श्रीलंकामाथि पाकिस्तानको जित

Read Time = 2 mins

कोलम्बो । पाकिस्तानले पहिलो टेस्ट खेलमा घरेलु टोली श्रीलंकालाई चार विकेटले पराजित गरेको छ । जितका लागि १३१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम दिनको पहिलो सेसनमा ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । पाकिस्तानको जितमा इमाम उल हकले ८४ बलमा चार चौका र एक छक्कासहित ५० रन जोड्नुभयो । ओपनर अब्दुल्लाह शफिक आठ, शन मसुद सात, बाबर आमज २४ र साउद सकिल ३० रनमा आउट हुनुभयो । श्रीलंकाका स्पिनर प्रभाथ जयसूर्याले सर्वाधिक चार विकेट लिनुभयो ।

त्यसअघि दोस्रो इनिङमा श्रीलंका २७९ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा १४९ रनले पछि परेको हुँदा समग्रमा १३१ रनको लक्ष्य दिन पुगेको थियो । श्रीलंकाका धनञ्जय डी सिल्भाले ११८ बलमा १० चौका र दुई छक्कासहित ८२ रनको योगदान दिनुभयो ।

निशान मदुशाका ५२, दिमुथ करुणारत्ने २०, कुशल मेन्डिस १८, दीनेश चान्डिमल २८ र रमेश मेन्डिसले ४२ रन बनाउनुभयो । पाकिस्तानका दुई स्पिनर अब्रार अहमद र नौमान अलीले समान तीन विकेट लिनुभयो । शाहिन शाह अफ्रिदी र अघा सलमानले समान दुई विकेट लिनुभयो ।

पाकिस्तान पहिलो इनिङमा ४६१ रनमा अल आउट भएको थियो । त्यसबेला पाकिस्तानका साउद सकिलले ३६१ बलमा १९ चौकासहित २०८ रनको दोहोरो शतकीय इनिङ खेल्नुभएको थियो । योसँगै दुई खेलको टेस्टमा पाकिस्तानले अग्रता लिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?