माओवादी केन्द्रीय कमिटी बैठक : पार्टी नेताहरूको सम्पत्ति छानविन गर्न जनार्दन शर्माको प्रस्ताव

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरूको सम्पत्ति छानविन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा चौथो दिन शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा उपमहासचिव शर्माले पार्टी नेताहरूको सम्पत्ति छानविन गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको बताउनुभएको हो । आफूले संंसद्को रोष्ट्रमबाट २०४७ सालयताका सबै नेताहरूको सम्पत्ति छानविन गरौँ भनेर प्रस्ताव राखेको स्मरण गराउँदै शर्माले कतिपय नेताले ३२ सिटे भनेर माओवादीलाई खिसिट्युरी गर्दा प्रचण्डको साथ र माओवादीको समर्थनबिना बालुवाटार प्रवेश सम्भव नभएको भनेर प्रतिवाद गरेको बताउनुभयो । पार्टीभित्र पनि सम्पत्ति छानविन गर्नुपर्छ भन्ने कुरामा आफ्नो दृढ सहमति रहेको बताउँदै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपमहासचिव शर्माले भन्नुभयो, ‘छानविन गरौँ कसको सम्पत्ति कति छ ? कसका घर कति छन् ? कसका के के व्यवसाय छन् ? कसका बैंक ब्यालेन्स कति छ ? म तयार छु । कुनै गल्ती नगर्दा नगर्दै पनि प्रश्न उठेपछि छानविनको लागि मार्गप्रशस्त गर्ने मै हुँ । तर, मन्त्रीको हैसियतले सामान्य तोक लगाएको, त्यो पनि राज्यको निकाय सम्पत्ति शुद्धीकरण विभागले छानविन गरेर सम्पत्ति फकुवा गरेको पत्र देखाएपछि यसबारे के भएको हो ? सत्यतथ्य बुझ्नु र आवश्यक सहजीकरण गर्नू भनी तोक लगाएको विषयलाई अपराध गरेको भनेर दुष्प्रचार गरिन्छ, चरित्र हत्या गर्न खोजिन्छ ।’

प्रचण्डलाई असहयोग नगरेको जिकिर
उपमहासचिव जनार्दन शर्माले आफूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहयोग नगरेको प्रष्टीकरण दिनुभएको छ । अध्यक्ष प्रचण्डलाई आफूले हरेक समय सहयोग गरेको तर गलत प्रचार गरेको गुनासो गर्दै उपमहासचिव शर्माले भन्नुभयो, ‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनीतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु । स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैँले बाहिर बोल् र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भए पनि त्यसको पालना गरेकै छु । परिस्थिति अदलबदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर, त्यसैलाई असहयोग ग¥यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ । अध्यक्ष कमरेडले भन्नुप¥यो, कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनुभएन ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनैपर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला ।’

देव गुरुङलाई महासचिव बनाएकोप्रति असन्तुष्टि
उपमहासचिव जनार्दन शर्माले देव गुरुङलाई महासचिव बनाइएकोमा आपत्ति जनाउनुभएको छ । चार दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकमा शर्माले आफू र वर्षमान पुनमध्ये एकजनालाई महासचिव बनाउन आग्रह गरे पनि अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव बनाइएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । शर्माले आफू पनि अध्यक्ष प्रचण्डकै मान्छे भएको र सहयोग गरे पनि अध्यक्षले विश्वास नगरेको गुनासो गर्दै भन्नुभयो, ‘समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौँ । मान्छे हुनुको नाताले सबैको आ-आफ्नै अस्तित्व हुनु स्वाभाविकै छ । अध्यक्ष कमरेडले बेलाबेला त्यसमै धार लाइदिनुहुन्छ । तलबाट पनि म फलानाको हुँ र होइन भन्ने चलन छ । अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गर्ने गरिएको छ । हामी तपाईंकै हौँ, दुई जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन् प्रचारबाजी गरिन्छ । अनि गरौँ के ?’

भ्रष्टाचारविरोधी अभियान रोकिनु हुँदैन : पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानविन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । शनिबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै छानविन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको जिकिर गर्दै उपमहासचिव पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने उल्लेख गर्दै भन्नुभयो, ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ । कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । छानविन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।’ पुनको प्रष्टीकरण सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्बिरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित थियो । बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सिआइबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए । त्यसबारे जवाफ दिँदै पुनले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताउनुभएको हो । यसअघि पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेतासमेत कारबाहीमा पर्ने चेतावनी दिनुभएको थियो ।

प्रचण्डको विकल्प नखोजेको स्पष्टोक्ति
उपमहासचिव वर्षमान पुनले पार्टीमा कसैले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नखोजेको स्पष्टीकरण दिनुभएको छ । तर, उत्तराधिकारी तयार पार्न विधि भने विकास गर्नुपर्नेमा जोड दिनुभएका पुनले प्रचण्डलाई सहयोग गर्न आफू तयार दाबी रहेको गर्दै भन्नुभयो, ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु । तर, उत्तराधिकारी तयार पार्ने विधिको विकास गरेर जाऔँ । पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्छ ।’

यो पार्टी नेतृत्वको आलोचना गर्ने समय होइन : जम्मकट्टेल
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य शालिकराम जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको बताउनुभएको छ । जारी केन्द्रीय कमिटी बैठकको चौथो दिन शनिबारको बैठकमा आफ्नो धारणा राख्दै जम्कट्टेलले भन्नुभयो अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको, नेतृत्व र पार्टी बलियो बनाउने बेला भएको बताउनुभएको हो । शान्ति प्रक्रियाको काम छिटोभन्दा छिटो टुंगो लगाउनुपर्नेमा जोड दिनुभएका जम्मकट्टेलले आफ्नो पार्टीको मात्र नभई प्रतिस्पर्धी पार्टीहरूको विषयमा पनि समीक्षा हुनुपर्ने धारणा राख्नुभयो । आगामी निर्वाचनमा एक्लै चुनाव जित्न सक्ने गरी कार्यक्षेत्रमा जानुपर्ने बताउनुभएका जम्मकट्टेलले प्रचण्ड पथ छोड्नु गलत थियो भन्ने अहिले पनि पुष्टि भएको दाबीसमेत गर्नुभयो ।

पुरानो प्रचण्ड हेर्न मन छ : सरल सहयात्री
नेकपा माओवादी केन्द्रका नेता सरल सहयात्री पौडेलले पार्टी बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ ? भनेर प्रश्न उठाउनुभएको छ । काठमाडौंमा जारी चौथो केन्द्रीय कमिटीको चौथो दिनको बैठकमा नेताहरू जिल्ला नगएको भन्ने केन्द्रीय सदस्यहरूप्रति लक्षित गर्दै पौडेलले यस्तो प्रश्न उठाउनुभएको हो । अहिले माओवादी सफल कि अवशानको चुनौतीपूर्ण मोडमा रहेको जिकिर गर्दै बागमती प्रदेश अध्यक्षसमेत रहनुभएका पौडेलले भन्नुभयो, ‘आशा र सपना मरेपछि जागरण पनि मर्दो रहेछ । अहिले हामी सफल र अवशानको चुनौतीपूर्ण मोडमा छौँ । हामीलाई पुरानो प्रचण्ड जागेको हेर्न मन छ, प्रचण्डपथ जागेको हेर्न मन छ । बालुवाटार गएर चाकडी गर्नेले बाहिर के गर्छ ? बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ ? त्यो पनि हेरिनुपर्छ ।’

बैठक लम्बिने, नयाँ ठाउँको खोजी
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठक निर्धारित समयभन्दा लम्बिने भएको हो । बुधबारदेखि सुरु भएको बैठक आइतबार सक्ने निर्धारित कार्यक्रम थियो । चौथो पूर्ण बैठकको चौथो दिनसम्म अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् । नेताहरूले बोल्ने क्रम अझै नसकिएकाले बैठक लम्बिने निश्चित भएको माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार बाँकी बैठक सञ्चालन गर्न अन्यत्र ठाउँको खोजी भइरहेको छ । बैठकका लागि प्रज्ञा भवन आइतबारसम्म मात्रै बुक गरिएकाले बाँकी बैठक सञ्चालनका लागि अन्यत्र ठाउँको खोजी भइरहेको उहाँको भनाइ छ । बैठकमा ३८७ पूर्ण र १९६ वैकल्पिक केन्द्रीय सदस्यका साथै अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता छ । अझै २०० जना केन्द्रीय सदस्यले बैठकमा बोल्न नाम टिपाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?