सुदूरपश्चिम पुनर्वासमा जन्मिनुभएका अशोक विक यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोतामाझ पस्किरहनुभएको छ । उहाँले निर्देशन गर्नुभएका धेरै गीत दर्शकमाझ लोकप्रिय छन् । कुनै पनि गीत सफल र लोकप्रिय हुनका लागि जति संगीतकार, गीतकार, गायक/गायिका, एरेञ्जरको भूमिका रहन्छ भिडियोतर्फ निर्देशकको भूमिका पनि त्यतिकै महत्वपूर्ण रहेको उहाँको भनाइ छ । कुनै पनि गीतलाई, कथालाई वस्तु परक ढंगले पात्रहरूद्वारा जीवन्तता दिनसक्नु निर्देशन हो भन्नुहुने अशोक विकसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-
यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
म म्युजिक भिडियोतिर व्यस्त छु । केही प्रोग्राम गरिरहेको हुन्छु ।
यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मेरो दाइ मेरो जेठा बुबाको छोरा गायक बन्छु भनेर काठमाडौं आउनुभएको थियो । म पनि पहिलैदेखि कलाकार हुनुपर्छ भनेर सोच बोकेर हिँडेको । दाजु काठमाडौं आएको एक वर्ष भएको थियो । दाइ यहाँ एक्लै भएका कारण मलाई बोलाउनुभयो । काठमाडौं आएपछि आफ्नो उद्देश्यतिर लाग्नुपर्छ भनेर नृत्य सिकाउने ठाउँ खोज्दै जाँदा कृष्ण फिल्मस्मा पुगेँ । धेरै जनासँग परिचय हुँदै गयो । यसरी म यो क्षेत्रमा प्रवेश गरेँ ।
यहाँले हालसम्म कतिजति आफ्ना प्रस्तुति ल्याउनुभयो ?
मैले गरेका कामको संख्या भनुपर्दा ६२१ जति रहेको छ
यो क्षेत्रमै लाग्नुको कारण ? यो क्षेत्रमा लागेर के पाए जस्तो लाग्छ ?
मेरो सानैदेखि नृत्यक्षेत्रमा विशेष लगाव थियो र यो क्षेत्रमा आए । एउटा सफल नृत्य निर्देशक बन्छु भन्ने थियो । यो क्षेत्रमा लागेर पैसाका साथै नाम र इज्जत पाएको छु कि !
निर्देशन गर्दा कत्तिको चुनौती आउँछन् ?
निर्देशन गर्दा चुनौती छ । त्यसो त हरेक फिल्डमा चुनौती आउँछन् । आफ्ना हरेक प्रस्तुतिमा अझ राम्रो कसरी गर्ने भन्ने हुन्छ ।
कुनै पनि गीत सफल हुन निर्देशको कस्तो भूमिका हुन्छ ?
कुनै पनि गीत सफल हुन, लोकप्रिय हुनका लागि जति संगीतकार, गीतकार, गायक/गायिका, एरेञ्जरको भूमिका रहन्छ भिडियोतर्फ निर्देशकको भूमिका पनि त्यतिकै महत्वपूर्ण हुन्छ । यो सामूहिक काम हो । सबैले राम्रो गर्नसक्दामात्र एउटा राम्रो प्रस्तुति श्रोता/दर्शकमाझ आउँछ । गीतको भावअनुसार त्यसलाई प्रस्तुत गर्नसक्ने खुबी निर्देशकमा हुनुपर्छ भन्ने लाग्छ ।
अशोक विक को हो ?
अशोक विक साधारण व्यक्ति हो । सबैसँग मिल्न सक्ने व्यक्ति, जस्तोसुकै परिस्थितिलाई पनि स्वीकार गर्नसक्ने व्यक्ति हो जस्तो लाग्छ आफैंले आफैंलाई भन्नुपर्दा ।
लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, कस्तो पाउनुभयो ?
हो, म केही समयदेखि यो क्षेत्रमा छु । राम्रै भइरहेको छ । राम्रा-राम्रा काम गर्ने अवसर जुरेको छ । सबैको साथ सहयोग र मिहिनेतले राम्रै भइरहेको छ भन्नुपर्ला । कस्तो पाउनुभयो भन्नाले सबै क्षेत्रमा राम्रा र नराम्रा पक्ष त हुन्छन् । हामीले राम्रा पक्षलाई लिएर अघि बढ्ने हो ।
तपाईंको पहिलो काम कति वर्षअगाडि थियो ?
मेरो पहिलो प्रस्तुति आठ वर्षअघि थियो ।
चलचित्र क्षेत्रमा पनि हुनुहुन्छ ?
हो, केही चलचित्रमा नृत्य निर्देशन गरेको छु ।
यहाँले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न मान-सम्मान र पुरस्कार प्राप्त गरिरहनुभएको छ नि ?
हो, यहाँले भनेजस्तै मलाई मेरा कार्यको कदर गर्दै विभिन्न मान-सम्मान र पुरस्कार प्राप्त भइरहेका छन् । स्पर्श म्युजिक भिडियो अवार्ड, ओएस नेपाल अवार्ड, संगीत उद्योग संघबाट इपिक अवार्ड, बक्स सम्मानलगायत प्राप्त भएका छन् ।
हालको समयसम्म आइपुग्दा यहाँले धेरै गीतमा आफ्नो निर्देशकीय कौशल प्रस्तुत गर्नुभएको छ, तर आफूलाई निर्देशक भनेर कुन गीतले चिनायो भन्ने लाग्छ ?
हो, यहाँले भनेजस्तै मैले धेरै गीतमा निर्देशनमा गरेको छु । अधिकांश गीतले श्रोता/दर्शकको माया पाउन सफल भएका छन् । मलाई निर्देशक भनेर चिनाउने गीतमा ती सबै छन् । तर केहीको नाम लिनुपर्दा ‘जाउँला कान्छी, जल जला, सुन छहरी’ लगायत छन् ।
यहाँ पूर्णरूपमा नेपाली कलाक्षेत्रमा समर्पित मान्छे नढाटिकन भन्नुपर्दा यो क्षेत्रमा पूर्णकालीन भएर जीविकोपार्जनमा कत्तिको कठिन छ ?
राम्रोसँग चलेकालाई राम्रै छ नचलेकालाई गाह्रो छ होला । मेरो कुरा गर्नुपर्दा नेपाली कलाक्षेत्रबाहेक मेरो अन्य कुनै काम छैन । कतिपयले अन्य कारोबार गरिरहेको पाइन्छ । मैले यो क्षेत्रबाहेक अरू केही सोचिनँ ।
निर्देशन गर्न कतिको गाह्रो काम हो ?
निर्देशन भनेको चलचित्रको टिम क्याप्टेन हो । एउटा राम्रो प्रस्तुति श्रोतासम्म आइपुग्नका लागि सम्पूर्ण टिमको उतिकै मिहिनेत जरुरी हुन्छ । तर, पनि के हो भने टिम क्याप्टेन भएपछि उसले सबै कुरालाई ध्यान दिनु जरुरी हुन्छ । निर्देशकसँग प्रशस्त तत् सम्बन्धी ज्ञान तथा अनुभव हुनुपर्छ भन्ने लाग्छ, मलाई एक्सन कटमात्र निर्देशन होइन ।
निर्देशन के हो ?
एउटा मुक कथालाई जीवन्त बनाउने शैली हो निर्देशन । यसभित्र थुप्रै पाटा हुन्छन् । तथापि कुनै पनि गीतलाई, कथालाई वस्तु परक ढंगले पात्रहरूद्वारा जीवन्तता दिनसक्नु निर्देशन हो । एउटा राम्रो निर्देशकभित्र नयाँ-नयाँ कुरा दिनसक्ने खुबी हुनुपर्छ । नवीन कला हुनुपर्छ ।
नेपाली कला क्षेत्रको अहिलेको अवस्था कस्तो छ ?
पहिलेभन्दा सुधारिएर गएको महसुस गर्छु । हाम्रा प्रस्तुति पनि स्तरीय बन्नेक्रम बढेको छ । निक्कै सिर्जनशील काम थालेका छन् अहिले । यसको बजार विस्तार भइरहेको छ । अहिले देशमात्र होइन विदेशमा पनि यसको लगाव बढेर गएको छ । यो सुखद् पक्ष हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच