी क्षेत्रतर्फ आकर्षण हुनु स्वाभाविक हुन्छ । यद्यपि सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको छ तर सामुदायिक विद्यालयहरूको पढाइको स्तर कमजोर भएकाले जे जसरी भए पनि निजी शिक्षण संस्थामा छोराछोरी पढाउनुलाई सबैले आफ्नो लक्ष्य बनाउँदै आएका छन् । यसकारण एकै देशमा दुई प्रकारको शिक्षा हुँदैछ अर्थात् दुई फरक–फरकस्तरमा विद्यार्थी उत्पादन भइरहेका छन् । सरकारी विद्यालयमा निःशुल्क भनिए तापनि नेपालको शिक्षा धेरै महँगो बन्दै गइरहेको छ । हिजो विभिन्न सपना देखाउनेहरू आज सत्तामा पुगेका बेलामा समेत यस सम्बन्धमा केही सोचेको पाइएको छैन ।

नेपालको शिक्षा प्रणाली धनीमैत्री बन्दै गएको छ । राष्ट्रका डाक्टर इन्जिनियरलगायतका गरिमा र गौरवका नागरिकहरू आरक्षणमा परेका तथा केही सीमित संख्याबाहेक धनी वर्गकै छोरछोरीबाट आइरहेका छन् । धन नहुनेहरूले देखासिखी गर्दै घरवास बेचेर वा कठोर परिश्रम गरेर निजी विद्यालयको ढोकामा पुग्नुपर्ने बाध्यता छ । यसले गर्दा धनीहरू नै अझै धनी हुने र गरिब चाहिँ गरिबै रहिरहने अवस्थालाई सरकारबाटै प्रोत्साहन मिलिरहेको देखिन्छ ।

बैंक ऋणबाट सञ्चालित निजी विद्यालयहरू एकातिर महँगो शुल्क कायम गर्न विवश छन् भने अर्कातिर सम्पन्नहरूले खोलेका विद्यालयमा सम्पन्नबाहेक कसैको पनि प्रवेश हुनेगरेको देखिँदैन । तर ती विद्यालयका शिक्षक–कर्मचारीहरू कति सन्तुष्ट छन् त्यो फरक विषय हो ।

अहिलेको गहन प्रश्न भनेको के हो भने यति धेरै संख्यामा उत्तीर्ण हुने विद्यार्थीको उच्च शिक्षाका बारेमा सरकारले के सोचेको छ ? राम्रो विद्यालयमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरूको लक्ष्य समग्रमा विदेश नै छ । प्लस टु सकेर कुनै पनि विद्यार्थीले नेपालमा नै बस्छु वा पढ्छु भनेमा आश्चर्य हुनेछ । यसरी हेर्दा नेपालका स्तरीय शिक्षा दिने विद्यालयहरू विदेशीका लागि शैक्षिक र बौद्धिक जनशक्ति निर्माण केन्द्रमात्रै हुने देखिएको छ । राम्रो शैक्षिक योजना र त्यसको कार्यान्वयको कुनै आधार तयार नगरिएका कारणले नै एसइई गर्नासाथ विदेश जानका लागि खुट्टा उचालेर ती विद्यार्थी बसेका हुन्छन् । जसले गर्दा प्रतिभा पलायनको समस्याबाट समेत हामी गुज्रिँदै आएका छौं, देशका योग्य नागरिकहरूको श्रम र सीप यही कारणले पाउनबाट देश वञ्चित भइरहेको छ ।

हाम्रो देशको पढाइको स्तर भने नराम्रो छैन, राम्रो छ । नेपालबाट पढाइकै सिलसिलामा बाहिर गएका विद्यार्थीहरूले ती देशहरूमा राम्ररी प्रतिस्पर्धा गर्न सकिरहेका छन् र उत्कृष्टता हासिल गर्ने धेरै छन् । यिनै विभिन्न सन्दर्भको उठान गरी तिनमा केही हदसम्म मात्र भए पनि सुधार हुनसकोस् भन्ने उद्देश्यले हिमालय टाइम्स राष्ट्रिय दैनिकले आज विशेषांक प्रकाशन गरेको छ । यस विशेषांकमा केही विद्वानहरूका लेख रचनाहरू तथा शिक्षा क्षेत्रका विद्वानहरूका विचार प्रस्तुत गरेका छौं । यसबाट पक्कै पनि देशलाई, विद्यार्थी तथा अभिभावकलाई समेत केही सहयोग र मार्गदर्शन हुनसक्नेछ भन्ने हामीले विश्वास लिएका छौं । सबैमा शैक्षिक उन्नयनको हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?