पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

त्यस्तै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

मनसुनको रेखा, मनसुनी वायु र न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णालीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार पनि देशका पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज दिउँसो पहाडी भूभागका केही स्थान, तराईका र अन्य भू-भागाका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्ले अनुरोध गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?