आज मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्षको वैशाख कृष्ण औँशीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाउने गरिन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशीर्वाद लिएर यो दिवस मनाउने गरिन्छ ।

मातातीर्थ औँशीका अवसरमा आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने प्रचलन रही आएको छ । यसदिन आमा नभएकाहरूले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । आजको दिनमा दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँशीमा काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ ।

आजको दिन बिहानै उठेर नित्य कर्म गरिसकेपछि आमासँगै हुनेहरूले आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।

आमालाई भेट्न नपाउनेहरूले फोनबाट वा सामाजिक सञ्जालमार्फत आमालाई सम्झिने गर्दछन् । पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान् कष्ट र पूर्ण कामहरूको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउनुहुन्छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?