खेलाडीको छलाङ तर पूर्वाधार छैन

हिमालय टाइम्स
Read Time = 6 mins

महेन्द्रनगर । साफ प्रतियोगितामा कुस्तीमार्फत् मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुवे कञ्चनपुरका उत्पादन हुनुहुन्छ । हाल उहाँहरू चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट समेत भइसक्नुभएको छ ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध चुनारा र डडेलधुराका दुवे मुलुकको प्रतिनिधित्व गर्दै एसियाली खेलअघि प्रशिक्षणका लागि भारत जाँदै हुनुहुन्छ । दुवै खेलाडीसँग सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै तौल समूहमा स्वर्णपदक जितेको इतिहास छ । साथै १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा दुवेले रजत पदक र चुनाराले कांस्य जित्नुभएको थियो ।

त्यसो त चुनारा र दुवेसँगै कुस्तीबाट साफमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी संगीता धामी र साफमै पदक विजेता खेलाडी महिषा सिंह पनि यहाँकै उत्पादन हुनुहुन्छ । साथै पछिल्लो समय निकै लोकप्रिय बनेको क्रिकेटमा पनि कञ्चनपुरकै खेलाडीको योगदान ठूलो छ । राष्ट्रिय टोलीका भीम सार्की, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र प्रदीप ऐर पनि कञ्चनपुरकै उत्पादन हुनुहुन्छ ।

मुलुकलाई विभिन्न खेलमार्फत् अन्तर्राष्ट्रियस्तरमा मुलुकको नाम चिनाउन सफल यहाँका खेलाडीले न्यूनतम पूर्वाधारको सुविधा पनि पाउन नसकेको यहाँका सरोकारवाला गुनासो गर्छन् । यतिबेला कुस्ती खेलाडीहरू जिल्ला खेलकुद विकास समितिको कार्यालयसँगै जोडिएको साँघुरो हलमा प्रशिक्षण गर्न बाध्य छन् । सुदूरपश्चिम प्रदेश सरकार खेलकुद परिषद्ले निर्माण सुरु गरेको कुस्ती हल दुई वर्षभन्दा बढी समयदेखि अलपत्र अवस्थामा छ भने कहिले बन्ने हो टुंगो छैन । ‘कुस्तीका लागि हल बनाउन थालेको तेस्रो वर्ष लाग्यो,’ कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भन्नुभयो, ‘यसपालि पनि १० लाख बजेट आएको सुनेको छु ।’ उहाँका अनुसार अहिले खेलाडीहरू साँघुरो र अव्यवस्थित स्थानमा प्रशिक्षण गर्न बाध्य छन् ।

कञ्चनपुरमा कुस्तीको विकास आठौंँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितापछि भएको उहाँको भनाइ छ । आठौंँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरले कुस्तीमा ११ स्वर्ण, ६ रजत र आठ कांस्य पदक जितिसकेको छ । कुस्तीसँगै पछिल्लो केही वर्षयता कञ्चनपुरले भारोत्तोलनमा समेत उत्कृष्ट प्रदर्शनमात्रै गरेको छैन पदक पनि जितेको छ । हाल चीनमा हुने एसियाली खेलकुद प्रतियोगितामा भारोत्तोलनबाट पनि कञ्चनपुरका विकास भट्ट र नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भई बन्द प्रशिक्षणमा हुनुहुन्छ । दुवै खेलाडी कञ्चनपुरकै उत्पादन हुन् ।

महिलातर्फ भने भारोत्तोलनमा त्रिभुवन आर्मी क्लबका शारदा चौधरी र नेपाल प्रहरीका टीकामाया गुरुङ एसियालीका लागि छनोटमा पर्नुभएको छ । ‘चारजना खेलाडी लिएर पोखरामा बन्द प्रशिक्षण भइरहेको छ,’ एसियाली खेलकुदका लागि नेपालका भारोत्तोलन प्रशिक्षक कञ्चनपुरका जीवन गौतमले भन्नुभयो, ‘एसियाली खेलकुदका लागि बाहृय प्रशिक्षणका लागि पनि पहल हुँदैछ ।’ तर, खेल र खेलाडीप्रति सरोकारवालाको कुनै चासो नदेखिएको उहाँको गुनासो छ ।

‘पदक ल्याउने भनिएको खेलका लागि न त पूर्वाधार राम्रो छ न त सामग्री नै उपलब्ध हुन्छ,’ प्रशिक्षक गौतमले भन्नुभयो, ‘भनसुनका भरमा मात्रै सहयोग प्राप्त हुने अवस्था हावी बन्दै गएको छ ।’ यसअघि कञ्चनपुरबाट प्रतिनिधित्व गर्दै आएका भारोत्तोलन खेलाडीलाई खेल पोसाकसमेत दिन आनाकानी गरिएको उहाँले गुनासो गर्नुभयो । ‘जुनियर खेलाडीहरू प्रशिक्षणका लागि धेरै आइरहे पनि खेलाउने हल छैन,’ उहाँले भन्नुभयो, ‘प्रशिक्षणका लागि खेलाडीले हातमा लाउने चकको डिब्बासमेत नपाएको स्थिति छ ।’

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरमा दश खेलको प्रशिक्षण भइरहेको बताउनुभयो । कुस्ती, भारोत्तोलन, भलिबल, कबड्डीका साथै कराँते, बक्सिङ, एथ्लेटिक्सलगायतका खेलाडी यहाँ प्रशिक्षण गरिरहेका छन् । ‘प्रदेश सरकारको सहयोगमा १४ करोड लगानीमा बहुउद्देश्यीय कभर्डहल बन्दैछ,’ भट्टले भन्नुभयो, ‘तर बजेट र कार्यक्रम नआउँदा जिल्ला तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुन छाडेका छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?