चीनको विनिर्माण क्षेत्रको गतिविधिमा लगातार चौथो महिना पनि संकुुचन

Read Time = 3 mins

बेइजिङ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई उकास्ने उद्देश्यले अधिकारीहरूले नयाँ उपायहरू जारी गरेपनि जुलाईमा चीनको विनिर्माण क्षेत्रको गतिविधि लगातार चौथो महिना संकुचित भएको तथ्यांकले देखाएको छ । नेशनल ब्युरो अफ स्टाटिस्टिक्स (एनबीएस)का अनुसार आधिकारिक ‘म्यानुफ्याक्चरिंग पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई)’ ४९.३ मा आएको छ, जुन विस्तार र संकुुचनलाई छुट्याउने ५० अंकभन्दा कम हो ।

विनिर्माणसम्बन्धी गतिविधि जुलाईमा जूनको ४९.० को तथ्यांकभन्दा सामान्य बढी भए पनि यसमा सामान्य वृद्धि भएको छ । यो वृद्धि ब्लुमबर्ग सर्वेक्षणको पूर्वानुमानभन्दा राम्रो देखिएको छ । एनबीएसका तथ्यांकविद् झाओ किङ्हेले भन्नुभयो, ‘विनिर्माण समृद्धिको समग्र स्तरमा सुधार भइरहेको छ ।’

चीनले कोरोना भाइरस (कोभिड-१९) पछिको पुनरुत्थानको गति कम हुँदै जाँदा र उपभोक्ताको खर्चमा आएको सुस्तताका कारण आर्थिक वृद्धिमा सुधार ल्याउन संघर्ष गरिरहेको छ । सेवा र निर्माण क्षेत्रमा व्यावसायिक भावना मापन गर्ने गैर–विनिर्माण पीएमआई जुनमा ५३.२ प्रतिशत रहेकोमा जुलाईमा ५१.५ प्रतिशत विन्दुमा झरेको छ । यसो हुनुमा चिनियाँ पुँजी बजार सेवाहरू र रियल इस्टेटका गतिविधिमा आएको संकुुचन जिम्मेवार रहेको देखिएको छ ।

हालैका महिनाहरूमा निराशाजनक आर्थिक तथ्यांकले अधिकारीहरूलाई नयाँ आर्थिक समर्थन उपाय अनावरण गर्न उत्प्रेरित गरेको छ । सरकारले सोमबार उपभोग बढाउन २० बुँदे योजना सार्वजनिक गरेको छ, जसमा आवासको माग, संस्कृति र पर्यटन क्षेत्र र विद्युतीय सवारी जस्ता हरित खपतका लागि थप सहयोग समावेश छन् । यसै महिना चीनले दोस्रो त्रैमासिकमा आफ्नो अर्थतन्त्र ६.३ प्रतिशतले वृद्धि भएको बताएको थियो, जुन विश्लेषकहरूको सर्वेक्षणको आधारमा एएफपीले गरेको ७.१ प्रतिशतको प्रक्षेपणभन्दा निकै कमजोर थियो ।

चिनियाँ शीर्ष नेताहरूले अर्थतन्त्रले ‘नयाँ कठिनाइ र चुनौतीहरू’ का साथै ‘प्रमुख क्षेत्रहरूमा लुकेका खतराहरू’ को सामना गर्नुपरेको चेतावनी दिएका छन् । झाओले सोमबार विदेशी मागको कम मात्रालाई संकेत गर्दै ‘जटिल तथा गम्भीर बाहृय वातावरण’ र कमजोर माग हुनुलाई चिनियाँ निर्माताहरूका लागि प्रमुख चुनौतीको रूपमा वर्णन गर्नुभएको थियो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?