बागमती प्रदेशमा ओलम्पियन संघको स्कुल टु ओलम्पिक कार्यक्रम

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली ओलम्पियनहरूको छाता संगठन नेपाल ओलम्पियन्स संघले बागमती प्रदेशमा पहिलो स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपिएफ स्कुलमा संघले ओलम्पिक अभियान र ओलम्पियनहरूबारे परिचयात्मक कार्यक्रमसहितको स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमअघि ओलम्पियनहरूले स्कुल प्रांगणमा हलुवावेद रुखको वृक्षारोपण गरेका थिए । वृक्षारोपणमा ओलम्पिकका चारपटक सहभागी कीर्तिमानी बैकुण्ठ मानन्धर, दीपक विष्ट, राजेन्द्र भण्डारी र प्रमिला रिजालको सहभागिता थियो । त्यस्तै, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ पनि वृक्षारोपणमा सहभागी हुनुहुन्थ्यो ।

त्यसपछि आयोजित अन्तरक्रियामा ओलम्पियनहरूले झण्डै चार सयको संख्यामा रहेका विद्यार्थीसँग अनुभव साट्दै उनीहरूको जिज्ञासा शान्त पार्ने प्रयास गरेका थिए । नेपाल ओलम्पिक संघका महासचिव निलेन्द्रराज श्रेष्ठले ओलम्पिकको महत्व र ओलम्पिक चार्टर तथा नेपालमा ओलम्पिक अभियानबारे प्रकाश पार्नुभएको थियो ।

ओलम्पियन बैकुण्ठ मानन्धरले नेपाली ओलम्पियनहरूले आफ्नै बलबुताले नेपाल र नेपालीको गौरव उचो राख्ने काम गरेको बताउनुभयो । एपिएफ स्कुलका धावक अजित यादवले जुनियर एसियन च्याम्पियनसिप जितेको उदाहरण दिंँदै मानन्धरले चाहृयो भने सबैले खेलकुदमा आफ्नो छुट्टै स्थान बनाउन सक्ने भएकाले दत्तचित्त भएर लाग्न सुझाव दिनुभयो ।

त्यस्तै, छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने नेपालका पहिलो खेलाडी दीपक विष्टले आफूले निकै ढिलो तेक्वान्दो सुरु गरेर पनि सफलता प्राप्त गरेको भन्दै सानै उमेरबाट खेलकुदमा लागे सफलता छिटो हात लाग्ने बताउनुभयो । चोटग्रस्त हुँदा पनि राष्ट्रका लागि खेल्नुपर्छ भन्ने भावना भएकाले नै आफूले चारपटक सागको स्वर्ण पदक, एसियाली खेलकुदमा दुई कांस्य पदक र ओलम्पिकमा सहभागिता जनाउन सफल भएको उल्लेख गर्नुभयो ।

धावक राजेन्द्र भण्डारीले डोपिङ प्रकरणमा परेर सागका दुईवटा स्वर्ण गुमाएको प्रसंगलाई जीवनको कालो दिनका रूपमा लिएको बताउनुभयो । तर, आफूमाथि लागेको दागलाई मेट्नैपर्छ भन्ने उद्देश्य लिएर अघि बढ्दा नै सागमा अर्को स्वर्ण जित्न सकेको उहाँले सुनाउनुभयो । खेलाडीको जीवनमा नसोचेका उतारचढावहरू आउने भएकाले चनाखो हुन उहाँले आग्रह गर्नुभयो ।

ओलम्पियन प्रमिला रिजालले महिलालाई अन्य क्षेत्रमा जस्तै खेल क्षेत्रमा लाग्न पनि सजिलो नरहेको बताउनुभयो । घर परिवार र समाजको बन्धनलाई चिर्दै अघि बढेकाले नै आफू एपिएफ क्लबको एकमात्र ओलम्पियन हुन सकेको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा फुटबलका पूर्वकप्तान अनिल गुरुङले नाम र दामका लागि भन्दा पनि राष्ट्रका लागि केही गर्ने र राष्ट्रिय झण्डा अंकित जर्सी लगाउने लोभमा आफू फुटबलमा लागेको सुनाउनुभयो । देशकै अवस्था राम्रो हुन नसकेकाले खेल र खेलाडीको अवस्थामा सुधार नआएको उहाँको कथन थियो ।

अन्तरक्रियामा विद्यार्थीले खेलाडीहरूलाई नेपालमा खेल र खेलाडीको अवस्था, खेलमा लागेर हुन सक्ने कमाइ, राज्यले लिएको खेल नीति र ओलम्पिकमा सहभागिता जनाउन गर्नुपर्ने मिहेनतबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा एपिएफ स्कुलका विद्यार्थीले नृत्य र तेक्वान्दोको फाइट प्रस्तुत गरेका थिए ।

एपिएफ स्कुलका प्रधानाध्यापक युवराज पराजुली र स्कुल इन्चार्ज डिएसपी लक्ष्मी थपलियाले ओलम्पियनहरूलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो । ओलम्पियनहरूको जीवनबाट विद्यार्थीहरूले धेरै नै सिक्ने मौका पाएको उनीहरूको कथन थियो ।

संघले यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न विद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरिसकेको छ । छिट्टै नै गण्डकी प्रदेशमा पनि यस्तै कार्यक्रम गरिने संघका अध्यक्ष दीपक विष्टले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?