नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस् : उपप्रधानमन्त्री खड्का

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गर्नुभएको छ ।

नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयरबेसको निरीक्षण गर्दै उहाँले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरुभन्दा भिन्न रहेको बताउनुभयो ।

उहाँले यसको सेवालाई अझै बढी विश्वसनीय बनाई जनसेवामा समर्पित गर्ने दिशामा बढी ध्यान दिन पनि आग्रह गर्नुभयो । अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको भन्दै उहाँले सरकारले यसको सधैँ उच्च मूल्याङ्कन गरिरहेको स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री खड्काले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक विपद् तथा उद्धारका काममा रातदिन खटेर काम गरेकोमा नेपाली जनताले सधैँ सम्मान गर्ने बताउनुभयो ।

नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन तथा यहाँ काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको उहाँको भनाइ थियो ।

रक्षामन्त्री खड्काले भन्नुभयो, “तपाईंहरू एकातिर सैनिक र अर्कोतिर हवाई अनुशासनमा बस्ने पेशामा हुनुहुन्छ, तपाईंहरूको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको छ, त्यसैले सेवालाई अझै गुणस्तरीय बनाउनुहोस् ।”

उहाँले नेपाली सेनाका सबै जहाज तथा हेलिकोप्टर २४सै घण्टा सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिनुभयो । “जहाज मर्मत गर्दा पनि धेरै लामो समय ग्राउन्डेड भएर बस्नुपर्ने अवस्था नहोस्, सबै काम पारदर्शीरूपमा छिटो छरितो होस्, त्यसका लागि नीतिगत रूपमा कुनै निर्णय गर्नुपर्ने भए सरकार र मन्त्रालय सधैँ तयार रहन्छ”, उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?