नेपाल-भारत सम्बन्धलाई अघि बढाउन ईपिजी प्रतिवेदन आवश्यक : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीचको सम्बन्धलाई ईपिजी प्रतिवेदनको आधारमा अघि बढाउन जायज हुने बताउनुभएको छ ।

भारत सरकारले सो प्रतिवेदन बुझ्न समेत आनकानी गरिरहेका बेला अध्यक्ष ओलीले दुई मुलुकबीचको सम्बन्धलाई तथ्यका आधारमा अघि बढाउन सो प्रतिवेदन अति आवश्यक हुने दाबी गर्नुभएको हो । दुवै मुलुकका सरकारले तोकेका विज्ञहरुको समूहले तयार पारेको सो प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यान्वयन गर्ने कुरालाई सहज ढंगले अघि बढाउनुपर्ने उहाँले बताउनु भयो । अध्यक्ष ओलीले दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन सो प्रतिवेदनले प्रेस्क्रिप्सनको काम गर्ने बताउनु भयो । आजको आवश्यक्ताको उचाईको आधारमा दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन पनि इपिजी प्रतिवेदनको विकल्प नरहेको बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘इपीजीको प्रतिवेदनले दिएको सुझावको आधारमा नेपाल भारतबीचको सम्बन्धलाई अगाडि बढाउन जायज हुन्छ । यसले नेपाल भारत सम्बन्धलाई तथ्यका आधारमा अगाडि बढन आधार तयार गर्छ । बुरुक्क उफ्रेर रुख चढन सकिदैन । सिँढी चाहिन्छ । यसले सिँढीको काम गर्छ । किनभने कुन कुन पाइला, कुनकुन इस्युमा कसरी जाने, कुन कुन पाईला टेक्दै अगाडि बढने भन्ने कुराहरुको प्रेस्क्रिप्सन त्यसले दिएको छ । त्यसर्थ, हामीले त्यसलाई छोडदिएर फेरी एउटा पुरानो इस्युमा मात्रै होइन कि त्यो इस्यू त्यसैभित्र छ । १९५० को सन्धीको प्रश्न, सुगौली सन्धीको प्रश्न, १९५० को सन्धीको अनेकौं प्रश्न छन । यहाँ त सुगौली सन्धी पो कार्यान्वयन नहुने भइसक्यो । सुगौली सन्धीले महाकाली नदीको उद्गमदेखि पूर्वी भाग नेपालको भन्छ । सुगौली सन्धी नै नहुने भयो । यसले सुगौली सन्धी देखिको कुरा उठाउँछ । गोर्खाजको सम्बन्धमा भएको त्रिपक्षीय समझदारी त्यसमा पनि नेपालको कुनै हात छैन । खाली तिमीहरुको सही गरे भनेर पठाईदिएको भरमा सही गरिएको हो । यी सबै कुराहरुमा पुनर्विचार गर्नुपर्ने, त्यसलाई आजको समय अनुकूल बनाउनुपर्ने, सबै हिजोको ट्रिटीहरुलाई अध्यावधिक गर्नुपर्ने र आजको आवश्यक्ताको उचाईमा उठाउनु नै पर्छ ।’

ओलीले सुगौली सन्धीलगायत भारतसँग विगतमा भएका असमान सन्धि सम्झौताहरु अध्यावधिक गर्दै अघि बढनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?