एउटै घरीमा सात सय कोसा केरा : १४ रोपनी जग्गामा केरा खेती

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीका एक कृषकले १४ रोपनी जग्गामा गरेको व्यवसायिक केराखेतीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ ।

जिल्लाको बेनी नगरपालिका–२ खबराका कृषक सोभित सापकेटाले सापकोटा कृषि फर्म नै दर्ता गरी सुरु गरेको व्यावसायिक केरा खेती अहिले जिल्लाकै नमुना केरा खेती बनेको छ । उहाँको फर्ममा रहेका केराको एउटै बोट (घारी) मा सात सय बढी कोसा लागेका छन् ।

१४ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । सापकोटाको देखासिकीपछि परम्परागत खाद्यबालीको विकल्पमा यस गाउँका धेरै किसान खेतबारीमा व्यावसायिक केरा खेती गर्न आकर्षित भएका छन् । दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उहाँले गाउँमा नै पक्की घरसमेत बताउनुभएको छ ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले अन्य किसानहरु पनि व्यावसायिक केरा खेती गर्नेतर्फ उत्साहित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुने हुँदा बजारको समस्या नभएको सापकोटा बताउनुहुन्छ । बजारमा खबराको केराको ‘ब्रान्ड’ नै बनेको उहाँको भनाइ छ ।

कृषि पेसामा नै लागेर निर्वाहमुखी ढङ्गले गुजारा चलाउँदै यहाँका बासिन्दाको अहिले आर्थिक अवस्थामा निकै सुधार आएको छ । खबराका १६० घरधुरी किसानले केरा खेतीबाट वार्षिक रुपमा डेढ करोड रुपियाँ गाउँमा भित्र्याउने गरेका छन् ।

खबरामा केरी खेतीको सुरुआत २० वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बासिन्दाले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ ।

थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले व्यावसायिक रुपमा केरा खेती थालेका हुन् । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन् । खबराका प्रत्येक घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेका छन् ।

खबराका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्न सकेको देखेपछि छिमेकी बगरफाँटका किसानले पनि व्यावसायिक केरा खेती गर्न थालेका छन् ।
“धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ” सापकोटाले भन्नुभयो “१४ रोपनी जमिनमा केराखेती गरेका छौँ, वार्षिक रुपमा १० लाख रुपियाँसम्म आम्दानी हुन्छ ।” उत्पादन भएको केरा घरबाटै बिक्री हुने सापकोटाले बताउनुभयो । “केरा लिन बेनीदेखि व्यवसायीहरु घरमै आउँछन्, राम्रो कोसाको प्रतिदर्जन १२० रुपियाँमा बिक्री हुन्छ ”उहाँले भन्नुभयो ।

त्यस्तै खबराकै अर्का कृषक हरि कुँवरले पनि १० रोपनी जमिनमा केरा खेती गर्नुभएको छ । केरा बिक्री गरेर वार्षिक रुपमा छ लाख रुपैयाँ जति आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
“राम्रो भयो भने केराको एक घरीमा ७०० देखि ८०० सम्म कोसा हुन्छन्,” उहाँले भन्नुभयाे, “एक घरीको चार हजार २०० रुपियाँसम्म बिक्री गरेको छु” उहाँले भन्नुभयो ।

केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्साहरु सबैतिर केरा खेतीले छपक्कै ढाकेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

बेनी नगरपालिका–२ खबरा, बगरफाँट, रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइएको छ । नगर तथा गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रममार्फत यहाँका ३०० बढी कृषकले व्यावसायिक रुपमा केरा खेती गरेका छन् ।

कृषक शोभित सापकोटाले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीको लहर चलेको बताउनुभयो ।

ज्यामरुककोटका एक कृषकले एक हजारदेखि पाँच हजारसम्म केराका बिरुवा रोपेका छन् । कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि ज्यामरुककोटलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बेनी नगरपालिका–२ का अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?