मुलुकमा जनअपेक्षा अनुरुप सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउन जरुरी छः उपराष्ट्रपति यादव

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनताको अपेक्षा अनुसार सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताउनु भएको छ ।

उपराष्ट्रपति यादवले नेपालका प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका गुनासो, विकृति, विसंगतिको अन्त्यका लागि पनि जनमुखि सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनु भएको हो । नेपाल जन–प्रशासन संघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ अघि बढनु पर्ने समेत स्पष्ट पार्नु भयो ।

मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सोही अनुरुपको जनशक्ति परिचालन गर्दै आफ्नो सेवा प्रवाहलाई थप सुदृढ, परिष्कृत, परिमार्जन अघि बढनै पर्नेतर्फ पनि तीन वटै तहका सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले जनताको सेवा प्रवाहको कामलाई सहज, सरल, प्रभावकारी र पारदर्शी बनाउन पनि नेपाल जन प्रशासन संघले उनीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उपराष्ट्रपति यादवले भन्नु भयो, ‘नेपालका प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका जनगुनासो, विकृति, विसंगति अन्त्यका लागि नेपाल जनप्रशासन संघ सक्रिय रहँदै यसका सकारात्मक पक्षलाई समेत उजागर गर्न सक्नु पर्दछ । नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुुक घोषणा भई यहाँ तीन तहको संरचना अनुसारको सरकार छ । यो बदलिँदो संरचनामा सेवा प्रवाह प्रक्रियालाई थप प्रभावकारी बनाउन जरुरी छ । यसका लागि प्रशासक, व्यवस्थापक र कर्मचारीहरुलाई थप प्रशिक्षण, ज्ञान, कार्य दक्षता र सीपको आवश्यक हुन्छ । यसले यी सम्पूर्णलाई प्रशिक्षित, दक्ष, योग्य र सक्षम बनाउँदै आ–आफ्नो सेवा प्रवाहमा दत्तचित्त भई लाग्न सहयोग पुग्ने विश्वास लिएको छु । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएकाले यी विशेषताहरुलाई आत्मासात गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुुता र सदभावलाई संरक्षण एवम् प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, संघीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ अघि बढनु पर्दछ । यसका लागि नेपाल जनप्रशासन संघले जनअपेक्षा अनुरुपको जनमुखि सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राख्नै पर्दछ । साथै मुलुकमा सदाचार, इमान्दारिता, जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्न संघले थप उत्तरदायित्व बोध गर्दै यसका लागि तपाईहरुको पैरवी र वकालत पनि उत्तिकै आवश्यक छ । हामी डिजिटल युगमा रहेकाले त्यही अनुरुपको जनशक्ति परिचालन गर्दै आफ्नो सेवा प्रवाहलाई थप सुदृढ, परिष्कृत, परिमार्जित गर्दै अघि बढनै पर्दछ । यसले सेवा प्रवाह छिटो, छरितो, सरल, सुलभ, सहज, पारदर्शी, जनमुखि र जवाफदेही मात्र बनाउँदैन, जनगुनासो र जनअपेक्षा अनुसारको सेवा समेत सेवाग्राहीहरुले पाउन सक्छन ।’

उपराष्ट्रपति यादवले मुलुकमा सदाचार, इमान्दारिता, जवाफदेहिता, पारदर्शिता अभिवृद्धि गर्नका लागि नेपाल जन प्रशासन संघले पैरवी र वकालतको कामलाई पनि तीव्रता दिने विश्वास समेत व्यक्त गर्नु भयो । कार्यक्रममा मुलुकको प्रशासन र व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकाहरुलाई सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?