स्थानीय तहको नेतृत्वमा पुरुष जनप्रतिनिधि हाबी, नेतृत्वको साँघुरो मानसिकताले महिला प्रतिनिधित्वमा उपेक्षा

Read Time = 6 mins

एकेन्द्र खत्री/हिटा
अछाम । सत्ता घटक दल माओवादी केन्द्रकी नेतृ बैजन्ती कुँवर अछामको साँफेबगर नगरपालिकाको मेयरमा उम्मेदवारीको दाबेदारी हुनुहुन्थ्यो । वैशाख ३० गते हुने निर्वाचनमा पार्टी जिल्ला कमिटीले कुँवरलाई मेयरको टिकटमा नाम सिफारिस पनि गरिसकेको थियो । तर, साँफेबगरमा माओवादी र नेकपा एमालेबीच चुनावी तालमेल हुँदा उहाँ उपेक्षामा पर्नुभयो ।

सत्ता गठबन्धनले स्थानीय तहमा आवश्यकताअनुसार चुनावी तालमेल गरेर अघि बढ्न उर्दी जारी गरेको थियो । साँफेबगरमा कमजोर रहेको माओवादीले नेपाली कांग्रेस र एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्दा मेयर र उपमेयरको टिकट नपाउने देखिएपछि उसले एमालेसँग चुनावी तालमेल गर्न पुग्यो । केन्द्रको निर्णयविपरीत एमालेसँग चुनावी तालमेल गर्दा माओवादीले उपमेयरको टिकट पाउने भयो । तर, मेयर एमालेलाई दिनुपर्ने भएपछि सिफारिस कुँवरको नाम मेयरबाट हट्यो । एमालेसँगको सहमतिअनुसार मेयरमा पशुपति कुँवर र उपमेयरमा माओवादीले रंग ठकुल्लालाई उम्मेदवारी बनायो ।

मेयरका दाबेदार कँुवर पार्टीको निर्णयबमोजिम उम्मेदवारीबाट पछि हट्नु परेपछि नेतृत्वले महिलामाथि विश्वास नगरेको प्रति गुनासो बढ्योे । सामाजिक अभियान्तासमेत रहनुभएका कुँवरले महिलालाई राजनीति र सामाजिक क्षेत्रमा अगाडि ल्याउन पहल गर्दै आउनुभएको थियो । पार्टीमा कैयौँ महिला नेताहरू उपल्लो जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको तर नेतृत्वको साँघुरो मानसिकताका कारण उपमेयर र उपाध्यक्षमै खुम्चिइहनु दुखनीय भएको उहाँको भनाइ छ ।

दलहरूले स्थानीय तहको नेतृत्वमा महिलालाई प्राथमिकता दिनुपर्ने आवाज उठेको बेला एमालेले समेत राजनीतिमा महिला सहभागितालाई खासै प्राथमिकतामा नदिएको गुनासो देखिन्छ । लैंगिक समानताका लागि कुर्सी छाडेर योग्य महिलालाई स्थान दिने व्यक्ति अहिलेसम्म पार्टीमा नदेखेको स्वयं एमाले महिला नेतृहरूले बताएका छन् । एमाले युवा नेतृ पार्वती विष्ट संख्यात्मक उपस्थितिका लागि मात्र पार्टीले निर्वाचनमा समावेश गराउने वा स्थायी कमिटीमा सहभागी गराउने परिपाटीले महिला नेतृत्व विकास नहुने बताउनुहुन्छ । पार्टी नेतृत्वको भूमिकामा महिलाको प्रतिनिधित्व भए पनि पार्टीले गर्ने निर्णयहरूमा महिलाका कुरा नसुन्ने प्रवृत्ति हाबी रहेको एमाले नेतृ विन्दु रावल बताउनुहुन्छ । पार्टीमा महिलाले नेतृत्व सम्हाल्न नसक्ने मानसिकता अझै रहेको कारण पनि महिलाहरू उपप्रमुख, उपाध्यक्ष र वडा सदस्यमा बस्न बाध्य बनेको उहाँको भनाइ छ ।

सत्ता गठबन्धनबीच चुनावी तालमेलले नेपाली कांग्रेसका अधिकांश महिला नेतृहरू समेत स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवारी दिनबाट वञ्चित हुनुपरेको छ । सत्ता गठबन्धनको भागबण्डाअनुसार साँफेबगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र कुँवर र समाजवादीबाट शिलोज कुँवरले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । रामारोशन गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसबाट मानबहादुर साउँद र नेकपा एकीकृत समाजवादीबाट ताराप्रसाद खनाल चुनावी मैदानमा छन् । यी दुई पालिकामा मात्रै नभई चुनावी तालमेल भएका देशभरका अधिकांश स्थानीय तहको चुनावमा महिला सहभागिता न्यून देखिएको छ ।

२०७४ मा देशभर ७५३ स्थानीय तहमध्ये २७७ नगर र ४२४ गाउँपालिकामा महिला उपप्रमुख निर्वाचित भएका थिए । नेपालको संविधानमा स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला उम्मेदवार हुनुपर्ने व्यवस्था छ । अघिल्लो निर्वाचनमा दलहरूले अधिकांश पालिकाको प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिए ।

२०७९ को स्थानीय चुनावमा पनि उपप्रमुखको उम्मेदवारीमा महिला सहभागिता उल्लेखनीय देखिएको छ । निर्वाचन आयोगका अनुसार दलहरूले प्रमुख पदमा महिला उम्मेदवार कम उठाएका छन् । उपमेयर र उपाध्यक्षमा भने पुरुषभन्दा बढी महिला उम्मेदवार छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?