पार्टी एकताबद्ध हुनुपर्नेमा कांग्रेस नेताहरूको जोड

लोकतान्त्रिक दलमा बहस स्वाभाविक भएको जिकिर

अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । साउन २ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बुधबार) सकिँदै छ । आज अपराहृन ४ बजे बस्ने बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने र बैठक समापन गर्ने तयारी छ । महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको विधान कार्यान्वयन र एकवर्षे कार्ययोजना तथा अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको विभिन्न १० एजेण्डालाई समेटेर बैठकका निर्णय सार्वजनिक गर्ने तयारी छ । केन्द्रीय समितिका निर्णय तयार पार्न पार्टी सभापति देउवाले मंगलबार केन्द्रीय समितिका पदाधिकारीसँग छलफल गर्नुभएको थियो ।

एक वर्षपछि बसेको जारी केन्द्रीय समिति बैठक सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रसारणका कारण ऐतिहासिक र चर्चित भयो । तर, कांग्रेसका पुरानै रोगले यसपटक पनि निरन्तरता पायो । एकसाता लामो बैठक एजेण्डा केन्द्रितभन्दा पनि आरोप-प्रत्यारोपमै सीमित भयो । संस्थापन र संस्थापनइतर पक्षबीचको आरोप-प्रत्यारोपले बैठकका एजेण्डा नै ओझेल परे । संस्थापनइतर पक्ष पार्टी नेतृत्वको गलत कार्यशैलीमाथि प्रहार गर्न केन्द्रित रह्यो भने संस्थापन पक्ष नेतृत्वको बचाउमा । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आरोपित केन्द्रीय सदस्य बालकृष्ण खाँणको बचाउ र निलम्बनको विषय बैठकको केन्द्रमा रह्यो ।

एकसाता लामो चलेको आरोप-प्रत्यारोप र तीक्तता मेटाउन भन्दै केन्द्रीय समिति बैठक बीचमै पूर्वमहामन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य डा.शशांक कोइरालाले चियापानको आयोजना गर्नुभयो । मंगलबार काठमाडौंको लैनचौरमा आयोजित चियापानमा पार्टीका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिसहित कांग्रेस कार्यकर्ताको उपस्थिति रह्यो । चियापानमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, परराष्ट्रमन्त्री एनपी साउद, मीनेन्द्र रिजाल, विनोद चौधरी लगायतका नेता पनि सहभागी भए । संस्थापन इतरका नेता डा.शेखर कोइराला भने कार्यक्रममा ढिलो गरी पुग्नुभएको थियो । शशांक निकटस्थहरूले चियापान कार्यक्रमलाई साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमितिमा देखिएको मत विभाजनको मिलनका रूपमा अर्थ लगाएका छन् । चियापानमा सहभागी नेताहरूले पार्टी एकताबद्ध भएर जानुपर्ने मत राखे पनि सभापति देउवाले भने चिया खान बोलाएकोमा डा. शशांकलाई धन्यवाद दिए पनि थप केही बोल्नुभएन ।

कांग्रेसको विकल्प अरू हुन सक्दैन : कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरू हुन नसक्ने दाबी गर्नुभएको छ । चियापान समारोहमा सहभागीलाई स्वागत गर्नेक्रममा कोइरालाले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने र अहिलेको आवश्यकता एकताबद्ध कांग्रेस हुनु रहेको बताउनुभयो । आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको प्रष्ट पार्दै डा. कोइरालाले भन्नुभयो, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकताबद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । पाँच दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ । नेपाली कांग्रेसको विकल्प अरू छैनन् नेपाली कांग्रेस नै हो । हामी एक भयौँ भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’

कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश : लेखक
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पार्टी अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताउनुभएको छ । पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वाभाविक प्रक्रिया भएको जिकिर गर्दै लेखकले भन्नुभयो, ‘बैठक राम्रोसँग सञ्चालन भएको छ । मूलतः दुई कोणमा व्यापक कुरा भयो । आन्तरिक जीवनका बारेमा कुरा भयो, विधान कार्यान्वयन, समिति पूर्णता दिने, राजनीतिक अभियान सञ्चालन गर्ने कुरामा धेरै कुरा भयो । साथै पार्टीको जीवनभन्दा बाहिर आम नागरिकको जनजीविका, दिनानुदिनको बारेमा छलफल भएको छ । यो बैठकले पार्टीभित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दै छ । फेरबदल अहिले कति देखिए कति देखिएनन् तर फेरबदल स्वाभाविक हुन् र यी हुन्छन् ।’

कांग्रेस देशको एक मात्र लोकतान्त्रिक पार्टी हो : निधि
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा अर्को कुनै नरहेको दाबी गर्नुभएको छ । देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतान्त्रिक गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको उहाँको जिकिर छ । पार्टीमा सभापति भर्सेस महामन्त्री भन्ने कुरा नरहेको स्पष्ट पार्दै निधिले भन्नुभयो, ‘पार्टी सभापति भर्सेस पार्टी महामन्त्री भन्ने कुरा छैन, भर्सेस केही पनि छैन । पहिला पनि थिएन, अहिले पनि छैन, नेपाली कांग्रेस डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो, मनमा लागेको कुरा सबैले भन्छन् । संविधानको सफल कार्यान्वयन र जनता र देशको हितमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य हो । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी कुनै छैनन्, देशमा अरू त कम्युनिष्ट छन्, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी छन्, लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै छ ।’

देशको राजनीतिक अवस्था खराब छ : गच्छदार
नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले नेपाल राजनीति अनिश्चितताको भुमरीमा फसेको टिप्पणी गर्नुभएको छ । नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता, अनिश्चिततामा फसेको र नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने जिकिर गर्दै भन्नुभयो, ‘नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भुमरीमा फसेको छ । नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ । नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ । नेपाली कांग्रेसको पाइलट सभापति हो, अरू पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन् । गुट, उपगुटमा नेपाली कांग्रेस नराम्रोसँग फसेको छ । देशको राजनीतिको अवस्था खराब छ ।’

महामन्त्रीद्वारा प्रस्तुत कार्यक्रम संस्थागत : बडू
नेपाली कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । महामन्त्रीले प्रस्तुत गरेको कार्यतालिका र कार्यक्रमहरू संस्थाको कार्यक्रम मानेर कार्यान्वयनका लागि एकजुट हुनुपर्नेमा जोड दिँदै नेता बडूले भन्नुभयो, ‘केन्द्रीय समितिका एजेण्डा सही छन्, व्यवस्थित रूपमा आएको छ । महामन्त्रीमार्फत यो सबैको एजेण्डा र कार्यक्रम हो । संस्थागत कार्यक्रम हो । यसको कार्यान्वयनको लागि पार्टीको संस्थागत र एकताबद्ध ढंगले जुट्नुपर्छ, यो अहिलेको आवश्यकता हो ।’

देश विकासको चेत आएन : पूर्वसभामुख रानाभाट
पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको टिप्पणी गर्नुभएको छ । मंगलबार काठमाडौंमा कांग्रेस नेता डा.शशांक कोइरालाले आयोजना गर्नुभएको चियापान कार्यक्रममा पूर्वसभामुख रानाभाटले कांग्रेस मुलुकका अहिलेसम्मका परिवर्तनहरूको संवाहक भएको र कांग्रेसले नै जनताको जीवन परिवर्तनको मुद्दा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय एकता कायम गर्ने भूमिकाबाट कांग्रेस पछि हट्न नहुने सुझाव दिँदै रानाभाटले भन्नुभयो, ‘राष्ट्रिय एकताका लागि सबै मिल्नुपर्छ । विचारधारा, झण्डा, नाराको झगडा चुनावमा हो । चुनावपछि सबै मिलेर देश विकास गर्नुपर्छ भन्ने चेत राजनीतिक पार्टीमा आएन ।’

भ्रष्टाचारको मुद्दामा कांग्रेस कठोर हुनैपर्छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचारको मुद्दामा पार्टी कठोर हुन जरुरी भएको टिप्पणी गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उहाँले भ्रष्टचारले गाँजिएको मुलुकमा कांग्रेस भ्रष्टचारमा शून्य सहनशीलताको हिसाबले अगाडि बढ्नुपर्ने बताउनुभएको हो । भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्य समाप्त हुने तर्क उहाँको छ । नेता कोइरालाले राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिराखेको बताउनुभयो । उहाँले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजिएको मैले पाइराखेको छु । जता हे¥यो, जसरी हे¥यो, जहाँ हे¥यो त्यहीँ भ्रष्टाचार देखिन्छ । यो केन्द्रीय समितिपछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको हिसाबले हामी अगाडि बढ्नैपर्छ । नत्र भने नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘दण्डहीनताको अन्त्य हामीले सकिराखेका छैनौँ । राज्य नै दण्डहीनतालाई बढाउने प्रयास गरिराखेको छ । हुँदाहुँदा कानुन नै हामीहरू यस्तो बनाउन खोज्दै छौँ, जुन कानुन फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरूलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने । यस्ता कुराहरूले हामीहरूको छवि, भ्रष्टाचार र दण्डहीनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छु । भुटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरूले आफ्नो अनुहार कसरी देखाउने ?’
उहाँले यो कुराहरूलाई शून्य सहनशीलताको रूपमा लिएर नेपाली कांग्रेस केन्द्रीय समिति बैठकपछि अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई विधि र विधानसम्मत रूपमा चलाउन सबै एकजुट हुनपर्ने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?