बिमालेख धितोमा ६२ अर्बभन्दा बढी कर्जा प्रवाह

Read Time = 5 mins

काडमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बिमितले बिमालेख धितोमा राखी ६२ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लिएका छन् । बिमा समितिका अनुसार चालु आवको चैतसम्ममा बिमालेख खरिद गरेका बिमितले बिमालेख धितोमा राखी १९ जीवन बिमा कम्पनीबाट ६२ अर्ब ९० करोड १४ लाख रुपैयाँ कर्जा लिएका हुन्, गत आवको सो अवधिको तुलनामा २३.६५ प्रतिशतले बढी हो ।

गत आवको चैतसम्ममा बिमितले ५० अर्ब ८७ करोड १९ लाख रुपैयाँ कर्जा लिएका थिए । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका बिमितले बिमालेख धितोमा राखी २३ अर्ब २२ करोड ८६ लाख रुपैयाँ कर्जा लिएका छन् । जुन गत आवको तुलनामा जुन २१.०८ प्रतिशतले बढी हो । गत आवको चैतसम्म कम्पनीले बिमालेख धितोमा राखी १९ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रदान गरेको थियो ।

त्यस्तै एलआइसी नेपालका बिमितले बिमालेख धितो राखी १७ अर्ब ७ करोड ६२ लाख रुपैयाँ कर्जा लिएका छन् भने नेसनल लाइफका बिमितले सात अर्ब ५० करोड ५५ लाख, एसियन लाइफका बिमितले तीन अर्ब ६५ करोड १८ लाख रुपैयाँ कर्जा लिएका छन् । प्राइम लाइफका बिमितले एक अर्ब ९१ करोड, राष्ट्रिय बिमा संस्थानका बिमितले एक अर्ब ७४ करोड, सूर्या लाइफका बिमितले एक अर्ब ७८ करोड र मेट लाइफका बिमितले एक अर्ब सात करोड रुपैयाँ कर्जा लिएका छन् ।

जीवन बिमालेखसम्बन्धी निर्देशिका, २०७८ बमोजिम बिमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपछि बिमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था रहेको छ । बिमितले तीन किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ ।

यसैबीच बिमा क्षेत्रमा ११ हजारजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बिमा समितिका अनुसार हालसम्म नेपाली बिमा बजारमा ११ हजार नौ सय १८ जनाले रोजगारी पाएका हुन् । चालु आवको चैतसम्ममा बिमा क्षेत्रमा ११ हजार नौ सय १८ जनाले रोजागरी पाएका छन् । गत आवको चैतसम्ममा १० हजार पाँच सय ७३ जनाले मात्रै रोजगारी पाएका थिए ।

त्यसैगरी चालु आर्थिक वर्ष २०७८/०७९ को चैतसम्ममा जीवन बिमामा छ हजार दुई सय नौजना आबद्ध भएका छन् । निर्जीवन बिमामा पाँच हजार छ सय ३७, पुनर्बिमा कम्पनीमा ७२ गरी कुल ११ हजार नौ सय १८ जनाले प्रत्यक्ष रोजागारी पाएका हुन् । बिमा क्षेत्रमा बिमा अभिकर्ता र बिमा सर्भेर गरी करिब तीन लाखको संख्यामा प्रत्यक्ष-अप्रत्यक्षरूपमा आबद्ध रहेको बताइएको छ । निर्जीवन बिमातर्फ चालु आर्थिक वर्षको चैतसम्ममा एक हजार दुई सय ५१ जना इजाजतप्राप्त बिमा सर्भेयर प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा रोजागारीमा संलग्न भएको समितिको तथ्यांक छ ।

त्यस्तै चालु आर्थिक वर्षको चैतसम्ममा देशका सातै प्रदेशमा जीवन तथा निर्जीवन बिमा कम्पनीको शाखा संख्या तीन हजार तीन सय ३७ पुगेको छ । प्रदेश १ मा जीवन तथा निर्जीवन बिमा कम्पनीका शाखा चार सय ४१, मधेश प्रदेशमा चार सय ४९, बागमती प्रदेशमा नौ सय १३, गण्डकी प्रदेशमा तीन सय ७३, लुम्बिनी प्रदेशमा पाँच सय ४५, कर्णाली प्रदेशमा एक सय ८७ र सुदूरपश्चिम प्रदेशमा तीन सय २९ शाखा कार्यालय सञ्चालनमा रहेका छन् । गत आवको चैतसम्ममा देशभरमा बिमा कम्पनीको शाखा संख्या दुई हजार नौ सय २२ रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?