रामग्राम स्तूप क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग

Read Time = 5 mins

-प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम–७ उजैनी गाउँमा अवस्थित पुरातात्विक, धार्मिक तथा पर्यटकीय स्थल रामग्राम स्तूप क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा आध्यात्मिक हिसावले निकै महत्वपूर्ण सम्पदाको रुपमा रहेको रामग्राम स्तूप क्षेत्रको संरक्षण र सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्न माग गरिएको हो ।

भगवान् गौतम बुद्धको पवित्र अस्तिधातु रहेको यो विश्वका बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण गनतव्य स्थल भएकोले यहाँको सुरक्षाका लागि प्रहरी चौकी अत्यन्त आवश्यक देखिएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले बताउनुभयो । विश्व सम्पदाको रुपमा रहेको प्राचीन स्तूप क्षेत्रमा रहेका महत्वपूर्ण अवशेषको सुरक्षा र संरक्षणका लागि प्रहरी चौकी नहुँदा चुनौती थपिएको उहाँले बताउनुभयो ।

रामग्राम स्तूप क्षेत्रमा तत्काल प्रहरी चौकी स्थापना गर्न नागरिक समाजको नेतत्वमा जिल्ला सुरक्षा समिति समक्ष माग गरिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्व सम्पदा सूचिकृतको प्रक्रियामा रहेको ऐतिहासिक महत्वको रामग्राम स्तुपको उचित संरक्षण नहुँदा उक्त क्षेत्र गौचरण, लागूऔषध दुव्र्यसनकर्ताहरुको स्थल बन्नुका साथै स्तुपका महत्वपूर्ण वस्तुहरु चोरी हुने तथा यहाँ आउने आन्तरिक तथा बाह्रय पर्यटकलाई पनि सुरक्षा चुनौती देखिएकोले नागरिक समाजको ध्यनाकर्षण भएको छ,सो क्षेत्रमा तत्काल एक प्रहरी चौकी स्थापना गर्न जोडदार माग गर्दछौँ”

परासी देखि महेशपुरसम्मको सडकखण्ड अन्तरगत नेपाल प्रहरीको कुनै पनि कार्यालय नहुनुले रामग्राम स्तुप मात्र नभई सो क्षेत्रका नागरिकको सुरक्षा, दुर्घटना न्यूनीकरण, चोरी तस्करी नियन्त्रणका लागि समेत उक्त क्षेत्रमा प्रहरी चौकीको आवश्यकता रहेको स्थानीयवासी एवं रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था उजैनीका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्ला सुरक्षा समितिको आगामी बैठकमा यसबारे छलफल गरिने बताउनुभयो । नागरिक समाजले उठाएको यो विषय महत्वपूर्ण रहेको बताउँदै प्रजिअ अर्यालले स्तूप क्षेत्रको सुरक्षाका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।
बुद्धको जन्मस्थल लुम्बिनी पत्ता लागेको दुई वर्षपछि रामग्राम स्तुप पत्ता लागेपनि लुम्बिनीको दृष्टिकोणले रामग्राम स्तुपको विकास हुन नसक्दा अत्यन्त सम्भावना भएर पनि रामग्राम स्तुप ओझेलमा परेको छ । पुरातत्व विभागका अनुसार भगवान् शाक्यमुनि बुद्धको महापरिनिवार्णपश्चात् तत्कालीन आठ गणराज्यले आफ्नो भागमा पाएका अस्तुधातुमध्ये कोलिया गणराज्यले आफ्नो भागमा पाएको अस्तुधातु राखी रामग्राम स्तूपको निर्माण गरिएको हो ।

सम्राट अशोकले इसापूर्व २४९ मा लुम्बिनीलगायतका बुद्धस्थलको भ्रमण गरी आठ राज्यले बुद्धको अस्तुधातु राखी बनाइएका स्तूप उत्खनन् गरी त्यसलाई विभक्त गरी ८४ हजार स–साना स्तूप बनाउने क्रममा रामग्राममा आउँदा यहाँका नागाराजाले रोकेर अस्तुधातु उत्खनन् गर्न नदिएकाले बुद्धका आठ अस्तुधातु प्रयोग गरी बनाइएका स्तूपमध्ये रामग्राममा अवस्थित स्तूपमात्र पवित्र र उत्खनन् नभएको स्तूपका रुपमा मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?