सुदूरपश्चिममा गौरा पर्व कहिले मनाउने भन्ने विषयमा ज्योतिषहरू नै विभाजित

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ मा गौरा पर्व पर्ने उल्लेख गरेको छ । तर, सुदूरपश्चिमका ज्योतिषीहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय भन्दा फरक मत राखेका छन् । भदौ ७ गते साउन शुक्ल पक्षको अष्टमी तिथि परेको, पुत्रदा एकादशी अर्थात् गौरे एकादशी र जनैपूर्णिमा पनि ७ गतेपछि परेकाले गौरा पर्व भाद्र कृष्णाष्टमी अर्थात् भदौ २१ गते मान्नुपर्ने तर्क अगाडि सारिएको छ । तर, सुदूरपश्चिमकै केही ज्योतिषहरू भने भदौ ७ गते नै गौरा पर्व मान्नुपर्ने अडानमा छन् ।

उनीहरूले गौरा पर्वलाई विवादित बनाउनु गलत भएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय आधिकारिक हो भन्ने तर्क प्रस्तुत गरेका छन् । भदौ २० गते अगस्तोदय हुने भएकाले भदौ ७ मै गौरा पर्व मान्नुपर्ने ज्योतिष खगेन्द्रप्रसाद अवस्थीको मत छ । ‘भदौको २० गतेपछिको समय अगस्तोदयको समय हो । अगस्तोदयको दोषको कारणले मात्रै ७ गते गौरा मान्नुपर्ने अवस्था आएको हो,’ उहाँले भन्नुभयो, ‘भदौ २१ गते अगस्तोदयको दोष नमान्नेहरूका लागि हो । उहाँहरूले पुराणका बचनको आधारमा २३ गते अगस्तोदय हुने हिसाब निकालेका छन् । पञ्चाङ्ग निर्णायक समितिले ७ गते नै गौरा भनेको छ ।’

लोक परम्परा र शास्त्रीय मान्यताअनुसार साउन श्रावण शुल्क पक्षमा गौरा पर्व नहुने तर्क गरिएको छ । पुत्रदा एकादशी अर्थात् गोरे एकदशी व्रत बसेर, जनैपूर्णिमापछि गौरा पर्व पर्ने जिकिर गरिएको छ । शास्त्रीय मान्यताअनुसार ‘अगस्त्य’ उदाउनु भन्दा पूर्व नै गौरा मनाउनु पर्ने विषयमा सबै एकमत भए पनि सुदूरपश्चिममा अगस्तोदय २१ गतेपछि हुने भएकाले गौरा पर्व २१ गते मान्नुपर्ने तर्क ज्योतिष घनश्याम लेखकको छ ।
‘भविष्य पुराणमा अगस्तोदयको पूजा २३ गतेपछि गर्नु भनेकाले अगस्तोदयको दोष २३ गतेपछि लाग्छ । पूराना पात्रोहरूमा २३ गतेसम्म गौरा मनाएका उदाहरणहरू छन्,’ उहाँले भन्नुभयो, ‘दुबधाको भनेको जनैजस्तै भएकाले त्यो धारण गर्न पुत्रदा एकादशी, श्रावणी पूर्णिमा र नाग पञ्चमी हुनुपर्ने भएकाले २१ गते नै गौरा पर्व मनाउनु शास्त्रीय र लोक परम्परा हो ।’

राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंलाई केन्द्र मानेर समय गणना गरी भाद्र २१ गते अगस्त्य उदय हुने दिन तोकेको छ । त्यसैले २१ गते गौरा मनाउन उपयुक्त छैन भन्ने तर्क गलत भएको जिकिर गरिएको छ । ज्योतिषीय गणनामा सुदूरपश्चिमको स्थानीय अगस्तोदय र काठमाडौंको स्थानीय अगस्तोदयका बिचमा तीन दिनको अन्तर हुने भएकाले सुदूरपश्चिममा २३ गते मात्रै अगस्तोदय हुने प्रमाण र आधार प्रस्तुत गरिएका छन् । स्थानीय चाडपर्वका तिथि-मिति निर्धारण गर्दा स्थानीय अक्षांश र देशान्तरअनुसार गणितीय हिसाब गर्नुपर्ने जिकिर गरिएको छ ।

बिगतको स्थापित नजिर र निर्णयसिन्धु तथा धर्मसिन्धुलगायतका ग्रन्थहरूको आधारमा सुदूरपश्चिममा २१ गते नै गौरा पर्व मान्नुपर्ने ज्योतिषीय र सांस्कृतिक आधार रहेको ज्योतिष लेखकको भनाइ छ । तर, स्थान विषेशका लागि सोही ठाउँ या क्षेत्रलाई केन्द्र मान्दा अगस्तोदय र अस्त हुने समयमा केही दिनको अन्तर हुने ज्योतिषहरूले बताएका छन् । यो वर्ष अधिक मास परेकाले भदौ ७ र २१ मध्ये कुन दिन गौरा पर्व हो भनेर वादविवाद चुलिएको हो । ज्योतिषीहरूका बिचमा देखिएको मतभेदले यो वर्ष केही स्थानमा भदौ ७ र केही स्थानमा भदौ २१ गते गौरा पर्व मनाइने सम्भावना देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?