काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास साउन २ गतेदेखि सुरु भएको छ । साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उक्त समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल बताउनुहुन्छ ।
मलमास के हो त ? यसलाई अन्य महिनाहरू भन्दा किन फरक तरिकाले हेरिन्छ ? अधिकमास किन पर्छ ? कति कति समयमा पर्छ भन्नेबारे अब चर्चा गरौं ।
अधिकमासलाई मलमास, पुरुषोत्तम महिना जस्ता नामहरूले पनि बुझिन्छ । हिन्दू धर्म ग्रन्थहरूका अनुसार यो एक महिनाको समयमा कुनै पनि विशेष धार्मिक कार्यहरू गर्न नहुने मान्यता रहेको छ । त्यसकारण मलमासको अवधिभर नयाँ घर सर्ने, जग राख्ने, विवाह, ब्रतबन्ध, सप्ताह, ग्रहपूजा जस्ता शुभकार्यहरू हुँदैनन् । ज्योतिष शास्त्रमा पनि यस समयमा विशेष धार्मिक कार्यहरुलाई निषेध नै गरिएको छ ।
यस अवधिभर केही धार्मिक कार्यहरू भने गर्न मिल्छ । जस्तै बालकहरूको अन्नप्राशन, न्वारन, भजन तथा सत्संगहरू र मानिसको मृत्यु भएपछि गरिने कर्महरु गर्न मिल्छ । यसका साथै यो समयमा आफूले दैनिक गर्ने पूजा लगायतका नित्य कर्महरु पनि गर्न मिल्छ । सौरमण्डलमा रहेका ग्रहहरु सबै आआफ्नै रफ्तारमा हिँड्ने गर्दछन् । कुनै ग्रहहरु निकै छिटो हिँड्छन् भने कुनै निकै कमको गतिमा हिँड्छन् । त्यही ग्रहहरुको आधारमा नै हरेक कार्यहरुका साइतहरुदेखि लिएर मानिसको जन्मकुण्डली पनि हेर्ने गरिन्छ । निर्माण कार्यसँग सम्बन्धित वास्तुशास्त्रमा पनि ग्रहहरुको अनुसार नै कुन निर्माण कहाँ गर्ने भनेर निर्देशन गरिएको छ ।
ज्योतिषशास्त्र अनुसार मलमास
हामीले काम काजका लागि प्रयोग गर्ने गते र तारिखहरु सूर्यको गतिको आधारमा गणना गरिन्छ । यही सूर्यको आधारमा नै ३६५ दिनमा हाम्रो एक वर्ष हुन्छ भने चन्द्रमाको अर्थात् तिथिको गणना अनुसार ३५४ दिनमा एक वर्ष हुन्छ । यसरी विचार गर्दा सूर्य र चन्द्रमाबीच एक वर्षको अवधीमा लगभग ११ दिनको फरक आउँछ ।
दुई वर्षमा सूर्य र चन्द्रमाबीच २२ दिन र तीन वर्षमा ३३ दिनको फरक पर्दछ । अधिकमास परेको तेश्रो वर्षमा सूर्यको गणना अनुसार १२ वटा मात्र महिना भए पनि चन्द्रमाका आधारमा भने १३ वटा महिना हुन जान्छ । यही सूर्य र चन्द्रमाको गतिको ब्यालेन्स मिलाउन नै प्रत्येक तीन÷तीन वर्षमा मलमास पर्ने गर्दछ । मलमास जुनसुकै महिनामा पनि पर्न सक्छ ।
यदि कुनै पनि महिनाको एउटा औँशीदेखि अर्को औँशीको बीचमा सङ्क्रान्ति परेको छैन भने, त्यस दुई औँशीको बीचको समयलाई मलमास भनिन्छ । त्यस्तै यदि एउटै चान्द्रमासमा अर्थात् एउटा औँशीदेखि अर्को औँशीको बीचमा २ वटा सङ्क्रान्ति परेमा त्यस महिनालाई क्षयमास भनिन्छ । क्षयमास परेको महिनाअघि र पछि २ वटा अधिक मास पनि पर्दछ । यसपालि यो असोज महिनामा परेको छ । दिनहरु लामो हुने महिनामा अधिकमास हुने संभावना बढी हुन्छ ।
त्यसकारण प्रायःजसो फागुनदेखि असोजसम्मका महिनाहरुमा नै अधिकमास पर्छ । क्षयमास कात्तिक, मंसिर र पुष महिनामा मात्र पर्छ । तर क्षयमास मलमासको तुलनामा निकै कम पर्दछ । मलमास र क्षयमासको निर्णय चान्द्रमासबाट नै लिनुपर्छ । सौरमासबाट लिनु हुँदैन । सौरमास अनुसार मलमास हुने भए संक्रान्ति पनि १३ वटा हुनु पथ्र्यो । तर संक्रान्ति १२ वटा मात्र नै हुन्छ ।
पौराणिक प्रसंग
धेरैजसो पुराणमा मलमासको बारेमा वर्णन गरिएको छ । श्रीमद्भागवत महापुराणमा पनि मलमासको बारेमा केही वर्णन गरिएको छ । यसको प्रसंग भगवान् नारायणको २४ अवतारमध्ये नृसिंह अवतारसँग जोडिन्छ । प्राचीन समयमा कारणवश विष्णुका पार्षदहरू जय र विजय नै राक्षस बन्नुपर्यो । महर्षि काश्यपको छोरा भएर यिनीहरुले जन्म लिए । हिरण्यकशिपु भगवान विष्णुसँग आफ्नो भाइ हिरण्याक्षको वध गरेको बदला लिन चाहन्थ्यो । त्यसकारण उसले ब्रह्माजीको तपस्या गर्यो ।
प्रसन्न भएका ब्रह्माजीसँग उसले धेरै वरदानका साथै कुनै पनि सालको १२ महिनामा नै आफ्नो मृत्यु नहुने वरदान प्राप्त गर्यो । ब्रह्माजीसँग वरदान पाएपछि उ निकै अत्याचारी भयो र धर्म र समाजमाथि प्रहार गर्न थाल्यो । त्यसैकारण उसको वध गर्न भगवान् विष्णुले नै अवतार लिनुपर्यो । टाउको सिंहको जस्तो र शरीर मानिसको जस्तो भएको भगवान् विष्णुको नरसिंह अवतार भयो ।
सबै वरदान त पूरा भयो, तर उसले सालको १२ महिनामा नै आफ्नो मृत्यु नहोस् भनेको हुनाले त्यही हिरण्यकशिपुलाई मार्न नै भगवान् विष्णुले तेह्रौँ महिना अर्थात् मलमासको सृष्टि गरी हिरण्यकशिपुको वध गर्नु भएको पुराणमा उल्लेख छ । अधिकमासको निर्माण भगवान् विष्णुबाट नै भएकोले यस महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । यस समयमा भगवान् विष्णुको पूजा गरी पुरुषोत्तम महात्म्य कथा श्रवण गर्ने गरिन्छ ।