सावित्रा भण्डारीलाई बधाईसहित बिदाइ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरूपमा खेल्ने अवसर प्राप्त गर्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीलाई बधाईसहित बिदाइ गर्नुभएको छ ।

मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उहाँले फुटबल खेलप्रतिको लगन र मिहिनेतले इजरायलको हापोइल रनाना फुटबल क्लबमा आबद्ध हुने मौका प्राप्त गर्नुभएकी खेलाडी भण्डारीलाई शुभकामनासहित बधाई दिनुभएको हो ।

उहाँको प्रशंसा गर्दै मन्त्री लिम्बूले प्राप्त मौकाको सदुपयोग गरी नेपाली फुटबलको स्तरवृद्धिका साथै आफ्नो खेल कौशलमा अझ निखार ल्याउन सफल हुनुहुने अपेक्षा गर्नुभयो । लमजुङ सिमपानी निवासी खेलाडी भण्डारीले नेपालको राष्ट्रिय फुटबल टोलीमा संलग्न रही विभिन्न प्रतियोगितामा कौशल प्रदर्शन गरेर राष्ट्रको शान बढाउन पुर्‍याउनुभएको योगदानको मन्त्रालयले उच्च प्रशंसा गरेको छ ।

युरोपेली क्लबमा आबद्ध हुने पहिलो महिला खेलाडी उहाँ आगामी अगस्टको पहिलो साता त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । यसअघि खेलाडी भण्डारीले सेथु एएफसी र गोकुलम केरला भारतमा व्यावसायिकरूपमा रही लिग खेल खेल्नुभएको थियो । नेपाली फुटबल खेलको दुनियाँमा उहाँको छवि फरवार्ड खेलाडीका रूपमा चर्चित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?