गहुँ तोरी छोडेर आलुखेती गरेका किसान रोग लागेपछि चिन्तित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । सजिलै विक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ तोरी खेती छोडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन् ।

परम्परागत बाली छाडेर आलु खेतीतर्फ लागेका किसानहरु डडुवा रोगको कारण आलुको बोटका पात र आँख्लाहरु सुक्न थालेपछि उत्पादन कम हुने भन्दै चिन्तित भएका हुन् । गहुँ, जौ, उवा, फापर र तोरी खेती गर्ने किसान पछिल्लो समय ती बाली छाडेर आलु खेती गर्न थालेका थिए ।

म्याग्दीको बेनी नगरपालिका सहित मालिका,मंगला,अन्नपूण धौलागिरि र रघुगंगाका किसानहरु व्यवसायिक आलु खेतीमा लागेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

मालिका गाउँपालिका-१ निस्कोट, २ रुम, ६ दरवाङ,७ विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत बेनी नगरपालिकाका दशओटै वडामा आलुखेती हुनेगरेको छ ।

अधिकांश वडाका कृषक परम्परागत अन्नबाली छाडेर आलुखेतीतिर लागेका स्थानीय गाउँपालिकाका कृषि प्राविधिकको भनाइ रहेको छ । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले किसानले उत्पादन गरेको आलु बजारमा सहजरुपमा बिक्री हुन थालेपछि नगदेबालीको रुपमा आलुलगायत तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको बताउनुभयो ।उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आलुखेतीतर्फ आकिर्षत भएका मालिका-६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

व्यावसायिक रुपमा आलु खेती गर्दै आएका बेनी नगरपालिका, मालिका र रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानको आलु डडुवाले सखाप पारेको कृषि प्राविधिकले बताएका छन् । अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डडुवाको समस्या फैलिएको हो ।
आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । रघुगङ्गा-६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि डडुवाको सङ्क्रमण फैलिएको ठाडाखानीका किसान टेकबहादुर छन्त्यालले बताउनुभयो ।

खेती गर्दा ध्यान दिने र प्राविधिकको सल्लाहअनुसार समयमै खेतीपातीको रेखदेख गर्ने गरेमा आलुलाई रोक किरा लाग्नबाट बचाउन सकिने कृषि प्राविधिकको भनाइ रहेको छ । म्याग्दीमा व्यावसायिक रुपमा एक सय हेक्टर बढी क्षेत्रफलमा आलु खेती गरिएको छ । आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बीउमा अनुदान पाई किसानले करिब एक हजार क्वीन्टल आलुको बीउ लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

पछौटे डडुवा आलुखेतीमा लाग्ने रोगमध्ये प्रमुख रोग भएको कृषि प्राविधक बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष विकराल रूपमा बढी रहेको छ । पहाडी जिल्लामा पनि बर्सेनि यो रोगको प्रकोप बढिरहेको छ भने तराईका जिल्लामा महामारीको रुपमा फैलिएको छ ।

यसको लक्षण सङ्क्रमण सुरुको अवस्थामा पातमा हल्का हरियो रङका विभिन्न आकारका थोप्ला देखिने कृषि प्राविधिक बानियाँले बताउनुभयो । अनुकूलन वातावरण पाइरहेमा थोप्लाको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ । ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेराजस्तो देखिन्छ । रोग बढी हुँदै गयो भने पूरै पात सुकेर डढेजस्तो हुन्छ भने अनुकूल वातावरण भई रह्यो भने पात, काण्ड, डाँठ र दानामा समेत सङ्क्रमण हुने उहाँको भनाइ छ ।

फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारकतत्व भएको विशेषज्ञले बताएका छन् । यस प्रजातिका ढुसीमध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाति नेपालमा पाइएका छन् ।

यस रोगको अनुकूल विकासको लागि वायुमण्डलको सापेक्षिक आद्रता ८० दशमलव ९५५ र रातिको तापक्रम १० दशमलव १२ डिग्रसेल्सिय लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बीउ र माटोको माध्यमबाट यो रोग देखा पर्ने विशेषज्ञको भनाइ छ ।

म्याग्दीमा आलु मौसममा प्रतिकिलो रु ५० देखि ७० सम्ममा बिक्री हुन्छ भने बेमौसममा रु ८० देखि रु एक सयसम्ममा विक्री गर्न सकिने किसानहरुको भनाइ छ । आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा स्थानीय पालिका र कृषि ज्ञान केन्द्रले सहयोग गर्न आवश्यक रहेको किसानहरुको माग रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?