बिपी स्मृति दिवसमा सानो बिपीको विचार

बिपीलाई कांग्रेस, कम्युनिष्ट, राजा र छिमेकीले समेत चिनेनन्

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । बिपी कोइरालाको पार्थिव अवसान भएको ४१ वर्ष पूरा भएको छ । तर, उहाँका विचार, व्यवहार तथा सिद्धान्त, कार्यनीति र रणनीतिबारे विशद् चर्चा निरन्तर छ । यही साउन ६ गते नेपाली कांग्रेससहित विभिन्न संगठन, समुदाय र विचार समाजले आयोजना गरेका कार्यक्रमका वक्ताहरूले बिपीका विचारमाथि थप विमर्शको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

प्रजातान्त्रिक विचार समाजले राजधानीमा आयोजना गरेको बिपी विचार विषयक गोष्ठीमा सानो बिपी भनेर परिचित नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली सन्दर्भमा आधुनिक राजनीतिक विचारका भाष्यकार बिपी कोइरालालाई राजा र कम्युनिष्टहरूले चिन्न नसक्दा राजनीतिले धेरै बांगोटिंगो यात्रा तय गर्नुपरेको विचार प्रकट गर्नुभएको छ ।

उहाँले स्वयं नेपाली कांग्रेसले समेत बिपीका विचारलाई राम्ररी अनुभूत गर्न नसकेको र नचिनेको तर्क गर्दै भन्नुभयो, ‘सानो देशको ठूलो नेता बिपीलाई छिमेकी देशहरू चीन र भारतले पनि चिन्न नसक्नुको परिणाम अनेक जटिलताहरू देखिँदैछन् । महामन्त्री शर्माले वर्तमान राजनीतिक अवस्थाको, नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरूको सम्बन्ध तथा गठबन्धनका विषयमा तर्कपूर्ण प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालले बिपीका स्वभाव र व्यवहारका केही उदाहरणसहित आजका दिनमा असल मानिसको खोजी नेपाली समाजले गरेको विचार प्रकट गर्नुभएको थियो । पूर्वमन्त्री डा. सुरेश मल्लले बिपी कोइरालाकै विचार संघर्षको परिणाम देशमा लोकतन्त्रको उदय भएको चर्चा गर्दै भन्नुभयो, ‘भोलि पनि बिपी विचारले नै देशका समस्या हल हुनेछन् ।’

कार्यक्रममा निवर्तमान सभापति डा. केदारनरसिंह केसीले संयन्त्रका रूपमा नेपाली कांग्रेसले बिपीका विचारहरूका आधारमा आफूलाई परिमार्जन गर्न सके मात्र उहाँको सम्मान हुनेमा जोड दिनुभएको थियो । डा. केसीले विचारको रिक्तता हुन नदिन र बिपीका विचारहरूलाई जनस्तरसम्म पु¥याउन प्रजातान्त्रिक विचार समाजको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि महामन्त्री शर्माले दीप प्रज्ज्वलन गरी आरम्भ गर्नुभएको कार्यक्रममा वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ चिकित्सक डा. अञ्जनीकुमार झा, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, डिएलएका अध्यक्ष सीताराम केसी, प्रजातान्त्रिक इञ्जिनियर एसोसिएसनका अध्यक्ष लक्ष्मण केसी, समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, महासचिव वासुदेव भण्डारी, महिला उपाध्यक्ष प्रा. मेनका श्रेष्ठले समेत बिपी विचारका विविध पक्षमा विचार प्रकट गर्नुभएको थियो । नवनिर्वाचित सभापति वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रा. बिसी मल्लको संस्थापक सभापतित्वमा २०५२ सालमा स्थापित प्रजातान्त्रिक विचार समाजले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, परिवर्तित राजनीति आदि विषयमा निरन्तर बहस चलाइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?