बिजबेल र बिडब्लुआईबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जलविद्युत् विकासमा अग्रसर निजी क्षेत्रको कम्पनी बिजबेल प्रालि र जलस्रोत क्षेत्रमा कार्यरत ब्ल्यू वाटर इन्टेलिजेन्स (बिडब्लुआई) नामक फ्रेन्च कम्पनीबीच पेरिसमा रणनीतिक साझेदारीमा सम्झौता भएको छ ।

सम्झौतामा बिजबेलका संस्थापक सुशील पोखरेल र बिडब्लुआईका प्रमुख कार्यकारी अधिकृत जेरेमी फयानले हस्ताक्षर गर्नुभएको छ ।

नेपालको जलस्रोत विकास तथा पूर्वानुमानका क्षेत्रमा सम्झौता कोशेढुंगा साबित हुने विश्वास गरिएको छ । जसले पानीको अध्ययन, अनुगमन र संरक्षणमा बढ्दै गएको चुनौती सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ ।

सम्झौतापछि बिजबेलका संस्थापक पोखरेलले बिडब्लुआईको उच्च आधुनिक प्रविधिबाट नेपालका नदीमा प्रवाह हुने हाइड्रोलोजीको सही मापन गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसबाट हामीले हाइड्रोलोजीको सही तथ्यांक प्राप्त गर्न सक्नेछौँ, जसले वास्तविक ऊर्जा उत्पादनको सही प्रक्षेपण गर्न ठूलो मद्दत पुग्नेछ, यसबाट विद्युत् खरिदकर्तालाई समेत आफूले प्राप्त गर्ने विद्युत्को लेखाजोखा गर्न सहयोग पुग्छ ।’

बिडब्लुआईका प्रमुख कार्यकारी अधिकृत फयानले नेपालको जलविद्युत् क्षेत्रमा काम गरिरहेको लोकप्रिय कम्पनीसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गर्दै दक्षिण एसियामा जनसांख्यिक वृद्धिका कारण सामाजिक संकट टार्न जलविद्युत् विकास अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जलविद्युत् एक नवीकरणीय ऊर्जा भएको हुँदा यस क्षेत्रको विकासमा बिजबेलको समेत आफ्नै विज्ञता छ, जुन दिगो क्षेत्रीय विकासको महत्वपूर्ण कडी हुन सक्छ, बिजबेलसँग जोडिएर दक्षिण एसियाको स्वच्छ ऊर्जामा काम गर्न पाउनु हाम्रा लागि पनि सुखद पक्ष हो ।’ नेपालपछि बिजबेलसँगको साझेदारीमा अफ्रिकी देशमा जलविद्युत् विकास गर्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?