काजिमान हरिटीका स्कुलमा बस, पुतलीबजारका मेयरद्वारा उद्घाटन

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 5 mins

स्याङ्जा जिल्लाको पुतलीबजार ३ मा अवस्थित काजिमान हरिटीका माध्यमिक विद्यालयको नयाँ बसको पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीद्वारा आज औपचारिक उद्घाटन गरिएको छ ।

विद्यालय बसको पूजा गरी रिबन काटेर मेयर रेग्मीले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले काजिमान हरिटीका माविले छोटो समयमा गरेको प्रगतिले अरु विद्यालयलाई पनि प्रेरणा मिलिरहेको बताउँदै आगामी दिनमा पनि काजिमान हरिटीका माध्यमिक विद्यालयलाई नगरपालिकाको साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘गरे हुँदो रहेछ भन्ने उदाहरण काजिमान स्कुलको टिमले प्रस्तुत गरेको छ । राम्रो गर्नेबाट सबैले सिक्नुपर्छ ।’ उहाँले विद्यालयका संस्थापक काजीमान श्रेष्ठ र हरिकुमारी तथा टिकाकुमारीहरुलाई स्मरण गर्दै यस कार्यमा पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ तथा मेखलाल श्रेष्ठको विशेष योगदान रहेको बताउनुभयो ।

विद्यालय बसका लागि नगरपालिकाले रु ५ लाख सहयोग गरेको थियो भने गण्डकी प्रदेशद्वारा रु १० लाख रकम अनुदान तथा अन्य रकम सहयोगबाट उठाइएको थियो । स्याङ्जा जिल्लामा जीवनज्योति माध्यमिक विद्यालय बिरुवा र काजिमान हरिटीका माध्यमिक विद्यालय पुतलीबजार गरी दुई वटा विद्यालयले यस वर्षको लागि गण्डकी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालयबाट तत्कालीन मन्त्री मेखलाल श्रेष्ठको विशेष पहलमा अनुदान प्राप्त गरेका हुन् ।

त्यस्तै उपप्रमुख देवी अर्यालले अध्यक्ष र हेडसरमात्र सक्रिय भएर विद्यालय नबन्ने भएकाले सबै जनाको टिम मिलेमात्र विद्यालय अगाडि बढ्न सक्छ भन्ने कुरा काजिमानले देखाएको बताउनुभयो । व्यवस्थापन समिति अध्यक्ष ई.अनुप श्रेष्ठले विद्यालयमा नेतृत्व आफ्नो भए पनि विद्यार्थी सङ्ख्या बढाउन तथा विद्यालयको वातावरण राम्रो बनाउन सबैभन्दा बढी हेडसर र शिक्षकहरुको मिहिनेत परेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘विद्यालयमा पछिल्लो परिवर्तनको सुरुवात गर्न नगरपालिका प्रमुखको विशेष सहयोग छ । प्रअको मिहिनेत छ । त्यो भन्दा बढी यस विद्यालयका शिक्षक साथीहरुको लगाव छ ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो–शिक्षकहरु रातदिन विद्यालयमा खट्नुभएको छ । शनिबार भन्नुभएको छैन । वर्षे विदा भन्नुभएको छैन । उहाँहरुको मिहिनेतको प्रशंसा गर्ने शब्द छैन ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु चिजा गुरुङ, कमला कुमाल, सर्मिला कुमाल, शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र गिरी सदस्यहरु विश्व मरासिनी, लालप्रसाद श्रेष्ठ, लक्ष्मी प्रधान, पवित्रा शर्मा, विद्यालयका अति विशिष्ट आजीवन सदस्य रङगनाथ रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष ई.अनुप श्रेष्ठले गर्नुभएको थियो भने प्रअ ऋषिराम शर्माद्वारा स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन सूचना अधिकारी युवराज पौडेलले गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?