‘आफ्नै मिहिनेत र प्रयासले अघि बढिरहेको छु’

गीता अधिकारी
Read Time = 10 mins

गुल्मी जिल्लाको सत्यवती गाउँपालिका जोहाङमा बुबा जीवलाल पाण्डे र माता देवी पाण्डेको कोखबाट जन्मिनुभएका कृष्ण पाण्डे (कृष) यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । डाक्टर बन्ने सपना बोकेर २०६४ सालमा उच्च शिक्षाका लागि काठमाडौं प्रवेश गर्नुभएका उहाँको सानैदेखिको गीत संगीत अनि चलचित्रप्रतिको झुकावले यस क्षेत्रतर्फ लाग्नुभयो । पाण्डेले २० वटाजति गीतमा स्वर दिइसक्नुभएको छ । उहाँले प्रताप दास, अस्मिता अधिकारी, रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारीजस्ता गायकगायिकासँग सहकार्य गरेर पनि आफ्ना सिर्जना श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतमा चलचित्र ‘बाह्रमासे’मा रहेको ‘ढिक्के फुली’ गीतबाट पाश्र्वगायनमा समेत पाइला चाल्नुभएका उहाँले आफ्नो पहिलो गीत पनि पोखरेलको संगीतमा नै गाउनुभएको थियो । पुतलीसडकमा रहेको अनुराग संगीत विद्यालयमा २०६९ सालदेखि औपचारिकरूपमा अर्जुन पोखरेल, राम सिटौलाबाट अहिलेसम्म पनि निरन्तर उहाँले संगीतको प्रशिक्षण लिइरहनुभएको छ । उहाँका ‘जे जे पर्छ पर्छ’, ‘भौंतारिँदै’, ‘पिरतीमा’, ‘लेकबेंसी’, ‘जूनकिरी’, ‘केही कमी’, ‘बाडुल्की’ जस्ता गीत श्रोता/दर्शकको अत्यधिक रोजाइमा पर्न सफल छन् । कला पत्रकारितामा समेत अग्रसर पाण्डे चलचित्र पत्रकार संघ नेपालका कार्यकारी सदस्यसमेत हुुनुहुन्छ । आफ्नै मिहिनेत र निरन्तरताको प्रयासले अघि बढिरहेको बताउनुहुने कृष्ण पाण्डे (कृष)सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

अहिले केमा व्यस्त हुनुहुन्छ ?
कला पत्रकारिता, संगीतको अध्ययन सँगसँगै गीत संगीतमै व्यस्त छु । मेरो संगीत रहने केही गीतहरू आउने क्रममा रहेका छन् भने कतिपय आफ्नै आवाजमा रेकर्डिङ हुने क्रममा रहेका छन् ।

गीतसंगीतको क्षेत्रमा कसरी आउनुभयो ?
मेरी आमा पनि गीत गुनगुनाउने गर्नुहुन्थ्यो र सानैदेखि ममा पनि त्यसैको प्रभाव भनौं या के भनौं एक किसिमको संगीतप्रति झुकाव थियो नै । यो एउटा रमाइलो किस्सा पनि छ । काठमाडौंमा भाडामा बस्ने क्रममा म बस्ने कोठाको छेउमै एउटा साथी गोकुल खरेल बस्नुहुन्थ्यो । उहाँ पनि गायनमै एकदमै रुचि र संगीत सिकिरहनुभएको रहेछ । कहिलेकाहीँ उहाँले मैले गीत गुनगुनाएको सुन्नुभएको रहेछ । एकदिन उहाँले आएर भन्नुभयो, तपाईंको स्वर राम्रो रहेछ सिक्नुभयो भने निखार आउँछ । उहाँले नै मलाई आफूले सिक्ने ठाउँमा लगेर भर्ना गरिदिनुभयो । अनि यसरी नै अहिलेसम्म निरन्तर यही क्षेत्रमै संघर्ष गरिरहेको छु ।

यसै क्षेत्रका अन्य विधा जस्तै संगीत संयोजन, स्टुडियो खोलेर या नयाँ-नयाँ सामाजिक सञ्जालका अवसरलाई प्रयोग गरेर पनि आफूलाई निरन्तरता दिइरहनुभएको हुन्छ । व्यापारमा जस्तो धनी बन्न नसकिएला, आफ्नो रहर र खुसी अवश्य पूरा गर्न सकिन्छ ।

संगीतकार बन्न कत्तिको गाह्रो छ ? विशेषतः नयाँलाई ?
मेरो विचारमा धैर्यता र निरन्तरता हुने हो भने कुनै पनि काम अप्ठ्यारो गाह्रो भन्ने हुँदैन । एकपटक तपाईं दर्शकको नजरमा पर्नुभयो भने चाहिँ अलि सहज हुन्छ । तपाईंमा संगीतप्रतिको लगनशीलता, अनुशासनका साथसाथै भाग्य पनि चाहिने रहेछ जस्तो लाग्छ । कतिपयले वर्षौं बिताउँदा पनि हातलाग्यो शून्य हुन्छ भने कतिपयले एउटै गीतबाट देशविदेश खाइसक्नुभएका उदाहरणहरू पनि प्रशस्तै छन् ।

अहिलेसम्म यहाँले कति जति गीतमा संगीत भर्नुभएको छ ?
मैले एक दर्जनभन्दा बढी गीतमा संगीत भरिसकेको छु भने तीन दर्जनभन्दा बढी गीतमा आवाज दिएको छु ।

संगीत कोसँग सिक्नुभयो ?
काठमाडौंको पुतलीसडकमा रहेको अनुराग संगीत विद्यालयमा गुरुहरू अर्जुन पोखरेल र राम सिटौलाबाट अनि श्री संगीत पाठशालामा गुरु चण्डीप्रसाद काफ्लेबाट संगीतको औपचारिक शिक्षा लिएको छु ।

पहिलो संगीत भर्दाको अनुभव ?
पहिलो संगीतको अनुभव सुनाउनुपर्दा मेरो साथी इञ्जिनियर सागर खरेलले एउटा शब्द लेखेर दिनुभयो, राम्रो संगीत भर्नुहोस् है भनेर । अनि एक दिनभरि बसेर तयार पारेर सुनाउँदा उहाँ मख्खै पर्नुभयो र मलाई हौसला पनि दिनुभयो । त्यसपछि ममा झनै आत्मबल बढेर आयो ।

नयाँ-नयाँमा गीत दिन हिच्किचाउँछन् सर्जक गायकहरू भनिन्छ नि ?
हो, यहाँले एकदमै सत्य कुरा गर्नुभयो । मैले पनि सात/आठ वर्षसम्म संगीत सिक्दा पनि कोही संगीतकार, गीतकार, लगानीकर्ताबाट गायनमा अवसर पाएको थिइनँ । आफ्नै मिहिनेत र निरन्तरताको प्रयासले अहिलेसम्म अघि बढिरहेको छु । सबैले बलेको आगो ताप्ने चलन यस क्षेत्रमा त झनै व्याप्त छ ।

यो क्षेत्रमा खुट्टा तान्ने प्रवृत्ति कत्तिको छ ?
हुन त खुट्टा तान्ने प्रवृत्ति जुनसुकै क्षेत्रमा पनि हुन्छ । मैले पनि यस क्षेत्रमा यदाकदा सुन्ने गरेको छु । त्यसो त त्यो सफलता अझैसम्म हात पार्न नसकेर पनि हुन सक्छ । अहिलेसम्म भोगेको चाहिँ छैन ।

यो क्षेत्रमा लागेर जीवनयापन गर्न कत्तिको सहज छ ?
मेरो विचारमा संगीत क्षेत्रमा आउने सबैजना चर्चित गायकगायिका बन्ने भनेर नै आउनुहुन्छ । प्रयास पनि गर्नुहुन्छ । कसैले फिल्ममा होस् या एल्बममा अवसर दिनुहुन्छ कि भनेर संगीतकार, निर्माता, निर्देशक अथवा लगानीकर्ताको ढोका पनि ढकढक्याउनुहुन्छ । कतैबाट हात नपरेपछि यसै क्षेत्रका अन्य विधा जस्तै संगीत संयोजन होस्, स्टुडियो खोलेर होस् या नयाँ-नयाँ सामाजिक सञ्जालका अवसरलाई प्रयोग गरेर पनि आफूलाई निरन्तरता दिइरहनुभएको हुन्छ । व्यापारमा जस्तो धनी बन्न नसकिएला, आफ्नो रहर र खुसी अवश्य पूरा गर्न सकिन्छ ।

यो क्षेत्रमा लागेर पाएको दुःखसुख आफ्नो अनुभव ?
मेरो रहर अनि खुसीको क्षेत्र हो यो । यसबाट म सन्तुष्ट हुन्छु । एकल महिलाले हुर्काएर बढाएर यहाँसम्म आइपुगेको हुँ अनि परिवारको एक्लो सन्तान पनि । समाजमा भन्ने गर्छन्, ‘तैंले यो क्षेत्रमा लागेर काम छैन आमालाई कहिले सुख दिन्छस्, कति कमाउँछस्’ भन्दा कहिलेकाहीँ विदेश जाऊँ कि जस्तो लाग्छ । तैपनि यतिका वर्षसम्म मैले यस क्षेत्रमा गरेको दुःखको मूल्य अर्थहीन हुन्छ भन्ने ठानेर नै यसै कर्मलाई निरन्तरता दिएको छु । एक समय त खाना खानेसम्म पनि फुर्सद हुन्थेन, बिहानभरि संगीत सिक्दा अनि १० बजेदेखि फेरि जागिर गर्दा निकै कठिन यात्राहरू पनि तय गरेको छु । कतिपय अवस्थामा निराश पनि लाग्छ कतै यो मेरो क्षेत्र नै होइन कि गलत ठाउँतिर दुःख गरिरहेको छु कि भनेर । तर पनि आँट अनि परिवारको साथ र सपोर्टले गर्दा यहाँसम्म आइपुगेको छु ।

यहाँले सञ्चारकर्ममा पनि त्यत्तिकै सशक्तरूपमा आफूलाई प्रस्तुत गर्दै आएको पाइन्छ ?
मैले आफूलाई सञ्चारकर्ममा पनि प्रस्तुत गर्दै आएको छु । गायक तथा संगीतकारका साथसाथै कुशल सञ्चारकर्मी पनि भन्न रुचाउँछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?