बीपी विचार र नेपाली कांग्रेस

Read Time = 15 mins

✍️ स्वयम्भुनाथ कार्की

अहिलेसम्म नेपाली कांग्रेसको निमित्त बीपी विचार सबैभन्दा महत्वपूर्ण तत्व हो । यो कुरा स्वाभाविक हो, त्यसैले यसलाई धेरै चर्चा गर्न पनि आवश्यक छैन । तैपनि यो विषय भने हाल चासोको केन्द्र बनेको छ । कांग्रेसजनको निमित्त त चासो हुने नै भयो तर कांग्रेसमा आस्था नभएकाको पनि यसमा चासो पलाएको छ । यो चासोको कारण भने सामान्य छ । त्यो हो विभिन्न परस्परविरोधी विचार राखेर पनि कांग्रेसजन त्यसलाई बीपी विचार भन्ने गर्दछन् । कुनै पनि पार्टी सिद्धान्त र विचारको जगमा उभिएको हुन्छ । आ-आफ्नो रोजाइअनुसार कुनै पनि पार्टी रोज्ने वा नरोज्ने नागरिकको इच्छा र अधिकार हो ।

त्यस्तै कुनै पनि पार्टी नरोज्ने, सामान्य समर्थक (मतदाता) हुने वा समर्पित भएर लाग्ने पनि नागरिकको स्वेच्छामा भर पर्छ । त्यस्तै कुनै सिद्धान्त वा विचार मान्ने नमान्ने पनि स्वतन्त्रता छ तर यो स्वतन्त्रता कुनै दलमा समर्पित भएर लाग्नेहरूलाई छैन । कि त आफू सदस्य भएको दल छोड्नुपर्छ कि त्यो दलको सिद्धान्त र विचार मान्नै पर्दछ । कुनै पनि राजनीतिज्ञले आफ्नो विचार वा सिद्धान्त एकै स्थानमा लिपिबद्ध गरेका हुँदैनन् । उनीहरू सधैं कार्यक्षेत्रमै हुन्छन् । त्यसैले अन्तिम अवस्थासम्म पनि परिष्कार गर्ने प्रयत्न गरिरहेका हुन्छन् । नित्य त्यसको विविध व्याख्या गरिरहेका हुन्छन् ।

त्यसैले आफ्नो कुरा वा इतिवृत्तान्त लिपिबद्ध गर्ने फुर्सद हुँदैन । त्यसैले जति पनि राजनीतिज्ञहरूको यस प्रकारका लेखन उपलब्ध छन् ती सबैजसो कारागार या नजरबन्दमा लेखिएको पाइन्छ । स्वतन्त्रताको हनन् भएको अनुभूतिले यस्ता लेखनमा कहिले प्रभाव पार्छ कहिले पार्दैन । आफू पात्र नभएको कुरा लेख्दा प्रभाव पर्दैन नत्र प्रभाव पर्छ वा प्रभाव पर्न सक्छ । किनभने आफ्नो बारेमा लेख्दा आफैँले देखेको मात्र लेखिन्छ । त्यसमा सहयोगीले देखेको आफू, प्रतिद्वन्द्वीले देखेको आफू समावेश हुन अपवादमा बाहेक सम्भव छैन ।

कुनै विचार रणनीतिक हो वा ठोस हो भनेर जान्न पात्रद्वारा सम्पादन गरिएका कामसँग त्यस अभिव्यक्तिले मेल खाएको छ कि छैन निक्र्यौल गर्नुपर्दछ । बीपीको सिद्धान्त र विचारका बारेमा पनि यही नियम लागू हुन्छ ।

यस कुरामा बीपी पनि अपवाद थिएनन् । उनी नेपाली कांग्रेसको इतिहास लेख्न चाहान्थे तर सुरु गर्न सकेनन् । कारण जतिखेर उनी सुन्दरीजलमा बन्दी थिए त्यो समय कांग्रेसको इतिहास लेख्ने होइन बनाउने बेला थियो । आत्मकथा लेख्न सुरु गरेर पनि छोडेको कारण आत्मबृत्तान्तको सुरुको दोस्रो अनुच्छेदमा छ । उनी भन्छन्, ‘मलाई लाग्दछ, अझ त्यो समय आइसकेको छैन कि म आफ्नो बारेमा लेखौं । मलाई निरन्तर के लागिरहृयो भने मेरो काम बा“की नै छ’ । त्यसैले बीपीको सिद्धान्त र विचारका बारेमा एकै स्थानमा सामग्री उपलब्ध छैन र हुन पनि सक्दैन ।

यो काम जीवनकालमै साथ रहेका सहयोगीहरूले लिपिबद्ध गर्दै गएर त्यसलाई सम्बन्धितलाई देखाएर आवश्यक परिमार्जन गरेरमात्र सम्भव हुन्छ । त्यसै पनि सक्रिय जीवनमा कसैको सिद्धान्त र विचारले यो संज्ञा पाउने हैसियत पाएको हुँदैन । त्यो त सक्रिय जीवनको विश्रामपछि मात्र सम्भव छ । कसैको सम्पूर्ण जीवनको अध्ययन गरेर, विभिन्न समय र परिस्थितिमा व्यक्त गरेका विचार संकलन गरेरमात्र कसैको विचार यो हो भनेर भन्न सकिन्छ । त्यसमा कतिपय अभिव्यक्तिहरू रणनीतिक हुन सक्छन् । कुनै विचार रणनीतिक हो वा ठोस हो भनेर जान्न पात्रद्वारा सम्पादन गरिएका कामसँग त्यस अभिव्यक्तिले मेल खाएको छ कि छैन निक्र्यौल गर्नु पर्दछ ।

बीपीको सिद्धान्त र विचारका बारेमा पनि यही नियम लागू हुन्छ । उनको परिवार, सहयोगी आदिसँग गरिएका कुराकानी, देखाइएका व्यवहार सूचनाका अमूल्य स्रोत हुन् । निश्चय नै यस्ता कुराहरू स्नेह गरिएका पारिवारिक सदस्यलाई ज्यादा थाहा हुन्छ । कतिपय कुरा, आफ्ना द्विविधा सहयोगी, समर्थकलाई भनिने गरिँदैन न मानसिक पीडा वा उद्वेग नै परिवारबाहिर जान्छन् । कति कुरा मान्छेले आपैंmमा सीमित पनि राख्छ तर पनि साथ रहने परिवारको सदस्यले त्यसको अनुभूति गर्दछ ।

नेपाली कांग्रेसमा विचारक तथा चिन्तकहरूको कमी छैन । बीपीको जीवनकालमा सानिध्य पाउनेहरूको पनि लामै लर्को छ । सबैको व्याख्या एक समान छैन, एक समान नभएको मात्र होइन कुनै कुनै व्याख्या त परस्परविरोधी छन् । यस्तोमा बीपी सानिध्य पाउन वञ्चित युवा अनि स्वतन्त्र व्यक्तिले पनि बीपीको विचार र सिद्धान्त लिपिबद्ध भएको प्रामाणिक दस्ताबेज खोज्न थालेका छन् । यसको अर्थ अब वास्तविक पुराना पुस्ताका विचारक, चिन्तक वा नेताहरूको व्याख्या आँखा चिम्लेर स्वीकार गर्ने सोचमा नयाँ पुस्ता छैन ।

यहाँ भन्न खोजिएको नयाँ पुस्ताले चाहीँ यो विचार र सिद्धान्तको कुरा पछि जानेसुनेका हुन् यसमा उमेरको महत्व छैन । बीपीको मृत्युपछि उनको विचार र सिद्धान्तको बखान गर्ने धेरै निस्किए । बीपी अध्ययनको निमित्त संघ संगठन पनि खुले तर अपवाद छोडेर सबैजसोको प्रयत्न आफ्ना कुरालाई कसरी बीपी विचार भनेर प्रक्षेपित गर्न सकिन्छ भन्ने नै रहृयो । बीपीका बारेमा अनगिन्ती प्रवचनहरू भए । ती प्रवचनहरूमा चना खाएर जीवन धानेको, बन्दी जीवनको कष्ट भोगेको जस्ता कुराहरूमात्र बारम्बार भए । आफूलाई स्नेह गरेको सँगै बिताएका पलको सम्झनामा नै यस्ता प्रवचनहरू सीमित भए ।

उसै पनि बीपीले लेखेर बोलेर व्यक्त गरेका उद्गार पनि आफूअनुकूल भएका मात्र उल्लेख गरिने गर्दछ । उनका परस्पर विरोधी जस्तो लाग्ने उद्गारहरूको विवेचन आवश्यक थियो । उनले गरेका कामहरू र त्यससँग मिलेका उद्गार अनि नमिलेका भनाइहरू नकेलाई नयाँ पिँडीले खोजेको जस्तो सिद्धान्त र विचारको संकलन बन्दैन । यो क्रममा बीपीको बोली रेकर्ड गरेर त्यसलाई सम्पादन र प्रस्तुत गर्ने गणेशराज शर्माको प्रयत्न अद्वितीय छ । जीवनको अन्ततिर आफ्नो अन्तिम समय भएको अनुभूति भएर व्यक्त गरिएका ती कुराहरूले बास्तवमै उनको विचार र सिद्धान्तको अपेक्षाकृत सही अनुमान गर्न सकिन्छ ।

यसअनुसार मोटामोटी देखिएको बीपी विचारको रूपरेखाभन्दा गिरिजाप्रसाद कोइरालाले लिएको बाटोको ठीक उल्टो देखिन्छ । उत्तराधिकार सम्हालेका भाइले लिएको बाटो नयाँ पिँढीका कांग्रेसजन बीपीको विचारसँग मेल खाएको देख्दैनन् । जहाँ भाइको रूपमा सहयोगी भएर गिरिजाले बीपीलाई अध्ययन गरे त्यही उनका छोराछोरी अनि स्नेह गरिएकी भान्जीको अध्ययन पनि छ । पार्टीमा अविछिञ्न अभिन्न भएर साथ दिँदै रगत पसिना बगाएका गणेशमानजी, किशुनजीले गिरिजाप्रसादभन्दा ज्यादा बीपी बुझेका थिएनन् भन्ने आधार छैन ।

गिरिजाप्रसादको हात पर्ने बित्तिकै जसरी पार्टीबाट बीपी बुझेका अरूहरूको प्रभाव हटाइयो त्यसले त्यही बेलादेखि नेपाली कांग्रेसमा वास्तविक बीपी विचार समाप्त भयो र त्यही नाममा गिरिजा विचार हावी भयो भन्ने अड्कल गर्न कुनै कठिन कुरा होइन । केही स्पष्ट विरोधाभाषको चर्चा गर्नैपर्ने हुन्छ ।

बीपी विचार बुझ्न धेरै सहायता गर्ने दस्तबेजको रूपमा अन्यमा इमानदारीपूर्वक भविष्यलाई सुम्पेको उनको बोलीमा आधारित किताप ‘आत्मवृत्तान्त’ हो । यसमा उल्लेखित अभिव्यक्ति, विवरणहरू अन्य स्थानमा पनि आएका कुराहरूसँग भिडाएर हेर्दा मोटामोटी रूपरेखा बन्छ । बीपीमा बहुदलमात्र होइन त्यसमा बहुविचार पनि हुनुपर्दछ भन्ने सोच भेटिन्छ । बेलाबेलामा गणेशमानजी र किशुनजीले आफ्नो कुराको विरोध गरेका प्रसंग छन् । बीपीले व्यवहारमै ती फरक मतको सम्मान गरेका छन् निषेध गरेका छैनन् तर गिरिजाप्रसादले सामान्य मतभिन्नता पनि सहन गर्न नसक्ने स्वभाव र काम प्रसस्त देखाएका छन् ।

सहकार्य हुनसक्छ तर सिद्धान्त छोडेर सहमति गरिनु हुँदैन भन्ने कुरामा बीपी हमेशा अडिग रहे । गोर्खादलका भरतशमशेरसँग पनि सहकार्य गर्न हिच्किचाएनन् तर सहमतिको नाममा आफ्नो सिद्धान्त छोडेनन् । गिरिजाप्रसादले सहमतिको नाममा नेपाली कांग्रेसको आधारभूत कुरामात्र छोडेनन् संस्थापक सदस्यता पनि त्यागे । राजाले बेलायती राजदूतमार्फत बीपीलाई संविधान आफैँ बनाएर सत्तामा सहभागी हुने प्रस्तव गरे । उनले आफूलाई प्राप्त मौकाको निमित्त एक्लै निर्णय गरेनन् साथीहरूको निर्णयलाई प्रमुख माने र सुवर्णजीसँग कुरा गर्नुपर्दछ भने । एक्लै निर्णय गर्ने र पदको निमित्त सहयोगीहरूलाई प्रहार गर्ने गिरिजाप्रसादको पद्धतिको मार भोग्नेहरू छँदैछन् ।

बीपी विचार बुझ्न धेरै सहायता गर्ने दस्तबेजको रूपमा अन्यमा इमानदारीपूर्वक भविष्यलाई सुम्पेको उनको बोलीमा आधारित किताप ‘आत्मवृत्तान्त’ हो । यसमा उल्लेखित अभिव्यक्ति, विवरण अन्य स्थानमा पनि आएका कुरासँग भिडाएर हेर्दा मोटामोटी रूपरेखा बन्छ ।

बीपीले मुलुकको हितको निमित्त, मुलुक जोडेर राख्न आवश्यक पर्ने कुरा आफूलाई मन परे/नपरे पनि हुनै पर्दछ भन्ने विचार र कार्यनीति राखे । संघर्षबाट निक्लेका राम्रा कुराले मुलुुकको भलो हुन्छ त्यसैले आफूलाई बाधा भयो भन्दैमा केही भत्काउन हुँदैन भन्ने उनको विचारको विपरीत गिरिजाको आफ्नो बाटो निष्कंटक बनाउने नीति रहृयो । यी विवेचनहरू आधारहीन लाग्न सक्छन्, त्यो स्वाभाविक हो र बहुलवादको अनुकूल हो ।

यस्ता कुराहरूको विवेचन गरेर खार्ने जिम्मा बीपी अध्ययनका निमित्त गठित संघसंस्थाको हो । यो आलेखको प्रयोजन त केवल यतिमात्र हो कि यो भविष्यमा पैदा हुन सक्ने बहसका केही बुँदा सामुन्ने आऊन् । कसैले चाहे नचाहे पनि यो बहस अब ढिलो छिटो नेपाली कांग्रेसभित्र आरम्भ हुन्छ नै । त्यसैले कांग्रेसजनले बीपी विचार र नेपाली कांगे्रसको यो अन्तरसम्बन्ध केलाउन आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?