विपन्नको सहारा बन्दै छात्रवृत्ति कार्यक्रम

Read Time = 3 mins

-मानबहादुर बिश्वकर्मा

कालिकोट । छात्रवृत्ति कार्यक्रम विपन्न दलित समुदायका बालबालिकाका लागि साहारा बन्दै गएको छ ।

नेपाल राष्ट्रिय दलित कल्याण संघ र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित ‘नेपाल छात्रवृत्ति कार्यक्रम’ अहिले दलित समुदायका बालबालिकाका लागि साहारा बन्दै गएको हो ।

जिल्लाको खाँडाचक्र र शुभकालिकामा सञ्चालन भइरहेको कार्यक्रम असहाय, गरिब तथा आर्थिक अवस्था कमजोर भएका परिवारका सयौं बालबालिकाका लागि साहारा बनेको हो ।

बिहीबार खाँडाचक्र नगरपालिका–६ को सेरा गाउँमा अनुगमनका क्रममा जाँदा त्यहाँका दलित समुदायका बालबालिकाको अवस्था बुझ्दा राम्रो काम गरेको भेटिएको थियो ।

‘मेरो त कोही छैन भन्ने सोचेको थिएँ, एनएनडिएस डब्लूओ रहेछ,’ दुवै आँखा गुमाएका ३० वर्षीय हरि विकले अनुगमनमा गएको टोलीसँग भन्नुभयो ।

उहाँकी श्रीमती पनि अपाङ्ग हुँनुहुँन्छ । २ छोरा र एक छोरी हुर्काउनेका जिम्मेवारी पनि उनीहरूकै हो । ‘एनएन डीएस डब्लुओले हामीलाई छोरा छोरी पढाउन सहयोग गरेको छ । अझै गर्नेछ भन्ने आशा छ,’ हरिले भन्नुभयो ।

हरि मात्र हैनन्, पहिरोमा परी एक हातसमेत कमजोर बनेका ४२ वर्षीय दल कामी विकको पनि आर्थिक अवस्था निकै कमजोर छ । अशक्त भएदेखि छोराछोरी पाल्न उहाँलाई निकै समस्या थियो । अहिले नेपाल छात्रवृत्ति कार्यक्रमले १६ वर्षीया छोरी धनसरालाई पढ्नका लागि सहयोग गरेपछि उनलाई सहज भएको छ ।

अहिलेसम्म एनएन डिएस डब्लूले कालिकोटमा ८ सय ६३ जना दलित समुदायका बालवालिकालाई छात्रवृत्ति उपलब्ध गराइसकेको परियोजना अधिकृत गोरख नेपालीले बताउनुभयो ।

यस्तै, उच्च शिक्षाका लागि ४४ जनाले यसै कार्यक्रमको सहयोगमा उच्च शिक्षा हासिल गरी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा रोजगारीमा आबद्ध रहेको नेपालीको भनाइ छ ।

अनुगमनमा जिल्ला समन्वय समितिका सदस्य अजय बम, एनएन डिएस डब्लुओका संयोजक गोरख नेपाली, शिक्षा विकास तथा समन्वय इकाइ, पत्रकारलगायतको उपस्थित रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?