लागूऔषधमा फस्दै महिला

हिमालय टाइम्स
Read Time = 8 mins

-नन्दराम जैशी

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशका महिलाहरू पनि लागूऔषधमा फस्न थालेका छन् । लागूऔषध कारोबार तथा सेवनमा यहाँका महिलाहरूको संलग्नता बढ्दै गएको हो । पहिले लागूऔषधका बारेमा अन्जानजस्तै महिलाहरू पनि पछिल्लो समय यो मुद्दामा धमाधम पक्राउ पर्न थालेका छन् । विगत तीन आर्थिक वर्षको तथ्यांकलाई मात्रै हेर्दा लागूऔषधको मुद्दामा ३९ जना महिला पक्राउ परिसकेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा एक सय २१ जना पुरुष पक्राउ पर्दा १५ जना महिला रहेका थिए । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १६४ जना पुरुष पक्राउ पर्दा आठजना महिला पक्राउ भएका थिए । गत आर्थिक वर्ष २०७९/०८० मा १९८ जना पुरुष पक्राउ पर्दा १६ जना महिला लागूऔषधको सेवन र कारोबारको मुद्दामा पक्राउ परेका छन् ।

पारिवारिक तथा आर्थिक समस्याका कारण लागूऔषध ओसारपसार तथा सेवनमा महिलाको सक्रियता बढ्न थालेको प्रहरीले जनाएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकअनुसार कर्णाली प्रदेशका १० जिल्लामा कुल एक हजार आठ सय ११ जना लागूऔषध सेवनकर्ता छन् । शिक्षाको कमी, बेरोजगारी, पारिवारिक स्थिति, देखासिकी, सामाजिक तथा आर्थिक कारण युवा, युवतीहरू लागूऔषध दुव्र्यसनीमा फस्दै गएको पाइन्छ । आवश्यक कानुनको जानकारी नहुनु तथा लागूपदार्थको दीर्घकालीन समस्याका बारेमा आवश्यक जनचेतनासमेत नहुनुले पनि युवाहरू लागूपदार्थको दलदलमा पर्दै गएका हुन् ।

लागूपदार्थ रोकथाम र न्यूनीकरणका लागि स्थानीय तह तथा प्रदेश सरकारले प्रभावकारी कार्यक्रमहरू अगाडि सार्नुपर्नेमा त्यसो भने हुन सकेको छैन । प्रहरीको सक्रियताले लागूपदार्थ कारोबार र प्रयोगको ग्राफ बढेको भए पनि यसमा संलग्न मुख्य कारोबारी भने अझैसम्म पनि पक्राउ पर्न सकेका छैनन् । मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागूपदार्थ वा औषध हुन् । यसको सेवनले ध्यान केन्द्रित नभई सिक्ने क्षमता कम हुदै जाने, मानसिक रोगको प्रभाव पर्ने, आत्तिने, मति भ्रम हुने, कुपोषणजस्तो देखिने, तौल घट्दै जाने, स्मरणशक्ति कम हुँदै जाने, महिनावारी गडबढ हुने, ग्यास्ट्रिक, अल्सरजस्ता रोग लाग्ने, क्षयरोग एचआइभी, एड्स तथा हेपाटाइटिसजस्ता रोगको सिकार भई अन्त्यमा ज्यानैसमेत जान सक्ने चिकित्सकहरू बताउँछन् । लागूऔषध सेवन र कारोबारमा संलग्नलाई लागूऔषध नियन्त्रण ऐन, २०२३ बमोजिम धरौटी, कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

सुर्खेत हटस्पट बन्दै
पछिल्लो समय सुर्खेतको वीरेन्द्रनगर लागूपदार्थ कारोबार तथा सेवनका रूपमा हटस्पट बन्दै गएको छ । सुर्खेत प्रहरीले गत असार १ गतेदेखि साउन ३ गतेसम्मको अवधिमा वीरेन्द्रनगरका विभिन्न ठाउँबाट लागूपदार्थ कारोबार तथा सेवनको मुद्दामा २६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म कर्णालीका सात जिल्लाबाट लागूपदार्थ सेवन र प्रयोग गरेको मुद्दामा २१४ जनालाई पक्राउ गर्दा सुर्खेतमा मात्रै १४९ जना पक्राउ परेका थिए ।

सुर्खेतमा मात्रै होइन बर्सेनि कर्णालीका माथिल्ला जिल्लामा सयौँको संख्यामा युवाहरू लागूपदार्थसहित पक्राउ परिरहेका छन् । लागूपदार्थको मुख्य ट्रान्जिट बनेको सुर्खेतबाट यातायातको पहुँच बढेसँगै विस्तारै दुर्गम जिल्लामा समेत लागूपदार्थ प्रयोगकर्ताहरू बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

जसअनुसार आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म जुम्लामा १२ मुद्दामा ३० पुरुष र एक महिला पक्राउ परेका छन् । यस्तै मुगुमा तीन मुद्दामा सात पुरुष र एक महिला, दैलेखमा चार मुद्दामा नौ पुरुष पक्राउ परेका छन् । भने कालीकोटमा तीन मुद्दामा पाँच पुरुष एक महिला, जाजरकोटमा दुई मुद्दामा सात पुरुष, एक महिला र सल्यानमा दुई मुद्दामा तीन पुरुष पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । पक्राउ पर्नेहरू प्रायजसो ३० वर्षमुनिका युवा तथा युवती रहेका छन् ।

फैलँदै लागूपदार्थको जालो
प्रहरीको सक्रियतामा लागूऔषध सेवनकर्ता र ओसारपसारमा संलग्नहरू धमाधम पक्राउ पर्न थाले पनि मुख्य कारोबारी भने खासै पक्राउ परेको देखिँदैन । नेपाल–भारत खुला सिमाना भएकाले भारतीय बजारबाट लागूऔषध नेपालगञ्जको बाटो हुँदै सुर्खेतबाट सोझै कर्णालीका अन्य जिल्लामा पुग्ने गरेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा हरेक वर्ष लागूऔषध प्रयोगकर्ता र कारोबारीको जालो फैलिँदै गएको बताउनुहुन्छ । उहाँका अनुसार यातायात सेवा पुगेको ठाउँमा बढी लागूऔषध कारोबार हुने गरेको पाइन्छ ।

लागूऔषध कारोबार तथा ओसारपोसार नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेरमात्रै नहुने भन्दै सबै निकायको साथ आवश्यक पर्ने उहाँको भनाइ छ । लागूऔषध न्यूनीकरणका लागि हालसम्म भएका प्रयासको विश्लेषण गर्दै वर्तमानको अवस्था हेरेर थप योजनाका साथ प्रहरी अगाडि बढ्ने उहाँले बताउनुभयो । लागूऔषध कारोबारी र प्रयोगकर्ताको खोजी गरी कानुनी दायरामा ल्याउने नियमित कामलाई विशेष योजनासहित प्रहरीले अगाडि बढाएको छ । यस्तै, जनचेतनाको अभियानलाई प्रहरीले विद्यालयस्तरबाट थालनी गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?