अध्ययन र बुझाइको धारणालाई बृहत् बनाउन जरूरी : महानिरीक्षक कुँवर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सुरक्षाजस्तो संवेदनशील सेवामा काम गर्नुपर्ने भएकाले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ र त्यसका लागि आफ्नो अध्ययन र बुझाइको धारणालाई बृहत् बनाउन जरूरी रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीद्वारा लिखित ‘इन्हृयान्सिङ पोलिसिङ इन नेपालः अ हृयुमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलिकेशन’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवामा रहँदारहँदै बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा समेत योगदानका लागि समय निकाल्न सफल प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीको समर्पण र लगाव अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।

विमोचन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले अबको जमानामा लठ्ठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो स्थापनाकालदेखि हालसम्म नेपाल प्रहरी यो देशका हरेक संघर्ष र परिवर्तनको साक्षी रहेको छ । यी परिवर्तनहरूले हामीलाई के सिकाएको छ भने प्रहरीले समाज र समयको ढुकढुकी बुझ्न जरुरी छ । अबको जमानामा लठ्ठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र प्रहरीले जस पाउन सक्दैन,’ उहाँले अगाडि भन्नुभयो, ‘सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्नुपर्ने भएकाले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ । त्यसका लागि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी छ ।’

उहाँले द्वन्द्वपछिको संक्रमणकालीन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि वरिष्ठ प्रहरी उपरीक्षक केसीद्वारा लिखित उक्त पुस्तक उपयोगी हुने विश्वास पनि व्यक्त गर्नुभयो । ‘विशेषतः द्वन्द्व उप्रान्त संक्रमणकालीन समाजमा नेपाल प्रहरीलगायतका सुरक्षा निकायले शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा सामना गर्नुपरिरहेको अप्ठ्यारोको सामना र समाधान गर्दै आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन कुनै पनि समस्या र विषयवस्तुलाई केवल सुरक्षा निकायको दृष्टिकोणले मात्र सीमित नरही एक सामान्य नागरिकको दृष्टिकोणबाट पनि विश्लेषण गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ प्रहरी उपरीक्षक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा राख्नुभएको थियो । नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्मा र डा. एम्मा लेस्लीले पुस्तकसम्बन्धी आ-आफ्नो धारणासहितको मन्तव्य व्यक्त गर्दै पुस्तक सुरक्षा निकायमा कार्यरतका साथै अनुसन्धानमा संलग्नलाई विशेष उपयोगी हुने बताउनुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, नेपाली सेनाका उपरथीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिव, अवकाश प्राप्त एवं वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?