बिदा दिएर शहीदको सम्मान हुन्छ भन्ने कुरा गलत हो : प्रदीप पौडेल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले शहीदको सम्मानका लागि बिदा दिने कुरा ठिक नभएको बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानिसलाई युद्धमा ल्याउने नेतृत्वले उनीहरुको परिवार र देशका लागि काम गरेर देखाए मात्रै उनीहरुप्रतिको सम्मान हुने बताउनु भयो ।

उहाँले नेपालको गरिबी अन्त्य गर्ने, जनयुद्धमा सहादत प्राप्त गरेका शहीदको सम्मान हुने, उत्पीडित जनताले सुख पाउने गरी देश समृद्ध हुने नीति ल्याएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालको काम सही रहेको ठहर हुने बताउनु भयो । उहाँले सत्तामा बस्ने जनताका निम्ति कुनै काम नगर्ने र कुनै दिन बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा कस्तो परिस्थिति छ भने सही गलत के हो ? त्यो नछुट्याउने । सत्तामा छु की विपक्षमा छु, भन्ने आधारमा अभिव्यक्ति दिने जुन चलन छ, त्यो गलत छ । केपी शर्मा ओली ज्युले आज आएर जनयुद्ध दिवसको दिनमा दिएको बिदाको बिरोध गर्ने कुरामा कुनै तुक छैन । किनभने उहाँले प्रचण्डजीलाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेको बेला थियो । उहाँहरुले त्यो बेलामा बिदा दिनका निम्ति समर्थन गर्नुभयो । उहाँहरुको समर्थनको कारणले कथित जनयुद्ध दिवसको दिन बिदा दिनेकुरा स्वीकृत भयो । जसको समर्थनका कारणले स्वीकृत भएको हो, त्यो व्यक्ति एक वर्षपछि गलत थियो भन्ने, त्यही बेलामा किन भन्न नसकेको ? त्यो बेलामा उहाँ सत्तामा हुनुहुन्थ्यो, त्यो कुरा गलत थियो, त्यसैले स्वीकार गर्नुभयो । आज विपक्षमा हुँदा बिरोध गर्नुहुन्छ । आफ्नो आसनका आधारमा अभिव्यक्ति दिने, सत्ता लिप्सा, सबैथोक सत्ता हो, सत्ता बिना राजनीति छैन, भन्ने सोच गलत छ । यो शिर्ष नेतृत्वमा छ । यसरी बिदा दिने मानि लिऔँ त्यो जनयुद्ध दिवस नै थियो, त्यो महान दिन थियो । वा त्यसमा धेरैले योगदान गरेका थिए भनेपनि ती मान्छेको सम्मानका लागि बिदा दिने होइन, ति मानिसलाई युद्धमा ल्याउने जुन नेतृत्व छ, त्यसको पक्षमा, उनीहरुको परिवार र देशको पक्षमा काम गरेर देखाउन सक्नुपर्छ । बिदा दिएर कहीँ सम्मान हुन्छ ? जनयुद्ध शुरु गर्ने नेता देशको प्रधामन्त्री हुनुहुन्छ । देशको प्रधानमन्त्री भएर उहाँले नेपालको गरिबी अन्त्य गर्ने, जनयुद्धमा सहादत प्राप्त गरेका शहीदको सम्मान हुने, उत्पीडित जनताले सुख पाउने गरी देश समृद्ध हुने नीति ल्याएमात्रै उहाँको काम सही रहेछ भन्न सकिन्छ । सत्तामा बस्ने जनताका निम्ति कुनै काम नगर्ने र कुनै दिन बिदा दिएर शहीदलाई सम्झने कुरा गलत हो । राष्ट्रिय बिदा आधा घटाउनु पर्छ । जनयुद्ध दिवस लगायत अन्य दिनमा दिइएका थुप्प्रै बिदा कटौती गर्नुपर्छ ।’

नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको दिनमा दिएको बिदाको बिरोध गर्ने कुरामा कुनै तुक नरहेको जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?