संविधानमा भएका कमी कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ : देउवा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको छ । शनिबार नुवाकोट कांग्रेसको खीर खाने र चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले संविधानमा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । राष्ट्रिय एकतालाई स्थायी गराउने अहिलेको मुख्य कर्तव्य रहेको उहाँको भनाइ थियो । ‘हाम्रो आवश्यकता र कर्तव्यअनुसार सबै पार्टीबीच एउटा सहमति भएर लोकतान्त्रिक संविधान बनेको छ । यो संविधानलाई स्थायी रूपमा अगाडि बढाउँदै यसमा भएका कमी कमजोरीको उपचार गर्ने प्रशस्त ठाउँ छ,’ उहाँले भन्नुभयो, ‘अहिले नै त्यो सुधार्ने ठाउँ नहोला । भोलिका दिनमा हुनसक्छ । अहिलेको महत्वपूर्ण कुरा राष्ट्र र राष्ट्रिय एकता हो । राष्ट्रको सार्वभौम सत्ता हो । राष्ट्रिय एकतालाई स्थायी गराउने हाम्रो कर्तव्य हो ।’

सभापति देउवाअघि बोल्नुभएका कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । पार्टी बलियो बनेपछि सबै बलियो हुने उहाँले बताउनुभयो । ‘हामी पाँचै वर्ष इलेक्सन मोडमा छौँ । अहिले पनि मिसन २०८४ भनेर हामी भनिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘मूल कुरा त पार्टी विस्तार गर्ने, पार्टीलाई बलियो बनाउने हो । पार्टी बलियो बनेपछि हामी सबै बलियो हुने हो ।’ सामाजिक सञ्जालमा एकले अर्कोलाई खुइल्याउने काम भइरहेकोप्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

सबै नेता बिग्रिएका होइनन् : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताउनुभएको छ । सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता लेख, रचना सम्प्रेषित नगर्न उहाँले साहित्यकारहरूलाई आग्रह गर्नुभयो । अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत गनेर महिलाहरूको दाँत २८ हुन्छ भनेजस्तै हाम्रा स्रष्टाहरूले पनि सबै नेताहरूलाई बिग्रिएको भन्नु उस्तै हुने बताउनुभयो ।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘युगदूत’ नामक पुस्तक विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले साहित्यकार वासुदेव अधिकारीद्वारा लिखित ‘सबै नेता बिग्रिए’ शीर्षक कविताको रचनालाई उद्धृत गर्दै यस्तो बताउनुभएको हो । ‘राजनीति भनेको सबै नीतिहरूको मूलनीति हो । राजनीति भ्रष्ट, छुल्याहा, चुक्लीचाक्लीवाला, ढाँट छलवाला, धोकावाला नीति होइन,’ उहाँले भन्नुभयो, ‘सबै नीतिहरूको मुहान भएकोले मुहानलाई धमिलो बनाउनु हुँदैन । सबै मुहान फोहोर छैनन् । सबै नेता बिग्रिएका होइनन् ।’ कतिपय नेताहरू बिग्रिएको सत्य भएकाले त्यस्ता तथ्यलाई आत्मसाथ गरेर साहित्यिक सृजना गर्न उहाँले सुझाव दिनुभयो । ओलीले नेपालले सामाजिक न्याय र समानताको क्षेत्रमा् विकसित देशहरूले भन्दा बढी प्रगति गरेको दाबीसमेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?