रुद्री र राज्य :

Read Time = 12 mins

✍️ तिलकप्रसाद लुइँटेल

द्विपदायाश्चतुष्पदास्त्रिपदायाश्चषट्पदाः ।
विच्छन्दायाश्चसच्छदाः सूचीभिः शम्यन्तुत्वा ।१.३।
दुई पद, चार पद, तीन पद, छ पद भएका छन्द जो छन् र छन्द विहीन वा छन्द सहितका ती सबै सूचीहरूले तिमीलाई शान्ति दिउन् ।
अष्टाध्यायी रुद्रीको पहिलो अध्यायको तेस्रो मन्त्र यही हो । यजुर्वेद संहिताको २३औं अध्यायको ३४ मन्त्र पनि यही हो । वेदमा यस मन्त्रका ऋषि दधिक्रावा वामदेव्य हुन् भन्नेछ । दधिक्रा शब्द ऋग्वेदमा अश्वको वाचक पनि छ । यजुर्वेदमा ऋषिको नाम यही भएको र वामदेव्य पनि साथमै हुनाले ऋषि वामदेवसँग यिनको सम्बन्ध भएको अनुमान गर्न सकिन्छ । उनै ऋषिबाट यस मन्त्रको साक्षात्कार र उच्चारण भएको मानिएको छ । यस मन्त्रका देवता अश्व भनिएको छ । अश्वको प्रचलित अर्थ घोडा हो । मन्त्रमा अश्व आएको हुनाले यहाँ घोडालाई प्रार्थना गरेको पनि हुन सक्छ र अश्व नामका देवता पनि हुन सक्छन् ।

यस मन्त्रका ऋषि दधिक्रावा वामदेव्यले देवता अश्वलाई प्रार्थना गर्ने क्रममा यस मन्त्रको उच्चारण गरेका हुन् भन्ने देखिन्छ । यस मन्त्रमा छन्द र त्यसको पदका विषयमा चर्चा रहेको छ । वेदको एउटा नाम नै छन्द हो । त्यसैले वेदका सबै मन्त्रहरू कुनै न कुनै छन्दमा हुन्छन् र ती छन्दमा विभिन्न पद हुन्छन् । यस मन्त्रको छन्द निचृत् अनुष्टुप् हो । अनुष्टुप् छन्दमा ३२ अक्षर हुन्छन् । एक अक्षर कम हुँदा त्यो निचृत् हुन्छ, त्यसैले यस मन्त्रमा ३१ अक्षर छन् ।

विश्वको सबैभन्दा पुरानो वेद हो भन्ने मान्यताले अंकको नामकरण वेदले गरेको भन्न सकियो । संख्या नभई अंकगणित अघि बढ्न सक्दैन । जसले संख्याको नामकरण गरे अंकगणित उनैले अघि बढाएका हुन् । अंकगणित पनि वेदबाट नै विस्तार भयो भन्ने कुराको प्रमाण पनि यही मन्त्र हो ।

यस मन्त्रमा सबैभन्दा पहिले त दुई, चार, तीन र छ अंकको चर्चा छ । यहाँ उल्लेख नभए पनि यी मन्त्रभन्दा अघिपछि विभिन्न ठाउँमा अन्य अंकहरूको उल्लेख आउँछ । यस आधारमा संख्याको चर्चा वेदमा छ भन्न कुनै कठिनाइ भएन । अंकगणितको आविष्कार वर्तमान युगमा भएको हो भनेर अथवा आविष्कारक भनी आधुनिक विद्वान् कसैको नाम दिइएको छ भने त्यसलाई पुनर्विचार गर्ने ठाउँ यहाँ देखिएको छ । वेदभन्दा पुरानो ग्रन्थ पाइयो भने त्यसमा ंसंख्याको उल्लेख भएको छ कि छैन भनेर हेर्न सकियो । विश्वको सबैभन्दा पुरानो वेद हो भन्ने मान्यताले अंकको नामकरण वेदले गरेको भन्न सकियो । संख्या नभई अंकगणित अघि बढ्न सक्दैन । जसले संख्याको नामकरण गरे अंकगणित उनैले अघि बढाएका हुन् ।

अंकगणित पनि वेदबाट नै विस्तार भयो भन्ने कुराको प्रमाण पनि यही मन्त्र हो । यस मन्त्रमा दुईपछि चार र तीनपछि छ आएको छ । दुई दुना चार र तीन दुना छ भन्ने देखियो । कागतालीले मात्रै यसो लेखिएको भन्ने हो भने पनि यहाँ चित्त बुझाउन सकिन्छ तर यो मन्त्र यजुर्वेदबाट झिकिएको हो । केही अघि गएपछि गुणनका अरू पनि मन्त्र आउँछन् । अंकगणितबाट नै बीजगणित, रेखागणित आदि अन्य गणितको विकास भएको हुनुपर्छ । यसको आशय भनेको गणित जस्तो प्रत्येक ठाउँमा आवश्यक पर्ने विषयको विकास पनि वेदमा भयो भने वैदिक कालमा समाज कति उन्नत रहेछ भनेर बुझ्न सकिने आधार हो । वेद अथवा रुद्री त देउताको पूजाआजा गर्ने किताबमात्रै हो भन्ने हो भने पनि देवीदेवताको पूजा गर्नेहरू पनि गणितमा खप्पिस थिए भनेर बुझ्दा भयो ।

यसै मन्त्रको अर्को विषय पद भन्नेछ । मन्त्रहरू दुई पद भएका, चार पद भएका, तीन पद भएका र छ पद भएका छन् र तिनका सूचीहरूबाट वा क्रमबाट तिमीलाई शान्ति होस् भन्ने अर्थ देखिन्छ । पद शब्द अनेकार्थी हुनाले यहाँ शब्दलाई पद भनेको हो भने बोलिएका शब्दहरू शान्ति दिने होउन् भन्नु पनि समाजका लागि अर्थपूर्ण नै हुन्छ । शब्दकोशका अनुसार पद शब्दले श्लोकका चरण वा पाउलाई पनि बुझाउँछ । बोलिएका कथनहरू शान्ति दिने होऊन् भनेर पनि अर्थ लाग्यो ।

त्यसैगरी पद भन्ने शब्दले मानिसको ओहोदा वा स्तर भन्ने पनि बुझाउँछ । दुई, चार, तीन वा छवटा ओहोदा एकै मान्छेका हुने वा नहुने कुरा आफ्नै व्यवस्था हो । यदि हुन्छ भने जतिवटा पद पाएका भए पनि ती सबै पदले वा त्यस्ता बहुपदधारी व्यक्तिले तिमीलाई शान्ति दिउन् भन्नु पनि अनुपयुक्त होइन । पद शब्दको अर्को र सबैले जानेको अर्थ खुट्टटा हो । धर्तीमा प्राणी विविध प्रकारका हुन्छन् । दुई खुट्टा मानिस र पक्षीहरूका हुन्छन् भने गाईवस्तुका चार खुट्टा देखिएकै छ । विचित्र संसारमा तीन खुट्टे, छ खुट्टे र त्यसभन्दा धेरै खुट्टा भएका पनि हुन सक्छन् ।

माथि बताइएका सबै अर्थसँग मेल खाने गरी भगवान् वा ईश्वरीई अवतार, अंशका भने बहुपद र बहुविशेषण हुन सक्छन् । त्यसो हुँदा यो भनाइ भगवान् वा ईश्वरलाई नै भनिएको हुन सक्छ । यसमा पनि मानिसले ईश्वरका लागि शान्तिको कामना गर्नु पनि युक्तिसंगत देखिँदैन । त्यसैले मानिसले आफ्नो शान्तिका लागि त्यस्ता बहुपदधारी ईश्वरसँग शान्तिको कामना गरेको भन्न मिल्छ । अथवा बहुपदधारी, शक्तिसम्पन्न व्यक्तिबाट वा त्यस खालका बहुपदधारी विचित्र प्राणीबाट आफूलाई शान्ति प्राप्त गराइदेऊ भनी प्रार्थना गरेको हुनुपर्छ भन्नेमा मेल खान्छ । मानिसले आफूलाई निर्धो निरीह भएको ठानेर शक्तिशाली भगवान् रुद्रको पूजा गर्दै यस्तो मन्त्र पाठ गरिएको हुनाले यस खालको अर्थमा भरोसा गर्ने ठाउँ देखिन्छ ।

सूची शब्दको अर्थ सियो पनि हो र सूची भनेको क्रम पनि हो । विषयसूची, सूचीपत्र भनेका जस्ता ठाउँमा सूचीको अर्थ क्रम नै हो भन्ने लागेको हुन्छ । सियोले आवश्यक ठाउँमा त आफ्नो काम गर्छ र मानिसलाई सुबिस्ता पनि दिन्छ ।

मन्त्रमा छन्दविहीन वा छन्दसहितका ती सबै सूचीहरूले तिमीलाई शान्ति दिऊन् भनिएको छ । छन्द भनेको कविताको यति, गति, लयको व्यवस्था हो भने अन्य अवस्थामा पनि त्यसको अर्थ लाग्छ । कसैले ‘कस्तो छन्द न बन्दको घर बनायो’ भन्ने हो भने अव्यवस्थित, ढङ्ग नमिलेको हो भनेर बुझ्न पाइयो । यसमा छन्द शब्दको अर्थ विस्तार व्यवहारसम्म पुग्यो । ‘आज पानी पर्ने कुनै छन्द नै छैन’ भनेका बेलामा मिल्दो सन्दर्भ भन्ने अर्थ दियो । त्यसैले कविता आदि रचनामा छन्द भए पनि वा नभए पनि अथवा लोकव्यवहारमा तरिका मिलेको भए पनि नमिलाएको भए पनि, समय सन्दर्भ नमिलेको भए पनि वा मिलेको भए पनि जस्तोसुकै अवस्थामा हामी परेका हुन सक्छौं, त्यसमा शान्ति होस् भन्ने देखियो ।

शान्ति प्राप्तिका लागि सूचीहरूले भनिएको छ । सूची शब्दको अर्थ सियो पनि हो र सूची भनेको क्रम पनि हो । विषयसूची, सूचीपत्र भनेका जस्ता ठाउँमा सूचीको अर्थ क्रम नै हो भन्ने लागेको हुन्छ । सियोले आवश्यक ठाउँमा त आफ्नो काम गर्छ र मानिसलाई सुबिस्ता पनि दिन्छ । मन्त्रमा पद र छन्द भन्ने शब्दसँगै आएको हुनाले यहाँ सूचीको अर्थ क्रम नै राख्ता स्पष्ट हुन्छ । शब्द, वाक्य वा स्तर क्रमले शान्ति होस् भनिएको हुनुपर्छ । किनभने बोलीवचनले सुखी वा दुःखी गराउँछ । मन्त्रमा प्रार्थना गर्ने ऋषिको नाम दधिक्रावा वामदेव्य र उनले प्रार्थना गरेका देवताको नाम अश्व भन्ने चर्चामाथि भयो । दुवै नामहरू घोडाका वाचक हुन् ।

मानिसको नाम गजराज, अश्वपति जस्ता प्राणीवाचक नहुने होइन । त्यसैले ऋषिले देवतालाई गरेको यो प्रार्थना यसै संसारमा रहने अवस्थाका लागि हो । मानिसलाई दुःख पर्ने अवस्था अनेकौं हुन सक्छन् र तिनमा कठोर वचन, उच्चपदस्थ व्यक्ति, विभिन्न थरी जीव, कीटाणु आदि पनि हुन्छन् । यति कुरो हामीले देखेको र जानेकै हो । त्यसैले यस मन्त्रमा ईश्वरलाई गरिएको प्रार्थना चाहिँ आफ्ना मनसँग गरेको कुरो हो र ती दुःखहरूबाट मुक्त रहने अवस्थाको खोजी हो । शास्त्रले परलोकको मुक्ति खोज्छ भन्नु त ठीक हो तर यस लोकमा रहनेलाई सुखशान्ति दिने पक्षमै शास्त्रको पहिलो प्रयास हुन्छ । किनभने मानिस जिउँदो रहेपछि नै शास्त्र रहन्छ, पद रहन्छ, विधिविधान वा छन्द रहन्छ, अनि क्रमिक जीवनपद्धति रहन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
badri dahal
badri dahal
2023-08-04 9:24 am

सटीक , सारपूर्ण ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?