धनगढीमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’बाट ३७ हजार बढी बिरामी लाभान्वित

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

कैलाली । धनगढी उपमहानगरपालिकाले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सुरु भएको ठिक एक वर्ष भएको छ । २०७९ श्रावण १ गतेबाट तालिका अनुसार सञ्चालित विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सुरु भएको सोमबार अर्थात २०८० श्रावण १ गते एक बर्ष पुगेको छ । गत वर्ष धनगढीको वडा नम्बर १९ बाट ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’को शुभारम्भ गरिएको थियो । क्लिनिकमा एक वर्षको अवधिमा ३७ हजार तीन सय बिरामीले विशेषज्ञ सेवा पाएका छन् ।

विशेषज्ञ चिकित्सकीय सेवाका लागि धनगढीस्थित सेती अस्पताल आउनुपर्ने बाध्यता छ । नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला कुमारी रानाले चुनावी एजेन्डामै ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सेवा सुरु गर्ने कार्यक्रम राख्नु भएको थियो ।  उपमहानगरको नीति र कार्यक्रममा प्राथमिक योजनामा रहेको वडा क्लिनिक सेवा गत आथिक वर्षको पहिलो दिनमा नगरप्रमुख हमाल र रानाले सुरु गर्नु भएको थियो । विशेषज्ञ वडा क्लिनिक सेवाको उद्घाटन तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नु भएको थियो ।

मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरले सुरु गरेको महिनामा एक दिन एक वडामा विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालनको सिको सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहलाई गर्न आग्रह गर्नु भएको थियो । उहाँले भन्नुभएको थियो, ‘स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउने र सुधार गर्ने हो भने विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालनले ठूलो मद्दत पुर्‍याउनेछ ।’ ‘प्रदेश सरकार यस्ता प्रभावकारी कार्यक्रममा साझेदारी गर्न तयार छ ।’ नगर प्रमुख हमालले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजनाको रूपमा सञ्चालनमा ल्याएको बताउनु भयो ।

‘आफ्नो कार्यकालको बाँकी चार वर्ष निरन्तर यो ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालनमा रहनेछ,’ उहाँले भन्नुभयो, ‘यसलाई उपमहानगरले साझेदारी कार्यक्रम तथा योजनाअन्तर्गत राखेको छ । सबैको सहयोग पनि चाहिएको छ।’ उहाँले कुखुरा बेचेर उपचारका लागि धनगढीका अस्पताल आउनुपर्ने दिनको अन्त्य गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको बताउनु भयो ।

उहाँका अनुसार दुई फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरको मासिक २/२ लाखका दरले चिकित्सकीय शुल्क भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्मका लागि बेहोर्ने सम्झौता धनगढी उपमहानगरसँग गरेको छ ।

‘खासगरी ग्रामीण महिलाहरू स्वास्थ्य सेवा पहुँचबाट टाढा छन्,’ उपप्रमुख राना भन्नुभयो, ‘प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वडा क्लिनिकमा छन् । यो एक प्रकारले आमा बचाउ कार्यक्रम भन्दा हुन्छ ।’ उहाँले यस कार्यक्रमलाई सबैतिरबाट सहयोग प्राप्त भएको बताउनु भयो । उहाँले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सुरु भएपछि उपमहानगरपालिकाका ग्रामिण क्षेत्रमा रहेका महिला उपचारमा सहज भएको बताउनु भयो । ‘आर्थिक अवस्था कमजोर भएका नागरीकहरु अस्पताल नगएर रोग लुकाउन बाद्य थिए’ उहाले भन्नुभयो ‘वडा क्लिनिक सुरु भएपछि सबै स्तरका नागरीकले सहज रुपमा उपचार पाएका छन्’ ।

नगर प्रमुख हमालले आफू चढ्ने गाडीलाई समेत वडा क्लिनिक कार्यक्रम सञ्चालनका लागि दिएर विपन्न नागरिकको स्वास्थ्य उपचारमा थप योगदान पुर्‍याएका छन् । उपमहानगरको १९ वडा नम्बरबाट सुरु क्लिनिक’ प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन हुँदै आएको छ । साथै वडा क्लिनिक सेवालाई थप प्रभावकारी बनाउन उपमहानगरपालिकाले विद्युतीय गाडी नै खरिद गरेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकिएको छ । १५ सिट क्षमताको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । विद्युतीय सवारी साधन वडा क्लिनिकका लागि खरिद गरिएपछि औषधि ढुवानीका साथै विशेषज्ञ चिकित्सकले वडावडामा गएर सेवा गर्न सहज हुने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?