काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा सुधार नभएसम्म देशको स्वास्थ्य अवस्था नसुध्रिने बताउनुभएको छ । देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालको सुधार नगरी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफू लागिपरेको बताउनुभएको हो । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्नदेखि भिआइपीसम्मका बिरामीले महसुस गर्नेगरी काम गरेको उल्लेख गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै बिरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रूपमा विकास गरेको दाबीसमेत गर्नुभयो । वीर अस्पतालका ७०० शैय्या विपन्नका लागि निुःशल्क गरेको, आकस्मिक कक्षमा शैय्या संख्या बढाएको, ओपिडी सेवा बिहान आठ बजेदेखि बनाएको, अनलाइनबाट पनि टिकट काट्ने व्यवस्था लागू गरेको, भिआइपी र भिभिआइपी कक्ष दुईवटा बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको महसुस हुनेगरी काम भएको उहाँको भनाइ छ । वीर अस्पताल सुधार्न अस्पतालको सिंगो टिमको उल्लेख्यनीय भूमिका रहेको भन्दै मन्त्री बस्नेतले भन्नुभयो, ‘वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन् । उहाँहरूको संयुक्त पहलबाट वीरमा सुधार सम्भव भएको छ । वीर अस्पताल गरिब, विपन्न मात्र नभएर भिआइपीहरूको उपचारको पनि केन्द्र हुनुपर्ने सरकारको योजनाअनुसार काम अगाडि बढिरहेको छ ।’
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा.भूपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ अगाडि बढाइरहेको भन्दै निकट भविष्यमै आइसियुको संख्या बढाएर सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । १५ शै्ययाबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शैय्या सञ्चालन हुने क्रममा छन् । ३८६ शै्ययाको अस्पताल हुँदा दुई अर्बभन्दा बढी बजेट विनियोजन हुने गरेको तर यो वर्ष ७३ करोड मात्र बजेट विनियोजन भएको छ । वीरबाट गएको वर्ष ओपिडी, इमरजेन्सी गरेर पाँच लाख ६६ हजार जना बिरामीले सेवा पाएका छन् । समारोहमा मन्त्री बस्नेतले उत्कृष्ट कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मानित गर्नुभएको थियो ।
समाजसेवामा फाइदा लिने मानिसको काम हुँदैन
यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरूको काम नहुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा ५८औँ रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनसेवा गर्ने संकल्प लिएकाहरू मात्रै समाजसेवामा राम्रो हुने बताउनुभयो । मन्त्री बस्नेतले नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेका कामहरू महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले देशमा अप्ठ्यारो परेका बेलामा र रगत चाहिएका बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्वपूर्ण हुने बताउनुभयो । उहाँले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समाजसेवामा फाइदा लिने मानिसहरू लागेर काम छैन । जनसेवा गर्ने संकल्प लिएकाहरू मात्रै यो क्षेत्रमा ठिक हुन्छ । त्यसकारण नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्र जुन–जुन क्षेत्रबाट भए पनि आजसम्म यो देशमा अप्ठ्यारो परेका बेलामा, रगत चाहिएका बेलामा दिँदै आएको छ । यो आफ्नो रगत दिएर अरूलाई बचाउने कुराको महत्व भनिरहनु पर्दैन । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म ।’
मन्त्री बस्नेतले काम जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताउनुभयो । देशमा भएका फार्मेसीहरूको निरीक्षण गर्दा विधिसम्मत रूपमा नचलेका फार्मेसीहरू बढी रहेको पाइएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच